झापा । भुटान पिपुल्स पार्टीका अध्यक्ष बलराम पौडेलले नेपाल निर्वासनमा रहेका भुटानी शरणार्थीलाई राष्ट्रिय मेलमिलापको नीतिमार्फत स्वदेश फर्काउन लामो समयपछि पुनः अपिल गरेको छन् ।
झापाको बिर्तामोडमा आज पत्रकार सम्मेलन गरी उनले शरणार्थीको स्वदेश फिर्तीको पक्षमा फेरि आवाज उठाएका हुन् । गत जुलाई ३० मा भुटानी राजालाई सम्बोधन गरी भुटान पिपुल्स पार्टीको अध्यक्षको तर्फबाट लेखेको पत्रसमेत सार्वजनिक गर्दै पौडेलले शरणार्थीको स्वदेश फिर्तीका लागि राष्ट्रिय मेलमिलापको नीति अबलम्बन गर्न भुटानी राजालाई अपिल गरिएको सुनाए ।
‘भुटानमा शान्ति, मानवअधिकार र राजनीतिक स्थायित्वका लागि पनि राष्ट्रिय मेलमिलाप नीतिको खाँचो छ’ पत्रकार सम्मेलनमा अध्यक्ष पौडेलले भने, ‘निर्वासनमा रहेका नागरिकलाई स्वदेश फर्काउन भुटानले ढिलाई गर्नुहुन्न ।’
राजालाई पठाएको पत्रमा अध्यक्ष पौडेलले विभिन्न बहानामा भुटानका कारागारमा आफ्ना पार्टीका नेता तथा कार्यकर्ता लगायत करिब २०० जना रहेकाले उनीहरूको शीघ्र रिहाइको माग पनि गरेका छन्।
उनले उत्तरतिरबाट चीनले भुटानको सीमाना मिचेको कुरा जानकारी गराउँदै त्यसबारे गम्भीर हुनसमेत भुटानी राजालाई आग्रह समेत गरेका छन्।
भुटानी जनता अझै पनि निरंकुशताको पकडमा रहेका कारण सही प्रजातन्त्रको अभ्यास भुटानमा अझै नभएको उनको भनाइ छ।
यसैबीच, भुटानबाट खेदिएर नेपालमा निर्वासित जीवन बिताइरहेका आफूहरूलाई सक्कली शरणार्थीको उपनाम दिएकोमा पौडेलले आपत्ति जनाएका छन्। उनले शरणार्थीहरु कहिले पनि सक्कली नहुने बरु वास्तविक भनिनुपर्ने बताए। विभिन्न यातना तथा पीडा भोगेर अर्काको देशमा शरण लिएको एउटा देशको नागरिक कहिले पनि सक्कली शरणार्थीबाट सम्बोधित हुन चाहँदैन ।
विगत केही समयदेखि नेपालमा कृत्तिम शरणार्थी बन्ने लहरले प्रश्रय पाउँदा वास्तविक शरणार्थीको मुद्दालाई ओझेलमा पारिएको पौडेलको भनाइ छ।
कृत्तिम शरणार्थी बन्न चाहने र आर्थिक लेनदेनको बलमा गलत प्रक्रिया अपनाउन सघाउने संगठित समूहको भीडमा वास्तविक शरणार्थीको पीडालाई ओझेलमा पार्न खोजिनु निन्दनीय भएको उनले बताए।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहमा भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजाल पनि परेकोमा गल्ती गरेको खण्डमा रिजालले पनि सजाय पाउनुपर्ने पौडेलले बताए।
(थप सामग्री संलग्न भिडियोमा)
https://fb.watch/mfrcKb-Ik7/