२०८१ पौष २४, बुधवार , ०९:३६:४० बजे

Sajhamanch
'

बिर्तामोड वडा नं. ७ आफ्नै भवनबाट सञ्चालन

आइतवार, असार २४, २०८०

बिर्तामोड । बितेको ५ वर्षभन्दा अघिदेखि गरामनी गाविस भवनमा संयुक्त वडा कार्यालय सञ्चालनमा रहेको बिर्तामोड नगरपालिका वडा नम्बर ७, ८ र ९ मध्ये ७ नं.को नयाँ प्रशासनिक भवन आज उद्घाटन गरिएको छ ।

आज एक औपचारिक कार्यक्रमकाबीच वडा नम्बर ७ को पाथीभरा टोलमा नवनिर्मित भवनको कोशी प्रदेश सांसद एकराज कार्की र बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले रिवन काटेर उद्घाटन गरेका हुन् ।

स्थानीयहरुले वडा कार्यालयको लागि १५ कट्ठा १० धुर जग्गा उपलव्ध गराएपछि नगरपालिकाले उक्त क्षेत्रमा २८ लाख रुपैयाँको लागतमा ४ कोठे पक्की भवन निर्माण गरेको हो ।

वडा कार्यालयको लागि जग्गा दिने दाताहरुमा प्रदिप खरेल, श्रीप्रसाद उप्रेती, भिमप्रसाद उप्रेती, तुलसीराम कडरिया, कृष्णप्रसाद भट्टराई, प्रदिप खनाल, चूडामणि बराल, डिकुरामदेवी रिजाल, काशी रिजाल, निलम पकुवाल लगायत हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सांसद एकराज कार्कीले यस वडामा हात्तीको समस्या रहेकोले समस्या समाधानका लागि सबै तहका सरकार लाग्नु पर्ने बताए । पूर्वपट्टीको क्षेत्रमा ‘फेन्सिङ’ जडान गरिए पनि पश्चिम क्षेत्रमा यसको व्यवस्थापनमा जुट्नु पर्ने उनको भनाई छ । बिर्तामोडको वडा नम्बर ६, ७ र ८ हात्ती प्रभावित क्षेत्र पर्दछ ।

कार्यक्रममा बोल्दै बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले वडा कार्यालय सहजरुपमा सन्चालनका लागि भवन पर्याप्त नभए पनि आगामी दिनमा यसलाई थप व्यवस्थित गर्दै लैजाने बताए ।

यस्तै कार्यक्रममा बोल्दै वडाअध्यक्ष कृष्णप्रसाद खरेलले नयाँ भवनबाट वडाका सबै प्रशासनिक कार्य सुरु भएको जानकारी दिए । उनले वडा नम्बर ७ मा चुनावको समयमा मत माग्दा जनतासमक्ष गरेका प्रतिवद्दता पूरा गर्दै जाने विश्वास समेत दिलाएका थिए ।

भवन उद्घाटन कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा बिर्तामोड नगर कमिटी ईन्चार्ज देवराज कार्की, नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई, बिर्तामोड नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष किशोर पौडेल लगायत विभिन्न संघ–संस्था तथा पार्टीका प्रतिनिधि र जनप्रतिनिधिहरुको सहभागिता थियो ।

सम्बन्धित खबर