२०८१ असोज ३, बिहिवार , ०६:३७:५४ बजे

Sajhamanch
'

जग्गा भाडामा लिएर धान रोप्दै विप्लव माओवादीका नेता कार्यकर्ता

बुधवार, असार २७, २०८०

झापा । आत्मनिर्भर अर्थतन्त्र, आत्मनिर्भर उत्पादन, आत्मनिर्भर पार्टी र आत्मनिर्भर नेता एवं कार्यकर्ता नारा दिएर नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले देशभर अभियान चलाएको छ । सोही अभियान अन्तरगत झापाको गौरीगन्जमा तीन बिगाहा जग्गा भाडामा लिएर सो पार्टीका कार्यकर्ताहरु सामुहिक धान खेतीमा लागेको जनाइएको छ ।

कम्युनिस्ट पार्टीका नेताकार्यकर्ताले अनिवार्य श्रम र उत्पादनमा जोडिनुपर्ने केन्द्रीय नीति अन्तर्गत जग्गा भाडामा लिएर धान खेती गरिएको पार्टीका जिल्ला सेक्रेटरी सञ्जय सीले बताएका छन् । नेकपाले देशैभरका कार्यकर्तालाई असार १० देखि ३० गतेसम्म अनिवार्य उत्पादनसँग जोडिनका लागि भूगोलबाट विदा दिएको जनाइएको छ।

यसअघि भूगोलमा जनताका विभिन्न समस्या लिएर कहिले संघर्ष त कहिले छलफलमा दौडिने विप्लवका कार्यकर्ता यतिबेला गौरीगन्जमा रहेको खेतीमा हिलाम्मे भएर धान रोपिरहेका भेटिन्छन् । झापा जिल्ला पार्टी अन्तर्गतका सम्पूर्ण नेता कार्यकर्ता असार १० गतेदेखि निरन्तर श्रम गरिरहेको पार्टीका जिल्ला इन्चार्ज प्रशान्त सीले दावी गरेका छन् ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले देशैभर सयौं बिगाहाभन्दा बढी क्षेत्रमा धान लगाइरहेको र पार्टीका सम्पूर्ण नेता कार्यकर्ता श्रमसँग जोडिएको पार्टीका मेची ब्यूरो इन्चार्ज सुमनसिंह सीले बताए । कार्यकर्तासँगै धान रोपिरहेका उनले इलाम र पाँचथरमा चिया, अदुवा,अलैंची लगायतको खेती गरिरहेको र झापामा धान रोपाइँ भएको बताए । अबको केही वर्षभित्रै आफ्नै उत्पादनमा पार्टीका नेताकार्यकर्ता आत्मनिर्भर बन्ने नितिका साथ पार्टी अगाडि बढिरहेको र धान खेतीमात्रै नभएर कृषि तथा पशुपालन लगायतका क्षेत्रमा पनि काम शुरु भइसकेको उनले बताए ।

नेपाल कम्युनिस्ट पार्टीले मुलुकलाई स्वाधीन र आत्मनिर्भर बनाउने तथा सम्पूर्ण पार्टीका नेता कार्यकर्ता अनिवार्य श्रम र उत्पादनसँग जोडिनुपर्छ भन्ने उद्देश्यका साथ देशैभर धान रोपाइँ अभियान चलाएको हो । उत्पादित चामल पार्टीलाई चलायमान बनाउन र नेता कार्यकर्ताको भरणपोषणका लागि प्रयोग गरिने बताइएको छ ।

सम्बन्धित खबर