२०८१ मंसिर १०, सोमवार , ०३:३४:५५ बजे

Sajhamanch
'

दमकमा पनि सुरु भयो ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान

बिहिवार, साउन ११, २०८०

दमक । डेंगी नियन्त्रणका लागि दमक नगरपालिकाले डेंगी सार्ने लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने अभियान थालेको छ । दिनानुदिन डेंगीका बिरामी देखापर्न थालेपछि नगरपालिकाले डेंगी सार्ने लामखुट्टेको लार्भा खोजी गर्दै नष्ट गर्ने अभियान सुरु गरेको हो ।

नगरपालिकाको स्वास्थ्य शाखाले आज दमक बजारमा चेतनामुलक र्यालीसहित होटल तथा पसलका भाँडाकुँडा र खाल्डाखुल्डीमा जमेको पानी पोखाएको छ । जमेको पानीमा डेंगु सार्ने लामखुट्टेको लार्भा हुर्कने भएकाले खुला ठाउँमा रहेको पानी हटाउने र सो पानीमा हुर्कँदै गरेको लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र भट्टराईले जानकारी दिए ।

आज पूर्व पश्चिम राजमार्गको दुवैपट्टी दमकको चिया दोकानचोकदेखि बसपार्कसम्म लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरिएको उनले जानकारी दिएका छन् । अधिकांश जमेको पानीमा डेंगी सार्ने लामखुट्टेका लार्भा समेत भेटिएको उनको भनाई छ ।

डेंगी नियन्त्रणका लागि क्रमशः संक्रमित कै घरमा पुगेर घर वरपर खुला ठाउँमा जमेको पानी र डेंगु सार्ने लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरिने दमक नगर उपप्रमुख रेगिना भट्टराईको भनाई छ ।

डेंगीबाट जोगिनको लागी लार्भा नष्ट गर्ने अभियान नै प्रभावकारी उपाय भएको भन्दै उपप्रमुख भट्टराईले धुवाँ स्प्रे गर्दा बालबालिका, ज्येष्ठ नागरिक, गम्भिर प्रकारका बिरामीलाई असर गर्ने भएकोले लार्भा नष्ट अभियानमा सहभागी हुन सबैलाई आग्रह पनि गरेकी छन् ।

दमकमा अहिले दिनदिनै डेंगी संक्रमित बढिरहेको दमक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. कृष्ण शाहले जानकारी दिएका छन् । दैनिक तीन चारजना डेंगीको लक्षण भएका बिरामी उपचारका लागि अस्पताल आउने गरेको उनको भनाई छ ।

डेंगी संक्रमित बिरामीलाई उच्च ज्वरो आउने, टाउको दुख्ने, जीउ दुख्ने र आँखा पछाडिको भाग दुख्ने लगायतका लक्षण देखिने गरेको दमक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शाहले बताए । सिकिस्त अवस्थाका बिरामीलाई अस्पतालमा भर्ना गरेर उपचारको प्रबन्ध मिलाइएको उनले जनाएका छन् । सामान्य बिरामीलाई भने सिटामोल खाएर घरमै बस्न सल्लाह दिने गरेको उनले बताए ।

सम्बन्धित खबर