२०८१ माघ १५, मङ्गलवार , ०७:४७:२० बजे

Sajhamanch
'

एमाले झापाले सबै तहका अधिवेशनहरु २०८० चैत मसान्तमा गरिसक्ने कार्ययोजना पारित, करिब २० हजार संगठित सदस्यहरुले गरे नविकरण

बुधवार, साउन २४, २०८०

झापा । नेकपा एमाले झापाको विस्तारित बैठकले आगामी चैत्र मसान्तसम्ममा जिल्लादेखि टोलसम्मको अधिवेशनहरु सम्पन्न गर्ने कार्ययोजना निर्माण गरेको छ ।

बिर्तामोडमा दुई दिनसम्म चलेको विस्तारित बैठकले जिल्ला कमिटी, स्थानीय तह कमिटी, वडा कमिटी र टोल कमिटीका अधिवेशनहरु २०८० चैत्र मसान्तसम्म गरिसक्ने गरी योजना निर्माण गरेको एमाले झापाले मंगलबार साँझ जारी गरेको प्रेस नोटमा जनाइएको छ ।

सो बैठकमा एमाले झापाले आफ्ना जनप्रतिनिधिहरुले गरेको कामको मूल्याङ्कन, सदस्यता नविकरण, कमिटीहरुको अवस्था, पार्टीको कार्ययोजनाहरु बारे छलफल गर्दै सुझावहरु संकलन पनि गरेको थियो ।

पार्टी स्थायी कमिटी सदस्य हिक्मत कार्की, एमाले पोलिटब्यूरो सदस्य तथा झापा इन्चार्ज विशाल भट्टराई, पार्टीका केन्द्रीय कमिटीका सदस्यहरु, प्रदेश कमिटीबाट क्षेत्रको जिम्मेवारी तोकिएका इन्चार्जहरु, पाँचवटै निर्वाचन क्षेत्रका संयोजकहरु र १५ वटै पालिकाका इन्चार्जहरुको उपस्थिति रहेको उक्त बैठकले पार्टीको आगामी कार्ययोजना माथि छलफल गरेको हो ।

बैठक पछि साँझ प्रेस नोट जारी गर्दै एमालेका जिल्ला अध्यक्ष दिपक कार्कीले १९ हजार ५६७ सदस्यहरुले सदस्यता नविकरण गरेको जनाएका छन् । उनका अनुसार १५ वटा पालिकाका सबै वडाहरुका सबै टोलमा सक्रिय कमिटी रहेका छन् ।

बैठकमा नेताहरुले एमाले झापालाई थप चुस्त र प्रभावकारी बनाउन केन्द्रीय र कोशी प्रदेश कमिटीका नेताहरुले सुझावसमेत राखेका थिए । बैठकमा झापाको राजनीतिक अवस्था, जनताका समस्याहरु, जनप्रतिनिधिहरुको काम, पार्टीको राजनीतिक, वैचारिक, सांगठनिक अवस्थाको विषयमा नेताहरुले धारणा एवम् सुझावहरु राखेका थिए ।

बैठकमा पार्टी स्थायी कमिटी हिक्मत कार्की, पोलिटब्यूरो सदस्य तथा झापा इन्चार्ज विशाल भट्टराईले समसामयिक राजनीतिक परिस्थिति, पार्टी केन्द्रीय कमिटीका फैसलाहरु र तत्काल गरिनु पर्ने पार्टीका कार्यभारहरुका विषयमा निर्देशनात्मक भनाईहरु राखेको प्रेसनोटमा उल्लेख छ ।

सम्बन्धित खबर