२०८१ माघ १३, आइतवार , ०८:३८:४५ बजे

Sajhamanch
'

सिम्रिक साकोसका सदस्यहरुमाझ डेढ करोड रुपैयाँको राहत सुविधा वितरण

शुक्रवार, साउन ५, २०८०

झापा । पछिल्लो समय सहकारीप्रति नकारात्मक भावसहितका समाचारहरु आइरहे पनि अन्य वित्तीय निकायहरुको तुलनामा सदस्य सुविधामा सहकारीको योगदान अतुलनीय छ । सहकारी संस्थामा सदस्य बन्ने नेपाली नागरिकहरुले बचतको ब्याजमात्र प्राप्त गरिरहेका छैनन्, उनीहरुलाई आफ्नो संस्थाले सुरक्षा र सुविधा पनि प्रदान गरिरहेको हुन्छ ।

सोक्रममा झापाका केही सहकारीहरुले सदस्य र समुदायका लागि गरिरहेको कामले अभियानमा नै राम्रो चर्चा कमाएको छ । झापाका कतिपय प्रारम्भिक सहकारी संस्थाहरुले सदस्यको अभिभावकत्व गर्दै जन्मदेखि मृत्युसम्मका हरेक घटनामा साथ दिइरहेका छन् । तिनै मध्येको एक हो, सिम्रिक बचत तथा ऋण सहकारी संस्था (साकोस) लिमिटेड, बिर्तामोड ।

झापामा मुख्य कार्यालय रहेको र कोशी प्रदेशका चारवटा जिल्लाहरुमा कार्यक्षेत्र विस्तारित सिम्रिक साकोसले संस्थाको राहत कोषमा आवद्ध भएका आफ्ना शेयर सदस्यलाई विभिन्न प्रकृतिका राहत तथा सुविधाहरु प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७९/०८० मा मात्र एक हजार ३५३ जना यस्ता सदस्यहरुलाई संस्थाले एक करोड ४२ लाख ४२ हजार ८६ रुपैयाँ राहत सुविधा वितरण गरेको छ ।

संस्थाका सूचना प्रविधि सहायक विजय पाण्डेले उपलब्ध गराएको तथ्याङ्कअनुसार संस्थाको राहत कोषमा आवद्ध भएका शेयर सदस्यहरुले विभिन्न रोगको उपचारको लागि शल्यक्रिया गराउँदा भएको खर्चको बीलको आधारमा ५२ लाख ४२ हजार रुपैयाँ हाराहारी राहत प्रदान गरिएको हो ।

यस्तै, विभिन्न किसिमका बिरामी भई अस्पताल बसेर उपचार गराउने सदस्यहरुलाई खर्चको बीलको आधारमा ४० लाख ५० हजार रुपैयाँभन्दा बढी उपचार सुविधा प्रदान गरिएको छ ।

पाण्डेका अनुसार संस्थाको सदस्य राहत कोषमा आवद्ध भएका सदस्यहरुलाई प्राणघातक रोग लागेकाले उपचार सहयोगमा १५ लाख रुपैयाँ खर्च भएको छ भने सदस्य परिवारमा मृत्यु भएकोमा काज किरिया खर्चवापत बितेको आर्थिक वर्षमा ४ लाख ५० हजार रुपैयाँभन्दा बढी रकम प्रदान गरिएको छ । आर्थिक वर्ष २०७९/०८० मा सिम्रिक साकोसले ऋणि सदस्यको मृत्यु भएर वा अन्य कारणले ३० लाख रुपैयाँभन्दा बढी रकम कर्जा मिनाहा पनि गरेको तथ्याङ्क छ ।

यसैबीच, सो संस्थाले झापाका विभिन्न अस्पतालहरुसँग समन्वय गरी आफ्ना सदस्यहरुको उपचारमा सहुलियत दरको सेवा प्रवाह सम्बन्धी सम्झौता गरेको छ । सिम्रिक साकोसका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतका अनुसार बिर्तामोडको मनमोहन सामुदायिक अस्पताल र कनकाई हस्पिटल, भद्रपुरको ओमसाई पाथीभरा अस्पताल तथा दमक अस्पताल दमकसँग सम्झौता गरिएको हो । ती अस्पतालहरुमा सिम्रिक साकोसका सदस्यहरुको लागि उपचार खर्चमा केही प्रतिशत छुटको ब्यवस्था गरिएको हो ।