२०८१ पौष २५, बिहिवार , ११:२१:४४ बजे

Sajhamanch
'

परिवार नियोजन संघ झापामा पोखरेल र भट्टराईबीच प्रतिष्पर्धा हुने !

आइतवार, असार २४, २०८०

भद्रपुर । नेपाल परिवार नियोजन संघ झापा जिल्ला शाखाको आसन्न अधिवेशनमा अध्यक्ष पदमा रोचक प्रतिष्पर्धा हुने लक्षण देखिएको छ । वर्तमान अध्यक्ष लोकनाथ भट्टराई पद दोहोर्याउने ध्याउन्नमा छन् भने सचिव गणेशप्रसाद पोखरेल अध्यक्ष पड्काउने दाउमा छन् ।

असार २५ गते साधारण सभासहितको अधिवेसन सञ्चालन भई निर्वाचन कार्यक्रम सुरु हुनेछ । सर्वसम्मत नेतृत्व चयन हुन नसकेमा असार ३० गते शनिबार मतदान प्रक्रियाबाट कार्यसमितिको नेतृत्व चयन गर्ने कार्यतालिका बनाइएको छ ।

अध्यक्षमा दावी गरिरहेका हालका सचिव पोखरेल सामाजिक एवम् राजनीतिक संघ–संस्था र संगठनमा कुशल नेतृत्व सम्हालिसकेका चतुर पात्र हुन् । उनी पत्रकारिता पृष्ठभूमिबाट सामाजिक एवम् राजनीतिक क्षेत्रको नेतृत्वदायी भूमिका निर्वाहा गरिरहेका अब्बल संगठक पनि हुन् ।

सक्षम नेतृत्व दिने ल्याकत भएका पोखरेलको उम्मेदवारीलाई अधिकांश सदस्यहरुले समर्थन गरेको बुझिएको छ । यसको फैसलाको असार ३० गते कुर्नैपर्ने हुन्छ ।

जिम्मेवारी लिएका जुनसुकै संघ–सस्थामा अहिलेसम्म विवादरहित कार्यकाल पूरा गर्दै आएका पोखरेलले ‘परिवर्तित सन्दर्भमा संघलाई नयाँ शैली र योजनाका साथ सञ्चालन गर्नुपर्ने खाँचो देखिएकोले आम सदस्यहरुको चाहना र भावना अनुसार यसपटक अध्यक्षको उम्मेदवार बन्ने निर्णय गरेको’ साझामञ्चलाई बताए ।

संघको वर्तमान अध्यक्ष भट्टराई लेखापढी कानून ब्यवसायी हुन् । उनी पनि विभिन्न राजनीतिक तथा सामाजिक जिम्मेवारी लिएर सफल भूमिका निर्वाहा गरिरहेका ब्यक्ति हुन् । एक कार्यकाल संघको नेतृत्व गर्दा थालेका कतिपय कामहरु अधुरो रहेकाले यो पटक पुनः जिम्मेवारी दोहोर्याएर अर्को कार्यकाल नेतृत्व सुम्पनु उपयुक्त हुने अग्रजहरुको सझावलाई शिरोधार्य गरी उम्मेदवार बन्न लागेको उनको भनाई छ ।

संघको झापा जिल्ला शाखामा ७७५ जना आजीवन र साधारण सदस्य रहेका छन् । उनीहरुले नै निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्नेछन् ।

संघको विधान अनुसार शाखा कार्य समितिमा एक अध्यक्ष, एक कोषाध्यक्ष र नौ जना सदस्य रहने व्यवस्था छ । जसमध्ये ५१ प्रतिशत महिला हुनुपर्छ ।

संघले यौन तथा प्रजनन् क्षेत्रमा नयाँ कार्यक्रम ल्याउन नसकेको मात्र होइन पछिल्लो समय दाताको सहयोग पनि घट्दै गएको अवस्था छ । मुलुक संघीयतामा गएपछि संघले तीनै वटै सरकारको सहयोग लिनुपर्नेमा त्यसो हुन नसकेको अध्यक्षका दावेदार पोखरेल बताउछन्।

कार्यालय भवन जीर्ण अवस्थामा पुगेको जनाउँदै पोखरेलले आफुले नेतृत्व गर्ने अवसर पाएपछि नयाँ र आधुनिक भवन निर्माण गर्ने योजना रहे‍को बताए ।

चारआलीको क्लिनिकल भवन पुननिर्माण र सेवा चुस्त बनाउने उनको प्रतिवद्धता छ । उनले पृथ्वीनगर, चन्द्रगढी र दमकमा रहेको क्लिनिकल सेवालाई अझ प्रभावकारी र जनशक्तियुक्त बनाउने बताएका छन् ।

निर्वाचनमा राजनीतिक हस्तक्षेप हुने गरेको भएपनि यसपटक अहिलेसम्म त्यस्तो देखिएको छैन । नेपाली काग्रेस लगायत अन्य दलका सदस्यहरुले समेत पोखरेलको पक्षमा मत दिने चर्चा चलिरहेको छ ।

सम्बन्धित खबर