काठमाडौँ । ‘अनेसास पदम विश्वकर्मा सर्वोत्कृष्ट कथा पुरस्कार’ महेश पौड्यालको कथा संग्रह ‘अपरिचित अनुहार’लाई प्रदान गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासद्वारा हरेक दुई वर्षमा प्रदान गरिने पुरस्कारको राशि १ हजार अमेरिकी डलर रहेको छ ।
अमेरिका निवासी साहित्यकार पदम विश्वकर्माले अनेसास अन्तर्गत स्थापना गरेको यो पुरस्कार ‘अपरिचित अनुहार’का लागि कथाकार तथा समालोचक महेश पौड्यालले प्राप्त गरेका हुन् ।
आगामी लक्ष्मी जयन्तीका अवसरमा एक समारोहको आयोजना गरी पुरस्कार वितरण गरिने अनेसासले जनाएको छ । पुरस्कृत हुन लागेका पौड्याल कथाकार, कवि, समालोचक तथा अनुवादक हुन् । उनी अंग्र्रेजी केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा उप–प्राध्यापकको रूपमा कार्यरत् छन् ।
पौड्यालका ‘तादी किनारको गीत’, ‘अनामिक यात्री’, ‘त्यसपछि फुलेन गोदावरी’ ‘अपरिचित अनुहार’, ‘शून्य प्रहरको साक्षी’ लगायत एक दर्जनभन्दा बढी बाल साहित्यका पुस्तक छन् । उनले केही गीत र नाटक तथा स्कूलका दुई दर्जन पाठ्यपुस्तकहरु लेखेका छन् । उनी साहित्यिक पत्रकारिताका क्षेत्रमा पनि क्रियाशील छन् ।