![](https://sajhamanch.com/wp-content/uploads/2023/08/1691241762_jumla-pahiro-1200x560-1.jpg)
जुम्ला । भारतको केदारनाथमा बिहीबार राति गएको पहिरोमा परी एकै घरका ७ जना सहित एकै गाउँका ९ जना बेपत्ता भएपछि जुम्लाको पातारासी गाउँ पाउपालिका ३ चौरगाउँ यति बेला शोकमा डुबेको छ। गाउँका हरेक घर आँगनमा बसेर स्थानीय घटनाको दुः खना पोखिरहेका छन्। गाउँमा बच्चा देखि वृद्ध सम्मका आँखा ओभानो देखिँदैनन्।त्यो चौर गाउँमा कामका लागि भारत गएकाहरू कहिल्यै पनि बाढी पहिरोमा परेका थिएनन्।
यस पटक पहिलो घटना हो,स्थानीय पदमबहादुर रावतले भने,धन कमाउला भनेर भारत गएकाहरू पहिरोमा पुरिएर बेपत्ता भएपछि गाउँ अहिले शोकमग्न भएको छ।केदारनाथमा गएको पहिरोमा चौर गाउँका २८ वर्षीय अमर बोहोरा, उनकी पत्नी २६ वर्षीया अनिता, १४ वर्षीया छोरी सलिता, ८ वर्षीया छोरी पिंकी, ७ वर्षीय छोरा पृथ्वी, ६ वर्षीय छोरा जटिल र ३ वर्षीय छोरा वकिल बेपत्ता भएका छन् । उनीहरूसँगै चौरगाउँकै सुखीराम रावत र बमबहादुर बोहोरा बेपत्ता भएका हुन् ।एकै पटक यति धेरै बैपत्ता भएपछि गाउँमा रुवाबासी नै चलेको छ ।
पहिरोले बेपत्ता भएकाहरू अझै भेटिएका छैनन् । उनीहरु भेटिन्छन् भन्ने ग्यारेन्टी पनि छैन्। यस्तै पातारासी९२ पेरे गाउँमा पनि रुवाबासी चलेको छ । पहिरोमा २२ वर्षीय चन्द्र नेपाली र धनराज बुढा बेपत्ता छन् ।भारतमा गएर धन कमाउला, घर बनाउला, सुखसँग बसौँला भन्ने सपना बोकेर उनीहरु भारतमा रोजगारीका सिलसिलामा गएका थिए, तर नफर्कने गरी पहिरोमा पुरिएपछि गाउँ शोकाकुल बनेको ६० वर्षीया बुद्धिलाल सार्कीले बताए ।
धन कमाउने भनी भारत गए,तर कहिले नफर्किने गरी अस्ताए।पहिरोमा पुरिएकामध्ये अमर होटल चलाएर बसेका थिए । अन्य युवाहरू केदारनाथमा मान्छे बोक्ने,पल्लीदारी गर्नेदेखि स्याउ बोक्ने र बगैँचाको हेरचाह गर्ने सम्मको काम गरिरहेका थिए । राज्यले रोजगार दिँदैन । घरमा आयस्रोत हुँदैन। भारत जानुको विकल्प छैन । २ सय १९ घरधुरी रहेको चौरगाउँबाट मात्रै ७० भन्दा बढी परिवार काम खोज्दै भारतका विभिन्न क्षेत्रमा पुगेका छन् । फाटफुट त सबै घरका युवाहरू भारतमै छन्।अहिले सङ्घीयताले तीन तहको सरकारको परिकल्पना गरेको छ।तर बेरोजगारी अन्त्यका गफबाहेक केही गर्न सकिरहेको छैन।