२०८१ असोज ४, शुक्रवार , ०८:५१:५५ बजे

Sajhamanch
'

उतारचढाव झेल्दै मुख्यमन्त्रीको यात्रा

बिहिवार, असार २१, २०८०

विराटननगर । कोशी प्रदेशको पाँचौं मुख्यमन्त्री नियुक्त उद्धव थापाको राजनीतिमा विभिन्न उतारचढाव छन् ।

पञ्चायतकालमा शंकरदेव क्याम्पसमा नेविसंघ कार्यकर्ता बन्दै राजनीति थालेका उनले बीपी कोइरालाको सुरक्षामा खटिए । यिनै थापा केही समयपछि पञ्चायतकै समर्थक बन्न पुगे । ०४६ को जनआन्दोलन दबाउन प्रतिकार समिति बनाएर खटिएका उनी संघर्ष सकिनासाथ फेरि कांग्रेसमै सक्रिय भए ।

साधारण जीवनशैली अपनाउने थापा भुइँतहका कार्यकर्ताबीच भने लोकप्रिय छन् । त्यही समर्थनको बलमा उनले अहिलेका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई कुनै बेला झापाको जिल्ला सभापतिमै हराइदिन सफल भएका थिए ।

हिक्मत कार्की नेतृत्वको सरकार ढालेर मूख्यमन्त्री बन्न सफल थापालाई नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी पार्टी र जसपाले समर्थन गरेका हुन् ।

सभामुखसहित गठबन्धनले बहुमतको दाबी गरेपछि प्रदेश प्रमुखले मुख्यमन्त्री नियूक्त गरेका थापा नेपाली कांग्रेस भित्र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समूहका हुन् । सोही गुटबाट १४ औं महाधिवेशनमा उनी पार्टीको प्रदेश सभापति निर्वाचित भएका थिए । महाधिवेशनमा उनलाई शेरबहादुर देउवा समूहको पनि सहयोग थियो ।

उनले महाधिवेशनमा संस्थापन इतर पक्षका उम्मेदवार गुरुराज घिमिरेलाई २ मतले पराजित गरेका थिए । थापाले ८ सय ४४ मत प्राप्त गरे । घिमिरेलेले ८४२ मत प्राप्त गरेका थिए ।

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा खस आर्य कोटाको समानुपातिक सूचीको पहिलो नम्बरमा निर्वाचित भएका उनी यसअघिका दुई निर्वाचनमा पराजित भएका थिए ।

२०७० को संविधानसभा निर्वाचनमा झापा-४ र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा झापा-२ बाट पराजित भएका उनी यो पटक समानुपातिक सूचीमा बसेका थिए ।

प्रदेश सांसद निर्वाचित भएपछि संसदीय दलको निर्वाचनमा संस्थापन इतर पक्षका केदार कार्की र संस्थापन पक्षकै अृमत अर्याललाई पराजित गर्दै उनी दलको नेता चुनिए ।

२९ सदस्यीय प्रदेश संसदीय दलका थापाले शेरबहादुर देउवा पक्षले पनि सहयोग गरेपछि १८ मत प्राप्त गर्दै निर्वाचित भएका थिए । मुख्यमन्त्री बन्न प्रदेश झरेका देउवा पक्षका नेता अर्यालले भने २ मत मात्रै पाए । शेखर कोइराला पक्षका कार्कीले ९ मत पाएका थिए ।

गत पुस १० गते बनेको राजनीतिक समीकरण राष्ट्रपतिको निर्वाचनअघि भत्किएपछि थापाको मुख्यमन्त्री हुने बाटो खुलेको थियो । बिहीबार सभामुखको समर्थनसहित मुख्यमन्त्री नियुक्त भएका थापाले ३० दिन भित्र विश्वासको मत लिनुपर्नेछ ।

विश्वासकोमत लिने बेलामा राप्रपाले सहयोग नगरे उनी पदमुक्त हुनेछन् । त्यसपछि नयाँ सरकार गठनको बाटो खुल्नेछ । विश्वासको मत पाएको अवस्थामा सरकार निरन्तर चल्नेछ ।

थापा २०१४ साल मंसिर १५ गते जन्मिएका हुन् । २०३४ सालदेखि उनी नेपाल विद्यार्थी संघको राजनीतिमा जोडिएका थिए ।

काठमाडौंको शंकरदेव क्याम्पसबाट नेविसंघको राजनीति सुरु गरेका उनले नेविसंघको विभिन्न तहमा रहेर काम गरे । २०३५ सालको जनमत संग्रहमा निरंकुश पञ्चायती व्यवस्था विरुद्व बहुदलीय ब्यवस्था स्थापनका लागी बहुदलको प्रचार अभियानमा खटेका उनी विपी कोइरालाको सुरक्षा दस्तामा बसेर पनि काम गरेका थिए ।

२०४६ को जनआन्दोलनका क्रममा भने उनी राजावादी बनेर आन्दोलन दबाउन लागेका थिए । ‘त्यसबेला आन्दोलनकारी झापाको शनिश्चरे बजार बन्द गराउँदै हिड्दा उद्धव थापासहितका युवाहरु पछि(पछि खुलाउदै आउथे,’ कांग्रेस झापाका पुराना एक नेताले भने,‘ त्यस बेला उनलाई हामी मण्डलेको हवल्दार वैदार भन्थ्यौं ।’

ती नेताका अनुसार थापा आन्दोलन लगत्तै कांग्रेसमा नै फर्किएका थिए । शनिश्चरेका अर्का पुराना कांग्रेस नेताका अनुसार उद्धव थापा कृष्णप्रसाद सिटौलाको गुटमा प्रवेश गर्नुअघि केशवकुमार बुढाथोकीको टिममा थिए । बुढाथोकी २०४६ को आन्दोलनअघि मन्त्री थिए । उनी अहिले सक्रिय राजनीतिमा छैनन् । २०४६ को आन्दोलन विरुद्ध लाग्दा उनी बुढाथोकी कै समूहमा रहेको ति नेताको दाबी छ । बुढाथोकी आन्दोलनकै क्रममा कांग्रेसमा आएका थिए । त्यसपछि भने निरन्तर उनी कांग्रेसको राजनीतिमा रहे ।

उनी नेपाली काँग्रेस अर्जुनधारा गाउँसमितिको सचिव र सभापतिको एकरएक कार्यकाल पुरा गरे । त्यसपछि झापा २ नं क्षेत्रको क्षेत्रीय सभापति भने । निरन्तर पार्टीको जिम्मेवारीमा बसे ।

१० औं जिल्ला अधिवेशनबाट कांग्रेस जिल्ला सचिव बनेका उनी ११ औं अधिवेशनबाट उपसभापति बने । थापाले दुई कार्यकाल जिल्ला सभापति बनेको कांग्रेस झापाका सभापति देउमान थेबेले जानकारी दिए । उनका अनुसार १२ औं र १३ औं अधिवेशनबाट उनी झापा जिल्ला सभापति निर्वाचित भएका थिए ।

झापा क्षेत्र नम्बर ४ बाट २०७० को संविधानसभा निर्वाचनमा उम्मेदवार बनेका उनी एमाले उम्मेदवार प्रेम गिरीसँग पराजित भए । २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा क्षेत्र नम्बर २ बाट उठेका उनी पवित्रा खरेलसँग पराजित भएका थिए ।

दोस्रो जनआन्दोलनका क्रममा उनी गिरफ्तार भएका थिए । २०६१ मघ १९ मा तत्कालिन राजा ज्ञानेन्द्रले शाही ‘कू’ मार्फत सत्ता हातमा लिएपछि सुरु भएको आन्दोलनका क्रममा तत्कालिन शाही नेपाली सेनाको युनिफाइड कमाण्डले पक्राउ गरेर झापा चारआली स्थित सैनिक व्यारेकको बंङ्करमा राखेको थियो । त्यसबेला आफूमाथि कठोर यातना दिइएको उनले बताउने गरेका छन् । वाणिज्य शास्त्रमा स्नातक गरेका उनी कांग्रेस भित्र सोझो नेताको रुपमा पनि परिचित छन् ।

सम्बन्धित खबर