काठमाडौं । २९औं विश्व आदिवासी दिवस बुधबार विश्वभर विविध कार्यक्रम गरी मनाइएको छ । नेपाल आदिवासी जनजाति महासंघको आयोजनामा नेपालमा पनि विशेष कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइएको छ ।
महासंघले यस वर्ष ‘पहिचान र अधिकार सुनिश्चितताको लागि आदिवासी जनजाति आन्दोलनमा सहभागी बनौं, परम्परागत ज्ञान सिपको प्रवर्द्धन गर्दै पुर्ख्यौली भूमि, भाषा र संस्कृतिको संरक्षण गरौं’ भन्ने राष्ट्रिय मूल नारा तय गरेर दिवस मनाएको हो ।
संयुक्त राष्ट्र संघले यस वर्ष २९औं विश्व आदिवासी दिवसको सन्दर्भमा ‘आत्मनिर्णयका लागि परिवर्तनका संवाहक आदिवासी युवा’ भन्ने अन्तर्राष्ट्रिय मूल नारा तय गरेको थियो ।
महासंघले बुधबार बिहान नेपालमा बसोबास गर्ने विभिन्न आदिवासी जनजाति सम्वद्ध संघसंस्थाहरूको भेषभूषा, संस्कृति झल्किने झाँकीसहितको र्याली समेत प्रदर्शन गरेको थियो । यस वर्ष महासंघले प्रदेश १ लाई कोशी प्रदेश नामांकरणविरुद्धको आन्दोलनसँग जोडेर विश्व आदिवासी दिवसलाई मनाएको थियो ।
भृकुटीमण्डपबाट सुरु भएको र्याली कमलादीस्थित प्रज्ञाभवनमा पुगेर मूल समारोहमा परिणत भएको थियो ।
महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रमुख अतिथिका रुपमा उपस्थित थिए ।
त्यस अवसरमा कोशी प्रदेश नामांकरण विरुद्धको आन्दोलनमा शहिद भएका पदमबहादुर लिम्बू लाजेहाङलाई मरणोमरान्त सम्मान गरिएको थियो ।
प्रधानमन्त्री प्रचण्डले शहिद लाजेहाङका बुवा छत्रबहादुर लिम्बूलाई सम्मान गरेका हुन् । उनलाई महासंघले नगद २५ हजार रुपैयाँसहित सम्मान गरेको हो ।
प्रदेश नम्बर १ प्रदेशसभाले कोशी नामांकरण गरेपछि पहिचान पक्षधरहरूले किरात प्रदेश नामांकरण गर्नुपर्ने आन्दोलन चर्काएको अवस्थामा गत चैत ५ गते प्रहरी प्रशासनले अश्रुग्याँस प्रहार गर्दा शहिद लाजेहाङ घाइते भएका थिए ।
उनको चैत १० गते उपचारका क्रममा बिपी अस्पताल धरानमा मृत्यु भएको थियो । उनलाई अहिले संघीय सरकारले शहिद घोषणा समेत गरिहसकेको छ ।
त्यसैगरी सोही आन्दोलनमा घाइते भएका भएका गजेन्द्र फागोलाई बुधबार नगद २५ हजार रुपैयाँ सहयोग प्रदान गरिएको थियो ।
कार्यक्रममा महासंघका संस्थापक महासचिव ९प्रमुख० सुरेश आलेमगरलाई नेपालमा आदिवासी जनजाति आन्दोलन उठाउन महत्वपूर्ण योगदान गरेको भन्दै सम्मानित गरिएको महासंघका महासचिव दिवस राईले जानकारी दिए ।
कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले प्रदेश नम्बर १ को समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।
भगवती पाण्डेले आदिवासी जनजातिको अपमान हुनेगरी दिएको अभिव्यक्तिपछि भएको आन्दोलनका क्रममा प्रशासनले महिलाहरूमाथि ज्यादती गरेको भन्दै उनले उक्त घटनाका दोषीलाई कारबाही गर्न समेत माग गरे । उनले पाण्डेलाई समेत तत्काल कारबाही गर्न माग गरे ।
कार्यक्रमका वक्ताहरुले आदिवासी जनजातिको संस्कार, संस्कृतिमाथि कसैले धावा बोल्न खोजे वा अपमान गर्न खोजे अब सहेर नबस्ने समेत बताए ।
त्यस अवसरमा माझी समुदायको हुती नाच, कुमाल समुदायको पाङ्दुरे, छन्त्याल समुदायको सोरठी, ह्योल्मो र शेर्पा समुदायको स्याब्रु, गुरुङ समुदायको कौह्रा, मगर समुदायको पैस्यारु, राई समुदायको साकेला, तामाङ समुदायको डम्फूसेलो लगायतका नृत्य प्रस्तुत गरिएको थियो ।
विश्वका आदिवासीहरूले हरेक वर्षको ९ अगस्टलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसको रुपमा मनाउने गर्दछन् । संयुक्त राष्ट्र संघले अगस्ट ९ तारिखलाई विश्व आदिवासी दिवसका रुपमा मनाउने घोषणा गरेपछि सन् १९९४ देखि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो ।
यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले नेपालको समृद्धि र विकासको मोडालिटी परिवर्तन गर्न आवश्यक रहेकोे जिकिर गरेका छन् । झापाको कमल गाउँपालिका ५ स्थित आदिवासी रङ्गशालामा बुधबार आयोजित २९औं विश्व आदिवासी दिवसमा मन्तव्य राख्दै मन्त्री किरातीले यस्तो बताएका हुन् ।
नेपालको माटोमा पलाएको, फूलेको र फक्रिएको राजनीति विचारधारामात्र अब समृद्ध नेपाल निर्माणका साधक बन्न सक्छ, तत्कालका लागि यो मेरो व्यक्तिगत कुरा भए पनि सबैले यसलाई बहसको विषय बनाउन आवश्यक रहेको उनको भनाई छ ।
नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद झापाका अध्यक्ष पाण्डवलाल चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा समाजशास्त्री डाक्टर कृष्ण भट्टचन, अधिवक्ता शंकर लिम्बू, सामाजिक अभियन्ता डकेन्द्र सिं थेगिम लगायतले आदिवासी जनजाति आन्दोलनका विषयमा आफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा आदिवासी रङ्गशालाका कार्यवाहक अध्यक्ष दिपेन वाला राईले रङ्गशाला निर्माणमा सरकारको ध्यानाकर्षण गर्दै मन्त्री किरातीलाई ज्ञापनपत्र बुझाएका थिए ।