२०८१ माघ १८, शुक्रवार , ०७:०८:४८ बजे

Sajhamanch
'

कोशी अस्पतालमा विभाग डुलाउँदा-डुलाउँदै गयो बिरामीको ज्यान

बिहिवार, असार २८, २०८०

विराटनगर । केही समयअघि मात्रै पाठेघरको शल्यक्रिया गराएर स्वास्थ्यलाभ गरिरहेकी द्रौपदीदेवी राजवंशीलाई गएको आइतबार बिहान पेट दुख्ने समस्याले सतायो। दुखाइ सहन नसक्ने भएपछि उनले छिमेकीलाई अस्पताल पुर्‍याइदिन आग्रह गरिन्।

मोरङ जहदा गाउँपालिका १ की ५५ वर्षीया राजवंशीलाई धेरै असजिलो भएपछि छिमेकी देवन्तकुमार राजवंशीले विराटनगरस्थित कोशी अस्पताल लिएर आए। असार २४ गते बिहान अस्पतालको आकस्मिक कक्षमा पुर्‍याएपछि त्यहाँ रहेका स्वास्थ्यकर्मीले स्त्री तथा प्रसुति रोग विशेषज्ञलाई भेट्न ओपिडीमा जान सुझाए।

स्त्री तथा प्रसुति विभागका चिकित्सकले शल्यक्रिया गरिएको केस रहेछ भन्दै सर्जरी विभागमा जान भने। देवन्तले अब द्रौपदीलाई सर्जरी विभागतिर लिएर गए। आकस्मिक कक्षबाट स्त्री तथा प्रसुति विभागमा पालो कुर्दाकुर्दै एक घन्टाभन्दा बढी समय बितिसकेको थियो। पेटको दुखाइ झनै बढिरहेको थियो।

प्रसुति विभागबाट सर्जरी विभागका चिकित्सककहाँ गएर पालो कुर्दाकुर्दै द्रौपदीको मृत्यु भयो।

‘सुरूमा इमरजेन्सीमा पुर्‍याएँ, त्यहाँबाट गाइनोमा लान भनियो,’ बिरामी लिएर अस्पताल पुगेका देवन्तले भने, ‘पालो कुर्दाकुर्दै समय बितेपछि बल्ल गाइनोमा देखाउन पाइयो। गाइनोका डाक्टरले पेटमा घाउ रहेछ, अप्रेसन पनि गरेको रहेछ, सर्जरीतिर लानु भने। सर्जरीका डाक्टरलाई देखाउन नपाउँदै उहाँको ज्यान गयो।’

देवन्तले अस्पताल पुर्‍याउनेबित्तिकै उपचार सुरू गरेको भए मृतकको ज्यान बाँच्ने आशा राखेका थिएन।

‘तर, त्यस्तो भएन अस्पतालका वार्ड डुलाउँदा-डुलाउँदै उहाँको ज्यान गयो,’ उनले भने, ‘मैले १० बजे अस्पताल पुर्‍याएको थिएँ। १२ बजेतिर उहाँको निधन भयो।’

उपचारमा ढिलासुस्ती भएकै कारण बिरामीको मृत्यु भएको भन्दै परिवार र छिमेकीले अस्पताल प्रशासनसँग कुरा गरे। अस्पतालले घटनाबारे छानबिन गर्न अस्पतालका पूर्वमेडिकल सुपरिटेन्डेन्ट डाक्टर यज्ञराज खरेलको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको छ।

कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चन्द्रभाल झाले घटनाको छानबिन सुरू भएको जानकारी दिए।

‘अस्पतालले छानबिन समिति गठन गरेको छ,’ उनले भने, ‘समितिले दिएको प्रतिवेदनको आधार थप प्रक्रिया अगाडि बढाउनेछौं।’

छानबिन समितिका एक जना सदस्यले आकस्मिक कक्षमा तत्कालै उपचार सुरू गरेर औषधि चलाउन सकेको भए राजवंशीको ज्यान जोगिने सम्भावना हुनसक्ने बताए।

‘आकस्मिक कक्षले तत्कालै दुखाइ कम गर्ने औषधि र एन्टिबायोटिक चलाएको भए यस्तो दुर्घटना हुन्नथ्यो कि भन्ने देखिन्छ’, ती सदस्यले भने ‘हामी छानबिनकै क्रममा छौं। विस्तृत विवरण छानबिन सकिएपछि खुल्ला।’

समितिले इमरजेन्सीमा त्यस दिन रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूसँग घटनाबारे बुझिरहेको ती सदस्यले भने। छानबिन चलिरहेको भन्दै अस्पतालले त्यसदिन ड्युटीमा रहेका चिकित्सक र स्वास्थ्यकर्मीको नाम खुलाउन चाहेको छैन।