२०८१ पौष २४, बुधवार , ०१:०७:४३ बजे

Sajhamanch
'

पूर्वाञ्चल क्यान्सर अस्पताल र राजिव गान्धी क्यान्सर इन्स्टिच्युट बीच दुईपक्षीय सम्झौता

आइतवार, असार ३१, २०८०

झापा । बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल र भारतको राजिव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टर बीच दुई पक्षीय सम्झौता भएको छ ।

शनिबार बिर्तामोडमा भएको गरिएको सम्झौतामा पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा. विरेन्द्र यादव र राजिव गान्धी क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा. सुधिरकुमार रावलले दुईपक्षीय हस्ताक्षर गरेका हुन् ।

दुवै क्यान्सर अस्पतालले क्यान्सर उपचार प्रविधिका ज्ञान सीप साटासाट गर्ने, राजिव गान्धी अस्पतालमा उपचारमा गएका नेपाली बिरामीको फलोअपको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा पठाउने, दुई अस्पताल बीच टेलिमेडिसिन प्रविधिबाट बिरामीको उपचारमा सहयोग गर्ने उल्लेख छ ।

यस्तै, पूर्वाञ्चल क्यान्सर अस्पतालका चिकित्सक, नर्स लगायत स्वास्थ्यकर्मीहरुलाई समय समयमा तालिम गराउने, पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपलब्ध हुन नसक्ने सेवाको लागि राजिव गान्धी अस्पतालमा रिफर गरिएका बिरामीलाई सिधै सम्बन्धित चिकित्सकबाट उपचार हुने व्यवस्था मिलाउने समझदारी भएको अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जनाएका छन् । सम्झौता अनुसार पूर्वाञ्चल क्यान्सर अस्पतालबाट रिफर भएर गएका बिरामीहरुलाई सम्पूर्ण खर्चको १० प्रतिशत छुट दिइनेछ ।

सम्झौता पत्रमा हस्ताक्षर गर्दै राजिव गान्धी अस्पतालका निर्देशक डा. रावलले पूर्वाञ्चल क्यान्सर अस्पताल नेपालमा मात्र नभएर पूर्वोत्तर भारतको पश्चिम बंगाल, गुवाहाटी, सिक्किम राज्यमा पनि यो मात्राको प्रविधि सुसज्जित अस्पताल नभएको बताए । उनले नेपालमा क्यान्सर उपचारको टिम प्रविधिसहितको आधुनिक एकीकृत अस्पताल रहेको भन्ने कुरा आफैं आएर हेरेपछि मात्र थाहा पाएको पनि बताएका छन् ।

डा. रावलले राजिव गान्धी अस्पतालमा क्यान्सरको उपचारको लागि जाने विरामीमध्ये १५ प्रतिशत नेपाली हुने गरेको समेत जानकारी दिएका छन् ।

सो अवसरमा पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा. यादवले अस्पताल स्थापना भएको अढाई वर्षमा नै राजिव गान्धी अस्पतालजस्तो संस्थासँग सहकार्य गर्ने अवसर पाउनु सुखद रहेको बताए । राजिव गान्धी अस्पतालसँगको सम्बन्धले पूर्वाञ्चलमा कार्यरत चिकित्सक नर्स लगायत स्वास्थ्यकर्मीले थप अध्ययनको लागि वाटो खुलेको, पूर्वाञ्चलमा बिरामीले थप सेवा पाउने र राजिव गान्धीमा उपचारका लागि गएका बिरामीको फलोअपको लागि जाँदा लाग्ने खर्च कम हुनेमा आफू आशावादी रहेको डा. यादवले बताए ।

वि एण्ड सी मेडिकल कलेजका प्रिन्सिपल तथा अस्पतालका रेडियोलोजी विभाग प्रमुख प्राडा उमेश शर्माले २५ वर्षे युवा राजिव गान्धी क्यान्सर अस्पताल र अढाइ वर्षे बालक पूर्वाञ्चल क्यान्सर अस्पताल बीच भएको सम्झौताले नेपालले क्यान्सर उपचारको क्षेत्रमा फड्को मार्ने विश्वास ब्यक्त गरे ।

सम्बन्धित खबर