२०८१ पौष १४, आइतवार , ०१:२०:५९ बजे

Sajhamanch
'

नेनिकसंद्वारा आयोजित रक्तदान कार्यक्रममा ८३ पिन्ट रगत संकलन, संगठनद्वारा अधिकारी, शाक्य र दवाडीलाई पुरस्कृत गरिने

सोमवार, साउन १५, २०८०

भद्रपुर । कुशल संगठक, राष्ट्रसेवक सहिदहरु मनोज, झपेन्द्र तथा सुरेन्द्रको स्मृति दिवसको अवसर पारेर नेपाल निजामती कर्मचारी संगठन झापा र राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाले सोमबार संयुक्त रुपमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् ।

संगठनका अध्यक्ष केदार पोखरेललको अध्यक्षतामा आयोजित रक्तदान कार्यक्रममा १३ जना महिलासहित ८३ जनाले रक्तदान गरेका हुन् । भद्रपुर १० लेखनाथ चोकस्थित संगठनको कार्यालय रहेको मनोज झपेन्द्र समृति सामुदायिक भवन परिसरमा आयोजित रक्तदान कार्यक्रमका रक्तदाताहरुलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो ।

कोशी प्रदेशका प्रदेश सभा सदस्य छविलाल चुडालले कार्यक्रमको उद्घाटन गरेका थिए । संगठनका सचिव कृष्ण सुवेदीले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि चुडाल, नेपाल निजामती कमृचारी संगठन कोशी प्रदेश इञ्चार्ज लक्ष्मीप्रसाद गुरागाईं, नेकपा एमाले जिल्ला कमिटी झापा सचिवालय सदस्य देवराज कार्की, डम्बर देउजा लगायतले कार्यक्रममा मन्तव्य राखेका थिए ।

झापामा रगतको अभाव भइरहेको बेला संगठनले रक्तदान कार्यक्रम आयोजना गरेको हो । रक्तदान कार्यक्रम चलिरहँदा त्यहीँबाट केही बिरामीका लागि रगत सम्बन्धित अस्पतालमा लगिएको थियो ।

यसैबीच, सहिदहरु मनोज, झेन्द्र तथा सुरेन्द्रको स्मृति दिवसकै अवसर पारेर यस वर्षका लागि संगठनले उत्कृष्ट कर्मचारी तथा सुशासन पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुने व्यक्तित्वहरुको नाम घोषणा गरेको छ ।

यस वर्ष स्व. प्रमोद तामाङ स्मृति सुशासन पत्रकारिता पुरस्कारबाट भद्रपुरका पत्रकार ईश्वर अधिकारी पुरस्कृत हुने भएका छन् । यस्तै, स्व. प्रमोद तामाङ उत्कृष्ट राष्ट्रसेवक पुरस्कारबाट कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य र कनकाई नगरपालिकामा कार्यरत सिनियर अनमि निरीक्षक टिकामाया दवाडीलाई पुरस्कृत गरिने घोषणा गरिएको छ ।

छुट्टाछुट्टै छनोट समितिले सिफारिस गरेको आधारमा संगठनका अध्यक्ष पोखरेलले ती नामहरु घोषणा गरेका थिए । उत्कृष्ट राष्ट्रसेवक पुरस्कारको राशि जनही ११ हजार १११ र पत्रकारिता पुरस्कारको राशि ७ हजार ७७७ रुपैयाँ रहेको राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष वशिष्ठ अधिकारीले जानकारी दिए ।

ती पुरस्कार आउँदो भदौ १५ गते कुशल संगठक स्व. प्रमोद तामाङको स्मृति दिवसका दिन हस्तान्तरण गरिने संगठन अध्यक्ष पोखरेलले जानकारी दिए ।