२०८१ माघ ३, बिहिवार , ११:१२:५८ बजे

Sajhamanch
'

तक्षशीलामा स्वीमिङ पुलसहितका सेवा विस्तार

शुक्रवार, साउन १२, २०८०

बिर्तामोड । बेलायतको क्याम्ब्रिज विश्वविद्यालयसँग आवद्ध रहेको बताइने बिर्तामोड ६ स्थित तक्षशीला प्रोग्रेसिभ इङ्लिस स्कूलमा विद्यार्थी लक्षित सुविधाहरु विस्तार गरिएको छ ।

सो स्कूलले अन्तर्राष्ट्रिय स्तरको आधुनिक प्रणालीमा पठनपाठन गराउने गरी सेवा विस्तार गर्दै विद्यालय परिसरमा नै स्वीमिङ पुल , नयाँ स्मार्ट कक्षाकोठा, लाइब्रेरी लगायतका सुविधा थप गरेको हो ।

विद्यार्थीहरुलाई स्वीमिङ सिकाउनका लागि विद्यालयले ८३×४३ फुटको स्वीमिङ पुल निर्माण गरेको छ । तीनदखि पाँच फुट गहिराई भएको स्वीमिङ पुलमा शिक्षक राखेर पौडिन सिकाउने विद्यालयले जनाएको छ ।

त्यस्तै ८० जनाभन्दा बढी विद्यार्थी अट्ने क्षमता भएको लाइब्रेरी निर्माण गरिएको छ । जहाँ ३ हजारभन्दा बढी पुस्तक राखिएको विद्यालयका एकाडेमिक डाइरेक्टर डा. भिक्टोर इग्नेसियस जोन जोसेफले बताए ।

त्यस्तै कक्षा १ का विद्यार्थीहरुका लागि तीनवटा स्मार्ट कक्षा कोठा निर्माण गरिएको छ । एउटा कक्षा कोठामा २० जनाका दरले अट्नेगरी ३ वटा कक्षा कोठा निर्माण गरिएको एकाडेमिक डाइरेक्टर डा. जोसेफले बताए । हरेक कक्षा कोठामा अलग अलग थिमअनुसार डेकोरेशन गरिएको उनको भनाई छ ।

नयाँ कक्षा कोठा, स्वीमिङ पुल र लाइब्रेरीको विद्यालयका संचालक दुर्गा प्रसाईले उद्घाटन गरे । उनले झापा बाहिरका विद्याथीहरुलाई समेत लक्षित गरी अन्तर्राष्ट्रिय स्तरको विद्यालय आफूहरुले संचालन गरेको बताए ।

तक्षशीला प्रोग्रेसिभ इङ्लिस १७ वर्षअघि स्थापना भएको हो । तर, नयाँ व्यवस्थापनमा विगत ६ महिनादेखि संचालनमा रहेको छ । बेलायतको क्याम्ब्रिजसंगै तक्षशीला ब्रिटिश काउन्सिलसंग पनि आवद्ध भएको छ ।

त्यस्तै सो विद्यालय भारत आन्ध्र प्रदेशको एस. आर. एम. युनिभर्सिटीसंग पनि आवद्ध भएको छ भने स्वीडेनको लिटल आइन्सटाइनसंग आवद्धता जनाएको बताइएको छ । तक्षशीलाले आगामी सरस्वती पूजादेखि मोन्टेश्वरी कक्षा संचालन गर्ने भएको छ ।

सम्बन्धित खबर