२०८१ पौष २४, बुधवार , ११:५८:०३ बजे

Sajhamanch
'

एनएमसीका नवनिर्वाचित अध्यक्ष सिवाकोटीका यस्ता छन् प्रतिवद्धताहरु

आइतवार, असार ३१, २०८०

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)मा गत जेठको दोस्रो साता सम्पन्न निर्वाचन प्रक्रियाबाट निर्विरोध तथा सर्वसम्मत चयन भएको नयाँ नेतृत्वले शनिबार पद तथा गोपनियताको सपथग्रहण गरेको छ ।

स्थापनाकालदेखि ३० वर्षभन्दा लामो अवधि अध्यक्ष रहेका रामचन्द्र उप्रेतीले संस्थाका संस्थापक सदस्य मध्येका अर्का जुझारु सहकारी अभियन्ता ठाकुरप्रसाद सिवाकोटीको नेतृत्वमा बनेको सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिलाई पद हस्तान्तरण गरेका हुन् ।

उक्त समारोहमा पद तथा गोपनियताको सपथग्रहण पछि नवनिर्वाचित अध्यक्ष सिवाकोटीले सिङ्गो टिमको तर्फबाट प्रतिवद्धता मन्तब्य राख्दै आफूहरुको कार्यकालमा सदस्यको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउनका लागि विशेष योजना र कार्यक्रमहरु सञ्चालन गर्ने बताएका छन् ।

सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको निर्वाचन मार्फत सर्वसम्मत नेतृत्व चयन गर्ने संस्थाका १ लाख ५२ हजारभन्दा बढी सदस्यहरुप्रति कृतज्ञता व्यक्त गर्दै मन्तब्य सुरु गरेका सिवाकोटीले सदस्यहरुको सक्रियता वृद्धिका लागि विभिन्न अभियान सञ्चालन गर्ने प्रतिवद्धता जनाएका हुन् ।

संस्था स्थापनादेखि निवर्तमान सञ्चालक समितिका अध्यक्ष रामचन्द्र उप्रेतीसहित तत्कालिन सञ्चालक तथा लेखा सुपरीवेक्षण समितिको तर्फबाट पुर्याएको योगदानको उच्च कदरका साथ स्वीकार गर्दै आगामी दिनमा ती उपलब्धिहरुको संवद्र्धन र विकास गर्ने पनि प्रतिवद्धता व्यक्त गरेका छन् ।

सहकारी संस्था सञ्चालनको क्रममा भएका असल अभ्यासहरुको अनुभव आदानप्रदान र सहकारी अभियानमा देखिएका समस्या समाधानका लागि अन्य सहकारी संस्था र संघहरुसँग सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्दै नवनिर्वाचित अध्यक्ष सिवाकोटीले सीप विकास र क्षमता विकास मार्फत सदस्यहरुकलाई उद्यमशील बन्न प्रेरित गर्ने र बचत गर्ते बानीको विकास गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता जनाएका छन् ।

पर्यावरण संरक्षण र दिगो विकासलाई सहयोग पुग्ने गरी कार्यक्रम बनाएर सञ्चालन गर्ने प्रतिवद्धता गर्दै अध्यक्ष सिवाकोटीले स्थानीय तहका सरकारहरुसँगको साझेदारीमा सदस्य केन्द्रित कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनले आवश्यकता र दक्षताका आधारमा विभिन्न उपसमितिहरु गठन गरी विगतमा विभिन्न जिम्मेवारीहरु पूरा गर्ने सेयर सदस्यहरुलाई अवसरहरु प्रदान गर्ने प्रतिवद्धता पनि गरेका छन् ।

सम्बन्धित खबर