२०८१ पौष १९, शुक्रवार , ०१:४३:३७ बजे

Sajhamanch
'

बन्दी नसार्ने निर्णयपछि झापा कारागारको तनाव साम्य

शुक्रवार, साउन १९, २०८०

भद्रपुर । कैदी सार्ने विषयमा दिनभर तनावग्रस्त बनेको चन्द्रगढीस्थित झापा कारागारको विवाद साम्य भएको छ ।

झापा कारागारमा कैद भुक्तान गरिरहेका कैदी मनोज लावतीलाई कारागार विभागले सुनसरीको झुम्का कारागार सरुवा गर्ने निर्णय गरेको थियो । सो को विरोधमा कारागारका कैदीवन्दीहरू आन्दोलनमा उत्रिँदा दिनभर तनावग्रत भएको हो । अपरान्ह झापा प्रशासनले तत्काल लावतीलाई कारागार नसार्ने निर्णय गरेसँगै आन्दोलन मत्थर भएको जनाइएको छ ।

लावतीलाई कारागारबाट बाहिर ल्याउन प्रहरी टोली पुगेसँगै भित्र रहेका कैदीबन्दीले आगो बालेर ढुंगा प्रहार गर्न थालेपछि नियन्त्रमा लिन प्रहरीलाई निकै हम्मेहम्मे परेको थियो । ढुंगा हान्ने र आगजनी गर्ने काम बढेपछि नेपाल प्रहरी, शसस्त्र प्रहरी बलको बाक्लो उपस्थितिसँगै चारवटा दमकल पनि तैनाथ राखिएको थियो ।

कैदीबन्दीहरुले कारागारभित्र प्रशासन विरूद्ध चर्को नारावाजी गरेका थिए । कारागार भित्रबाट बाक्लो धुँवाको मुस्लो उडिरहेको देखिन्थ्यो । बेलाबेला गोली पड्केजस्तो आवाज पनि सुनिँदा आसपासका बासिन्दा त्रसित भएका थिए । भद्रपुर, मेचीनगर र बिर्तामोडको दमकलले आगो निभाएका थिए । सशस्त्र प्रहरी र नेपाल प्रहरीको ठूलो संख्या कारागार बाहिर तैनाथ गरिएको थियो ।

घटना बारे जानकारी दिँदै झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले भने, ‘कैदी लावतीलाई तत्काललाई सरुवा नगर्ने सहमति गरिए पछि कैदीबन्दीको आन्दोलन मत्थर भएको छ ।’ उनका अनुसार कारागार विभागको निर्देशन बमोजिम लावतीको बारेमा थप निर्णय हुनेसमेत सहमति गरिएको छ ।

सम्बन्धित खबर