काठमाडौं । नेपाली कांग्रेसले मंगलबारदेखि बस्ने केन्द्रीय कार्य समिति बैठकका लागि १० वटा एजेण्डा तय गरेको छ ।
सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले केन्द्रीय कार्य समिति बैठकका लागि १० वटा एजेण्डा तय गरेको हो ।
महामन्त्री विश्वप्रकाश शर्माका अनुसार समसामयिक, नीति महाधिवेशन, विभाग गठन, निर्वाचन परिचालन समितिको प्रतिवेदन, यसअघि कार्यसम्पादन समितिको बैठक अनुमोदन लगायतका विषय बैठकको कार्यसूचीमा छ ।
एक वर्षपछि बस्न लागेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकका एजेण्डाहरुमा समसामयिक विषय, सांगठनिक कार्ययोजना र कार्यतालिका सम्बन्धी प्रस्ताव, कार्यसम्पादन समिति बैठकबाट यसअघि भएका निर्णयहरु अनुमोदन गर्ने रहेका छन् ।
यसैगरी, पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन प्रस्तुति, नीति अधिवेशन सम्बन्धी प्रस्ताव, विभाग गठन सम्बन्धी प्रस्ताव, अभियान घोषणा सम्बन्धी प्रस्ताव, अनुशासन समितिको प्रतिवेदन सम्बन्धी प्रस्ताव माथि छलफल हुनेछ ।
सो बैठकका लागि प्रतिनिधि सभा बैठकमा पार्टीको भूमिकाबारे संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी गराउने र सरकारमा पार्टीको भूमिकाबारे उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले जानकारी गराउने एजेण्डाहरु तय गरिएको जनाइएको छ ।