बुद्धशान्ति । बुद्धशान्तिका युवाहरूको सामाजिक संस्था जोइन्ट हेण्ड युथ सोसाइटीले आज एक कार्यक्रमकाबीच गाउँपालिकालाई शववाहन हस्तान्तरण गरेको छ ।
संस्थाले शववाहन हस्तान्तरण गरेसँगै बुद्धशान्तिमा पहिलो शववाहन सञ्चालनमा आएको हो । मानिसको मृत्युपछि अस्पतालबाट शव घरसम्म ल्याउन वा अन्तिम संस्कारका लागि घरबाट घाट सम्म पुर्याउन सहयोग पुर्याउने उद्दश्यले शववाहन खरिद गरी गाउँपालिकालाई बुझाएका हुन । गाउँपालिकाले आफ्नो मातहतको स्थानीय अस्पताल भागीरथा बुद्धशान्ति अस्पतालको जिम्मामा सञ्चालन गर्नेगरी सो शववाहन आजै प्रदान गरेको छ ।
पालिकालाई शववाहन हस्तान्तरण गर्दै संस्थाका कार्यवाहक अध्यक्ष अनिल वाग्लेले बुद्धशान्तिमा शववाहनको आवश्यकता महसुस गर्दै शववाहन खरिद गरिएको बताए । शववाहनले बुद्धशान्ति गाउँपालिका, रोङ गाँउपालिका, मेचीनगर नगरपालिका, अर्जुनधारा नगरपालिका लगायतका क्षेत्रमा सेवा प्रदान गर्ने जनाईएको छ ।
करिव ५ वर्ष अघिबाट शववाहन खरिद गर्ने उद्देश्य राखेर महोत्सव, सामाजिक कार्यक्रम गरी संकलित रकममा बुद्धशान्ति गाउपालिका र देश विदेशमा रहेका मानिसहरूको सहयोगबाट शववाहन खरिद गरिएको हो ।
कार्यक्रममा मन्तब्य राख्दै पालिका अध्यक्ष मनोज प्रसाईले शववाहन खरिद गर्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिएका थिए । शववाहन हस्तान्तरण कार्यक्रममा पालिका उपाध्यक्ष भवानी खतिवडासहित वडाध्यक्षहरु, संस्थाका पदाधिकारीको उपस्थिति रहेको संस्थाका सचिव गोकुल पौडेलले जानकारी दिए । शववाहनले बुद्धशान्ति गाउपालिका अन्तर्गत भागीरथा बुद्धशान्ति अस्पतालमा रहेर सेवा प्रदान गर्ने सचिव पौडेलले बताए ।