२०८१ मंसिर ११, मङ्गलवार , ०५:१९:४६ बजे

Sajhamanch
'

सामाजिक सञ्जालको मिडियामा प्रभाव : सञ्चारभन्दा सञ्जालमाथि बढ्दो विश्वास

सोमवार, असार २५, २०८०

विश्वभर सञ्चारमाध्यमहरूको विश्वसनीयता र पारम्परिक मिडियाको औचित्यमाथि प्रश्न उठिरहेका वेला सामाजिक सञ्जालमाथि भने सर्वसाधारणको विश्वास बढिरहेको विभिन्न सर्वेक्षणहरूले देखाएका छन् । फेसबुक, युट्युबजस्ता माध्यममा ठूलो संख्यामा प्रयोगकर्ताको उपस्थिति बढिरहँदा समाचार सम्प्रेषणकै लागि भनेर सञ्चालन गरिएका मिडियाहरू प्रति रुचि घट्दो देखिएको छ । त्यति मात्र होइन, सर्वेक्षणहरूले त्यस्ता सञ्चारमाध्यमको विश्वसनियताभन्दा सामाजिक सञ्जालहरूमाथि विश्वसनियता बढ्दो देखाएका छन् ।

बिबिसीमा १५ जुन २०१८ मा प्रकाशित एक समाचारमा युवापुस्ताले सामाजिक सञ्जाललाई नै समाचार स्रोतका रूपमा मान्न थालेको उल्लेख छ । द र्‍युटर्स इन्स्टिच्युट फर द स्टडी अफ जर्नालिजम रिसर्चले नर्वे, पोल्यान्ड, फिनल्यान्ड, फ्रान्स, जर्मनी, अमेरिका, बेलायत, अस्ट्रियासहितका २६ देशमा १८ नाघेका र २५वर्ष उमेर नपुगेका युवाहरूबीच समाचारको विश्वसनीयता र स्रोतबारे सर्वेक्षण गरेको थियो । उक्त अध्ययनले सबैभन्दा धेरैले फेसबुकलाई समाचारको स्रोत मान्ने गरेको पाइयो । त्यसपछि युट्युबलाई समाचार स्रोतका रूपमा मान्नेहरूकोे संख्या दोस्रो स्थानमा थियो । तेस्रोमा ह्वाट्सएप र चौथोमा ट्विटर तथा इन्स्टाग्रामलाई समाचार स्रोत मान्नेहरू पाइए ।

यसैगरी, संयुक्त राज्य अमेरिकामा १३ देखि १८ वर्षका युवाबीच सन् २०२०मा गरिएको अर्को एक सर्वेक्षणले पनि त्यस्तै नतिजा देखाएको थियो । कमन सेन्स मिडियाले देशभर गरेको सर्वेक्षणको नतिजामा त्यहाँका एकतिहाइ किशोर–किशोरीले सामाजिक सञ्जाललाई नै मुख्य समाचार स्रोत मान्ने गरेको देखियो ।

अध्ययनअनुसार पब्लिक फिगर, इन्फ्लुएन्सर तथा सेलेब्रिटीलाई सामाजिक सञ्जाल वा युट्युबमा फलो गरेकाहरूले उनीहरूका अभिव्यक्ति तथा सेयर गरेका सामग्रीलाई समाचार स्रोतका रूपमा किशोरकिशोरीले लिने गरेका रहेछन् । ३९ प्रतिशतले त्यस्ता सामग्री ‘कहिलेकाहीँ’ र १५ प्रतिशतले ‘निकै बढी’त्यस्ता सामग्रीमाथि विश्वास गर्ने गरेको उक्त अध्ययनले देखाएको थियो ।

प्यू रिसर्च सेन्टरले सन् २०२२ नोभेम्बरमा गरेको अध्ययनले पनि न्युज मिडियाभन्दा सोसल मिडियाप्रति मानिसको विश्वसनीयता बढिरहेको देखाउँछ । ३० वर्षमुनिका व्यक्तिहरूका लागि समाचारको विश्वसनीय स्रोत सामाजिक सञ्जाल रहेको उक्त अध्ययनको निष्कर्ष थियो ।

सञ्चारविज्ञ मञ्जु मिश्रका भनाइमा सामाजिक सञ्जाल पत्रकारका लागि समाचारको स्रोत मात्र होइन, सञ्जाल स्वयं सञ्चारमाध्यमको रूपमा देखा पर्दै छ । उनी भन्छिन्, ‘मान्छेहरूको हातहातमा सञ्चारका माध्यम छन्, उनीहरू आफैँ पनि समाचारका स्रोत हुन् । परम्परागत मिडियाजस्तो सम्पादक र पत्रकारको हातमा मात्र सूचना छैन । पत्रिका, रेडियोजस्तामा पहिले हामी भाषाको कुरालाई महत्व दिन्थ्यौँ । अहिले सूचना बढी महत्वपूर्ण छ । अहिले सर्वसाधारण सूचनामा आकर्षित भइरहेका छन् ।’

फरक छैन नेपालको अवस्था

सामाजिक सञ्जालमा सबैको पहुँच र विस्तारले परम्परागत मिडियाबाट उत्पादित सामग्रीको विश्वसनीयता, उपभोग र सर्वसाधारणको जीवनको भूमिकामा असर गरेको प्रस्ट छ । नेपालजस्तो मिडिया साक्षरता न्यून भएको देशमा युट्युबमा देखिएका विषय सत्य र फेसबुकमा आएका कन्टेन्ट बहसका विषय बन्न पुगेका छन् ।

कतिपय अवस्थामा सामाजिक सञ्जालमा आएका विषय समाचार बन्न पुगेका छन् र सञ्जालको चर्चालाई सञ्चारमाध्यमले स्थान दिनुपर्ने अवस्था आएका पनि छन् । आफूलाई सञ्चारमाध्यम भन्न रुचाउनेहरूलाई सामाजिक सञ्जाल र यसमा मान्छेहरूको सक्रियताले चुनौती दिएको छ ।

अधिकांश मान्छेलाई ठूला–ठूला समाचार होइन केवल सूचना चाहिएको छ । त्यो पनि क्लिष्ट नभई सरल शब्दमा । यसैकारण पनि उनीहरू समाचारका पेजहरूभन्दा छोटोमा सूचना सम्प्रेषण गर्ने सामाजिक सञ्जालका पेजहरूमा बढी सक्रिय हुन्छन् ।

नेपालको हकमा सूचनाका लागि सबैभन्दा बढी चर्चित ४० लाखभन्दा बढीले फलो गर्ने पेज हो रुटिन अफ नेपाल बन्द । जसले राजनीतिदेखि सामाजिक घटना, प्रेरक व्यक्तित्व, शिक्षासहित विविध विषयमा छोटो पोस्टमार्फत जानकारी दिइरहेको हुन्छ ।

यसैगरी, सुदूरपश्चिमका युवाको मोटे ग्याङ नामक पेजमा बढी सक्रियता देखिन्छ । मेन्स रुम रिलोडेड, विमेन्स रुम रिलोडेडजस्ता पेज तथा ग्रुपहरूमा मिडियाका समाचारभन्दा बढी मान्छे इंगेज देखिन्छन् ।

यसका साथै अन्य थुप्रै फेसबुक पेजहरू छन् । जसले समाचारमा आएका विषयलाई छोटोमा स्ट्याटसको रूप दिई सेयर गर्ने गरेका छन् । यस्ता सूचनाका सबैभन्दा बढी उपभोक्ता युवा समूह छन् । यसको एउटा कारण सामाजिक सञ्जालमा सक्रिय ठूलो समूह युवा हुनु पनि हो ।

प्राध्यापक तथा सञ्चार अध्येता भानुभक्त आचार्यको भनाइमा अनलाइनन्युजपोर्टल केवल समाचार हेर्न प्रयोग हुन्छ भने सञ्जाल साथीहरूसँग कुरा गर्न, सूचना आदानप्रदान गर्न, समाचारमा आएका विषय नै सेयर गर्न, छलफल गर्न र अन्य प्रयोजनका लागि चलाइन्छ । त्यसैले पनि बहुउपयोगी सञ्जालको एउटा प्रयोग समाचारका लागि पनि गर्नेको संख्या बढ्दो छ । ‘अर्को भनेको कुनै वेबसाइट खोजेर खोल्दा पैसा चाहिन्छ, पत्रिका किन्न, टिभी हेर्न पैसा चाहिन्छ । तर सञ्जालका सूचना सित्तैमा आउँछ,’ उनले भने ।

पहिले कतै समाचार आएपछि आफ्नो समस्या धेरैजनामा नपुग्ला र समाधान होला भन्ने आशाले पनि सर्वसाधारणको चासो समाचार वा सञ्चारमाध्यममा हुन्थ्यो । तर, अहिले सामाजिक सञ्जालको प्रभाव समाचारभन्दा बढी छ ।

‘मलाई एउटा अनलाइन सामान बेच्ने पेजले ठग्यो । धेरै त होइन, तर पाँच हजार रुपैयाँ लिएर सामान पठाएन । प्रहरीले जाबो ५ हजारका लागि उजुरी लिन मिल्दैन भन्यो,’ ललितपुरको इमाडोल बस्ने एक युवतीले गत वर्ष दसैँअघिको अनुभव सुनाइन्, ‘मेरा केही साथी पत्रकार छन् । उनीहरूलाई भनेँ तर यसको समाचार हाल्न मिल्दैन भने । मैले विमेन्स रुम रिलोडेडमा हालेँ । त्यसबाट अरूले पनि सेयर गरेछन् । त्यो अनलाइनले पैसा फिर्ता गरिदियो ।’ सञ्चारमाध्यमसँग गुहार माग्नुको सट्टा सामाजिक सञ्जालको समूहबाट आफूले सहयोग पाएको उनको भनाइ छ ।

‘समाचारको प्रभाव पहिलेजस्तो पनि छैन । साप्ताहिक, दैनिक, थुप्रै पत्रिका बन्द भइसके, अन्य विभिन्न मिडिया र मिडियाबारे अध्यापन गराउने संस्थाहरू पनि बिस्तारै बन्द हुँदै छन्,’ डा। मिश्रले भनिन् ।

सुदूरपश्चिम तथा कर्णाली क्षेत्रमा हुने घटना, ती क्षेत्रसँग जोडिएका गतिविधिहरू पोस्ट गरिरहने मोटे ग्याङ नामक पेजमा ६८ हजारभन्दा बढी लाइक छन् । बैतडीका १८ वर्षीय किरण टेलरको अनुभवमा आवश्यक जानकारी मात्र दिने भएकाले उनले यो पेज लाइक गरेका छन् र उनलाई यो पेजले दिने जानकारीमा विश्वास लाग्छ ।

‘समाचारमा प्रयोग हुने भाषाभन्दा पेजहरूले प्रयोग गरेको भाषा बुझ्न सजिलो हुन्छ । हामीलाई धेरै लामो समाचार पढेर पनि काम छैन । छोटो लेखेपछि पनि बुझिहाल्ने हो, धेरै त किन चाहियो र रु’ उनले भने ।

पत्रपत्रिका जसरी सञ्जालका सूचना किनिरहनु पनि पर्दैन । टेलिभिजन जसरी न उपकरण चाहिन्छ न त सब्सक्रिप्सन लिनुपर्ने हुन्छ । मोबाइलमै रेडियो सुन्न, पत्रिका पढ्न र भिडियो स्टोरी हेर्न मिल्ने भएझैँ सञ्जालमै समाचार यी तीनै स्वरूपमा आइरहेका हुन्छन् । प्रायः तुरुन्तै कुनै पनि घटनाका सूचना छ्याप्छ्याप्ती भइसक्छन् । प्रयोगकर्ताले तुरुन्तै त्यसमा प्रतिक्रिया जनाउन पनि सक्छन् ।

डिजिटल सञ्चारमा विद्यावारिधि गरेका तथा क्यानडास्थित युनिभर्सिटी अफ ओटवामा सञ्चार आचारसंहिता विषय पढाउँदै आएका आचार्यका अनुसार समाचारका लागि सामाजिक सञ्जालमा भर पर्नुको मुख्य कारण भनेको अहिलेका युवापुस्ता सञ्जालमा बढी समय व्यतीत गर्छन् । ‘सञ्जाललाई चाहिँ युवाहरूले खासगरी अर्को सञ्चारमाध्यम भनेर बुझिसके । अनलाइनहरूले सेपरेट र रिलायबल कन्टेन्ट दिन सकेनन्,’ उनी सञ्चारमाध्यमको विश्वसनीयता खस्किँदै जानुको कारणबारे भन्छन्, ‘तत्कालै प्रतिक्रिया जनाउन सकिने, निःशुल्क र छिटै जानकारी पाउने भएकाले पनि उनीहरूको झुकाव सञ्जालकै समाचारतिर बढ्दो छ ।’

यसैमा सही थप्दै डा। मिश्रले भनिन्, ‘सामाजिक सञ्जालले रुचिअनुसारका समाचार पस्किन्छ र त्यसले पनि युवावर्ग बढी आकर्षित हुन्छन् । चाहे त्यो साहित्य होस् वा अपराध वा राजनीतिका समाचार ।’

सञ्जालका कमजोरी र सञ्चारमाध्यमलाई चुनौती

सामाजिक सञ्जालबाट मोबाइल फोन प्रयोगकर्ता अछुतो छैनन् । साथीभाइ, नातेदारसँग निकट रहिरहन र आफ्ना भावना व्यक्त गर्नदेखि सामान किन्नसमेत अहिले सामाजिक सञ्जालको प्रयोग हुन्छ ।

विशेषगरी सञ्चार साक्षरता न्यून भएको नेपालजस्तो देशमा सञ्जालका सूचनालाई समाचार ठान्दा सर्वसाधारणले मिथ्या सूचना र भ्रमपूर्ण जानकारी पाउने सम्भावना धेरै रहन्छ । नेपालमा फेसबुकका पोस्टलाई सत्य र स्पोन्सर्ड समाचारको शीर्षक हेरेर धारणा बनाउने जमात ठूलो छ । साथै, युट्युब र सञ्जालमा आएका भिडियो हेरेर सत्य असत्य छुट्याउने जमातबीच सञ्चारमाध्यमहरू कमजोर बनिरहेका छन् ।

सञ्जालमा आउने समाचारको मुख्य कमजोरी हो विश्वसनीयता । ग्लोबल पर्सपेक्टिभ अन जर्नालिजम इन नेपाल ९मिडिया, कल्चर एन्ड सोसल चेन्ज इन एसिया०का लेखकसमेत रहेका आचार्य सोसल मिडियामा मात्र भर पर्दा मिसइन्फर्मेसन फैलिने सम्भावना बढ्ने बताउँछन् । सञ्जालमा आएका स–साना घटनाले देशको अवस्था वा उक्त विषयलाई ‘जेनेरलाइज’ गर्ने गर्छ ।

‘सञ्जालमा फेक न्युजहरू सर्कुलेसन भएको छ । सोसल मिडियामा के राखिएको छ, त्यसलाई अहिले मुख्य मिडियाले चिर्न सकेन,’ आचार्य भन्छन्, ‘सञ्जालमा इमोसनल साना स्टोरी आउँछन् । मानौँ, मकै पोल्नेको भिडियो सर्कुलेट भयो । यस्तोमा सहरभरिका मकै पोल्नेले यस्तै भोगेका छन् भनेर जेनेरलाइजेसन भइदिन्छ । देश खत्तमै भो भनेर नेगेटिभ इम्प्याक्ट परिरहेको छ,’ आचार्य भन्छन् ।

मिडियामा कम्तीमा ‘गेट किपिङ मेकानिजम’बलियो हुनुपर्ने र सूचना विश्वसनीय हुनुपर्ने उनको भनाइ छ । व्यक्तिपिच्छे मिडिया हुँदा विश्वसनीयता खस्किनुका साथै सञ्जालका सूचना विश्वास गर्नेहरू बढिरहेको उनको भनाइ छ । ‘पत्रकार यति अल्छी भए । कतिपय अवस्थामा चर्चित व्यक्तिको डुब्लिकेट एकाउन्ट हुन्छ । पत्रकारलाई नै छुट्याउन गाह्रो हुन्छ । अनि फलानाले भनेको भनेर समाचार आउँछ,’ उनले भने ।

यद्यपि, डा। मिश्र भने सर्वसाधारण पनि अब सचेत भइसकेकाले उनीहरू सही र गलत सूचना छुट्याउन सक्षम भइसकेको बताउँछिन् । र पनि, मिथ्या सूचना पाउने सम्भावना भने रहने बताउँदै उनी भन्छिन्, ‘पाठक वा समाचारका उपभोक्ता पनि चलाख भइसके । उनीहरू सचेत छन् । दुई–तीनवटा समाचार देखे भने कुनमा विश्वास गर्ने उनीहरूसँग चेतना छ ।’

डा. मञ्जु मिश्र : सञ्चार विशेषज्ञ

व्यक्तिहरूको, नागरिकको हातहातमा समाचार स्रोत छ, उनीहरू आफैँ पनि समाचारका स्रोत हुन् । परम्परागत मिडियाजस्तो सम्पादक र पत्रकारको हातमा मात्र सूचना छैन । कतै केही दुर्घटना भयो भने मान्छेले तुरुन्तै फोटो खिचेर सञ्जालमा हालिहाल्छ । हजार शब्द जति एउटा फोटो वा भिडियोजस्ता माध्यमबाट व्यक्त गर्न सकिन्छ । पत्रिका, रेडियोजस्तामा पहिले हामी भाषाको कुरालाई महत्व दिन्थ्यौँ । अहिले सूचना बढी महत्वपूर्ण छ । कतिपय अवस्थामा गलत सूचना पाउने सम्भावना पनि उत्तिकै हुन्छ । तर, पाठक वा समाचारका उपभोक्ता पनि चलाख भइसके । उनीहरू सचेत छन् । दुई–तीनवटा समाचार देखे भने कुनमा विश्वास गर्ने उनीहरूसँग चेतना छ । समाचारको प्रभाव पहिलेजस्तो पनि छैन । साप्ताहिक, दैनिक थुप्रै पत्रिका बन्द भइसके, अन्य विभिन्न मिडिया र मिडियाबारे अध्यापन गराउने संस्थाहरू पनि बिस्तारै बन्द हुँदै छन् ।

डा. भानुभक्त आचार्य  : आमसञ्चारका प्राध्यापक

युवापुस्ता सूचनाका लागि सञ्जालमा भर पर्नुको पहिलो कारण त नेपालको सन्दर्भमा हेर्दा व्यक्तिपिच्छे अनलाइन छन् । सञ्जालको एउटा पेजजस्तै न्युज मिडिया पनि एकजनाले नै चलाइरहेका छन् । जहाँ गेट किपिङ मेकानिजम छैन । ठूला मिडियामा जसरी समूहमा काम नभएपछि गलत समाचार जाने डर रहन्छ । अर्को भनेको अहिलेको युवापुस्तालाई तुरुन्तै रेस्पोन्स गर्नुपर्ने हुन्छ । त्यो परम्परागत मिडियामा त्यति सहज हुँदैन । तेस्रो भनेको सामाजिक सञ्जालमा धेरै समय बिताउन थालेपछि स्वतः त्यो विविध प्रयोजनका लागि प्रयोग हुन्छ । त्यसमा सूचना पाउनु पनि एउटा प्रयोजन हुन्छ । तर, त्यो सूचना भ्रमपूर्ण पनि हुन सक्छ । मिडिया बलियो भने, को–अपरेटिभ स्वरूपमा चलाइयो, विश्वसनीय बनाउन सकियो भने मात्र समाचारका लागि सामाजिक सञ्जालको भर पर्नेहरू घट्छन् ।

नयाँपत्रिकाबाट

सम्बन्धित खबर