२०८१ पौष ८, सोमवार , १०:१८:२९ बजे

Sajhamanch
'

असारको अन्तिममा पनि देशभर ५३ प्रतिशत मात्र धान रोपाइँ, गत वर्षभन्दा १२ प्रतिशत कम

शनिवार, असार ३०, २०८०

काठमाडौं । असार सकिन लाग्दा देशभर ५३ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत वर्षको भन्दा १२ प्रतिशत कम धान रोपाइँ भएको हो ।

अघिल्लो वर्ष सोही समयमा ६५ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको थियो । १३ लाख ५७ हजार हेक्टरमध्ये हालसम्म सात लाख १८ हजार हेक्टर जमिनमा धान रोपाइँ भएको छ । अन्नको भण्डार मानिएको मधेस प्रदेश (तराई भूभाग) मा सबैभन्दा कम २८ प्रतिशत मात्र रोपाइँ भएको छ ।

मधेस प्रदेशमा तीन लाख ५४ हजार हेक्टर जमिनमा धान रोपाइँ हुँदै आएकोमा हाल करिब एक लाख हेक्टर मात्र जमिनमा धान रोपाइँ सम्पन्न भएको मन्त्रालयको तथ्यांकले देखाएको छ । सबैभन्दा बढी धान रोपाइँ सुदूरपश्चिम प्रदेशमा भएको छ । उक्त प्रदेशमा ८५ प्रतिशत रोपाइँ सम्पन्न भएको हो ।

अघिल्लो वर्ष सुदूरपश्चिम प्रदेशमा ५७ प्रतिशत मात्र रोपाइँ भएको थियो । यस वर्ष मधेस प्रदेशमा ढिलो गरी मनसुन भित्रिँदा कम रोपाइँ भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले जानकारी दिनुभयो । कर्णाली प्रदेशमा ७० प्रतिशत, गण्डकी प्रदेशमा ४७ प्रतिशत मात्र धान रोपाइँ भएको छ ।

अघिल्लो वर्ष यी प्रदेशमा ७५ देखि ६५ प्रतिशतसम्म रोपाइँ भइसकेको थियो । यस वर्ष मौसम पूर्वानुमान महाशाखाले पानी कम पर्ने अनुमान गरेको छ । जसले गर्दा खाद्यसंकटको सामना गर्नुपर्ने विज्ञहरूले बताउँदै आएका छन् । यता, किसानले ५३ प्रतिशत धान रोपाइँ गर्दा मलको अभाव अहिले पनि कायमै छ ।

सम्बन्धित खबर