बिर्तामोड । बिर्तामोड नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण गरेको छ ।
नगरपालिकामा आज आयोजित एक कार्यक्रमका बीच नगरप्रमुख पवित्रा महतारा प्रसाईले उक्त सामग्री हस्तान्तरण गरेकी हुन् ।
नगरपालिकाले ह्विलचियर २४ थान, स्टिल वाकर ३ थान, कम्वोड चियर ३ थान र एल्वो स्टिक २ थान वितरण गरेको हो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईले अपाङ्गताहरुको क्षेत्रमा छुट्याएको बजेटबाट सामग्री खरिद गरी वितरण गरिएको बताइन् । उनले आगामी दिनमा आवश्यकता पहिचान गरेर थप सहयोग गर्ने प्रतिवद्दता व्यक्त गर्दै वितरण गरिएका सामग्रीको सही सदुपयोग गर्न आग्रह गरेकी छन् ।
सामग्री वितरण कार्यक्रममा वडा नम्बर ६ का वडाअध्यक्ष सूर्य कन्दङ्वा, निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलचन भण्डारी, कार्यपालिका सदस्य लक्षिमा खतिवडा, शर्मिला राजवंशी, तिला गौतम, निर्मलादेवी सुनार, नेत्रहिन संघ झापाका प्रतिनिधि दिपक थापा लगायतको उपस्थिति रहेको थियो ।
सामाजिक विकास समिति संयोजक यमुना आचार्यको अध्यक्षतामा आयोजित कार्यक्रमको स्वागत शाखा प्रमुख डिल्ली दाहालले गरेका थिए ।
बिर्तामोड नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको लागि हरेक वर्ष सहायक सामग्री वितरण गर्दै आएको छ ।