२०८१ पौष १२, शुक्रवार , ०२:५९:२२ बजे

Sajhamanch
'

मेची बहुउद्देश्यीय सहकारी संस्थाद्वारा रचनात्मक कार्यक्रमको प्रस्ताव, आइतबारदेखि १५ दिवसीय साधारणसभा सुरु

सोमवार, साउन २९, २०८०

दमक । मेची बहुउद्देश्यीय सहकारी संस्था लि. (एमएमसी)ले चालू आर्थिक वर्षमा सम्भव भएसम्म बाह्य कर्जा नलिने नीति लिएको छ । ७ प्रतिशत कबुल गरेर बैंकहरुबाट लिएको कर्जाको ब्याज १४ प्रतिशतसम्म तिर्नु परेपछि संस्थाले रचनात्मक कार्यक्रम अघि सारेर सदस्यहरुबाट नै रकमको जोहो गर्ने योजना अघि सारेको हो ।

आइतबारबाट सुरु भएको एमएमसीको २७औं वार्षिकोत्सव तथा २९औं वार्षिक साधारणसभामा सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले संस्थाले यो वर्ष सकेसम्म बाह्य कर्जा नलिने नीति लिएको जानकारी गराउँदै हल समक्ष स्वीकृति मागेका हुन् ।

दमक सेवा कार्यालय अन्तरगतका सेयर सदस्यहरुका लागि आइतबार दमकमा आयोजना गरिएको पहिलो इकाई साधारणसभामा अध्यक्ष भट्टराईले भने संस्थाले यो वर्ष सहकारी आवास २ को सम्भाव्यता अध्ययन गर्नेछ । उर्लाबारीमा रहेको संस्थाको १ कठ्ठा १४ धुर जमिनमा संस्थाले व्यवसायिक भवन निर्माणको योजना पनि अघि सारेको अध्यक्ष भट्टराईले जानकारी दिए ।

एमएमसीले यो वर्षदेखि ‘रुपैयाँ एक, सेवा अनेक’ शीर्षकमा अभियान सञ्चालन गर्ने योजना प्रस्तुत गरेको छ । संस्थाले सामाजिक गतिविधि सञ्चालन गर्न आवश्यक बजेटको जोहो गर्न यस्तो अभियान चलाउने योजना बनाएको जनाइएको छ ।

सदस्यहरुबाट प्रत्येक दिनको एक रुपैयाँका दरले संकलन गर्ने र संस्थाको तर्फबाट पनि एक रुपैयाँ नै थप गरी कोषको निर्माण गर्ने, तीन वर्षसम्म सदस्यहरुबाट रकम जम्मा गरी पाँचौं वर्षदेखि कार्यान्वयनमा ल्याउने संस्थाको योजना हलमा सुनाइएको हो ।

यसैगरी, मेची बहुउद्देश्यीय सहकारी संस्थाले विद्युतीय गाडीको चार्जिङ स्टेशन राख्ने, खानेपानी उद्योग सञ्चालन गर्ने र सहकारी अस्पताल वा क्लिनिक सञ्चालन गर्ने महत्वाकांक्षी कार्याक्रम अघि सार्दै सम्भाव्यता अध्ययनका लागि बजेट पनि प्रस्तुत गरेको छ ।

संस्थाको नीति तथा कार्यक्रमहरु सुनाउँदै अध्यक्ष भट्टराईले सदस्यहरुको लामो अवधिको बचतलाई प्राथमिकता दिइने, यस वर्षलाई पनि अघिल्लो बर्षझैं बचत बृद्धिको वर्षका रुपमा सञ्चालन गरिने, सामुदायिक विद्यालय, टोल विकास संस्था र अन्य गैह्र नाफामुलक संस्थाहरुलाई सदस्यता दिई बचतमा सहभागी गराउने कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष भट्टराईले यस वर्षदेखि मेघा बचत योजना र मेची पेन्सन बचत योजना अघि सारिएको सदस्यहरुलाई जानकारी गराए ।

साधारणसभा कार्यक्रम सञ्चालन गर्नुअघि संस्थाको प्रधान कार्यालयमा पत्रकार सम्मेलन गरेर वार्षिक प्रतिवेदन सार्वजनिक गरिएको थियो । संस्थाले पत्रकार सम्मेलन मार्फत संस्थाको गत आर्थिक वर्षको वार्षिक लक्ष्यको तुलना र चालू वर्षका लागि कार्ययोजनाहरु सार्वजनिक गरेको हो ।

सो पत्रकार सम्मेलनमा संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिईओ) खोमप्रसाद बगालेले संस्थाको वित्तीय आँकडा प्रस्तुत गर्दै यो वर्ष संस्थाले १० करोड ७४ लाख ६० हजार रुपैयाँ नाफा कमाउन सफल भएको र आगामी वर्ष १६ करोड कमाउने लक्ष्य राखेको जानकारी दिए । चालू वर्ष संस्थामा २ हजार ७५० जना नयाँ सेयर सदस्य थप गर्ने लक्ष्य राखिएको सिईओ बगालेले जानकारी बताए ।

गत आर्थिक वर्षको अन्त्यमा एमएमसीमा १५ हजार २५८ जना सेयर सदस्यबाट ३७ करोड ४९ लाख ८३ हजार ८०० रुपैयाँ सेयर रकम संकलन भएको सिईओ बगालेले बताए । उनका अनुसार संस्थामा अघिल्लो वर्ष असार मसान्तमा ३५ करोड ५५ लाख ७८ हजार ८०० रुपैयाँ रहेको शेयर पुँजी गत आवको अन्त्यमा १ करोड ९४ लाख ५ हजार रुपैयाँ थप भएको थियो ।

संस्थाको अघिल्लो आर्थिक वर्षमा २ अर्ब ८९ करोड ६८ लाख रुपैयाँ कर्जा लगानी रहेकोमा १९ करोड १ लाख २६ हजार रुपैयाँ थप भई हाल ३ अर्ब ८ करोड ६९ लाख ६८ हजार रुपैयाँ कर्जा लगानीमा रहेको र ९९ प्रतिशत असल कर्जा रहेको सिईओ बगालेको दाबी छ । उनका अनुसार १ दशमलव ५ प्रतिशतभन्दा कम लगानीमात्र खराबको सूचिमा छ, आमरुपमा संस्थाको वित्तीय कारोबार सुरक्षित रहेको छ ।

४३ करोड ९५ लाख रुपैयाँ ब्याज आम्दानी गर्न सफल भएको सो संस्थाले गत आर्थिक वर्ष २०७९/०८० मा विभिन्न शीर्षकमा सरकारलाई २ करोड २३ लाख रुपैयाँभन्दा बढी कर राजश्व तिरेको पनि कार्यकारी प्रमुख बगालेले गौरवताका साथ प्रस्तुत गरे ।

यसैबीच, मेची बहुउद्देश्यीय सहकारी संस्थाले हरेक वर्ष प्रदान गर्दै आएको विभिन्न पुरस्कार र सम्मानहरु प्राप्त गर्ने व्यक्तिहरु पनि घोषणा गरिएको छ । संस्थाका पूर्व अध्यक्ष, सहकारी अभियन्ता स्वर्गीय गणेश बस्नेतको स्मृतिमा स्थापित गणेशप्रसाद बस्नेत उत्कृष्ट सहकारी अभियन्ता पुरस्कारबाट यसवर्ष राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ पुरस्कृत हुने भएकी छन् ।

यस्तै, गणेशप्रसाद बस्नेत पत्रकारिता पुस्कारबाट मोरङका पत्रकार चिना थापा र मेची सहकारी पत्रकारिता पुरस्कारबाट झापा गौरादहका पत्रकार राजु पोखरेललाई प्रदान गर्ने निर्णय भएको छ । उक्त पुरस्कार संस्थाको २९औं साधारणसभाको माइन्युट प्रमाणित सभामा आगामी भदौ १२ गते प्रदान गरिने जनाइएको छ ।

संस्थाले साउन २८ गतेदेखि भदौ ३ गतेसम्म ७ वटा क्षेत्रमा इकाइगत साधारणसभा सम्पन्न गरेर भदौ १२ गते माइन्युट प्रमाणिकरण साधारणसभा गर्ने कार्यतालिका बनाएको छ ।

सम्बन्धित खबर