२०८१ मंसिर १३, बिहिवार , ०२:२१:४४ बजे

Sajhamanch
'

झापाका पालिकाहरुमा यस्तो आयो नीति तथा कार्यक्रम र बजेट

सोमवार, असार ११, २०८०

झापा । संविधानको प्रावधान अनुसार असार १० गते देशका सबैजसो पालिकाहरुले आगामी आर्थिक वर्षका लागि बजेट, नीति तथा कार्यक्रमहरु सार्वजनिक गरेका छन् । सोही अनुसार झापाका पालिकाहरु पनि आइतबार पालिका सभामा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भएका छन् । पालिका प्रमुखहरुले प्रस्तुत गरेको उक्त कार्यक्रमहरुमा समावेश गरिएका केही विशेष कार्यक्रमहरु यस्ता छन् ।

बिर्तामोडः

बिर्तामोड नगरपालिकाले सूर्तिजन्य पदार्थ चुरोट, खैनी, गुट्का आदिको विक्री वितरणमा रोक लगाउने नीति लिएको छ । बिर्तामोड नगर क्षेत्रभित्र सूर्तिजन्य पदार्थ बिक्री वितरणमा पूर्णरुपमा रोक लगाउने नीति लिएको नगरप्रमुख पवित्रा महतारा प्रसाईले बताएकी छन् ।

आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख प्रसाईले नगर अस्पतालमा २४सै घण्टा आकस्मिक सेवा संचालन गरिनुका साथै डायलाइसिस सेवा सुचारु गरिने बताइन् । नगरभित्रका अति बिपन्न परिवारलाई छनौट गरी निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिइने, सामुदायिक विद्यालयले विद्यार्थी भर्ना गर्न नगरमा स्थायी बसोबास भएका विद्यार्थीलाई पहिलो प्राथमिकता कम्तीमा ८० प्रतिशत सिट सुरक्षित हुने गरी भर्ना गराउने नीति लिइएको बताइन् ।

कनकाई–विर्ता–अर्जुन नवीकरणीय उर्जा कम्पनीलाई ३ वटा नगरपालिकाको स्वामित्वमा लिई नगरपालिकाहरुको आपसी सहमतिबाट फोहोरमैलाकोे व्यवस्थापन गरिने, स्रोतमा नै फोहोरको वर्गीकरण गर्ने कार्यलाई अभियानको रुपमा लैजाने र कुहिने फोहोरबाट पूर्णरुपमा बायोग्याँस, जैविक मल तथा नकुहिने फोहोरबाट पेवर्स उत्पादन कार्य गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै अस्पताल, कारखाना र औद्योगिक फोहोर सम्बन्धित उद्योगहरुले नै व्यवस्थापन गर्ने, नगर क्षेत्रभित्रका खोला र पैनीको जमिनको साँध सिमाना नक्सांकन गर्ने र नगर क्षेत्रको ऐलानी जमिनको नापजाँच गरी क्षेत्रफल एकिन गरिने उल्लेख गरिएको छ ।

नगरपालिकालाई प्रदुषणमुक्त पूर्ण सरसफाइयुक्त हरित नगर निर्माण गर्नका लागि सार्वजनिक खाली ठाउँमा वृक्षारोपण गरिने र हरेक घरधनीलाई आफ्नो घर अगाडि २ वटा बिरुवाहरु रोप्न प्रोत्साहित गरिने पनि नगर प्रमुख प्रसाईले प्रस्तुत गरेको कार्यक्रममा उल्लेख छ ।

बहाल करको दायरा फराकिलो पार्दै आवासीय प्रयोजनको लागि लागेका घर कोठाहरुको बहाल कर संकलन गर्न सम्बन्धित टोल विकास संस्थाहरुलाई परिचालन गरिने, नक्सापासको दायरामा नआएका घरलाई टोल विकास संस्थाको समन्वयमा दर्तामा ल्याउन अभियान संचालन गरिने पनि नीति बनाइएको छ । बिर्तामोड नगरपालिकाले धेरै कर तिर्ने र नियमित कर तिर्ने करदाताहरुलाई पुरस्कृत गर्ने, उज्यालो नगरको अवधारणालाई पूर्णतया कार्यान्वय गरिन, विद्युत जडान गर्न बाँकी रहेका घर परिवारमा विद्युत जडान गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

कार्यक्रमहरु प्रस्तुत गर्दै नगरप्रमुख प्रसाईंले एक घर, एक धारा अभियानलाई विस्तार गरी नगरबासीलाई स्वच्छ खानेपानी सेवा उपलब्ध गराउने, मापदण्ड विपरित र नक्सा पास नगराई बनाइएका संरचनाहरु नगरको सडक तथा ढल बनाउँदा क्षति हुन गएमा घरधनीले नै व्यहोर्नु पर्ने पनि उल्लेख गरेकी छन् ।

यस्तै डोमालाल राजवंशी स्मृति रंगशालाको स्तरोन्नतिका लागि डिपिआर तयार गरी संघ तथा प्रदेश सरकारसँग आवश्यक बजेट माग गरी निर्माण कार्य प्रारम्भ गरिने, बिर्तामोड ८ मा रहेको दुर्गादेवी गुठीको जग्गामा क्रिकेट खेल मैदान निर्माण गर्न सम्भाब्यता अध्ययन गरिने, राष्ट्रियस्तरको डिभिजन टिममा छनौट भई खेल्ने अवसर प्राप्त फुटबल, क्रिकेट, भलिबल तथा अन्य खेलका टिमलाई अनुदान दिइने लगायतका महत्वपूर्ण नीति तथा कार्यक्रमहरु प्रस्तुत गरिएको छ ।

बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०र०८१ को लागि १ अर्ब ४० करोड ९५ लाख ५० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको दोस्रो नगरसभाको तेश्रो नगर अधिवेसन अन्तर्गतको प्रथम बैठकमा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले उक्त आकारको बजेट प्रस्तुत गरेका हुन् ।


उक्त बजेटमध्ये आयतर्फ संघीय समानीकरण अनुदानबाट २० करोड ३६ लाख, संघीय सरकार राजश्व बाडफाँडबाट १३ करोड १६ लाख ९२ हजार, प्रदेश समानीकरण अनुदानबाट १ करोड ३४ लाख ४ हजार, प्रदेश राजश्व बाँडफाँडबाट १ करोड १९ लाख ७५ हजार रुपैयाँ रहेको छ ।

यसैगरी नगरपालिकाको आन्तरिक आय र मालपोत रजिष्ट्रेशन शुल्कसमेतबाट ३२ करोड, संघीय सशर्त अनुदान चालूतर्फ २९ करोड ६ लाख तथा पुँजीगततर्फ ३६ करोड ७६ लाख हुने प्रक्षेपण गरिएको छ । बिर्तामोड नगरपालिकाका लागि संघीय विशेष अनुदान २ करोड र समपुरक अनुदान ६५ लाख तथा प्रदेश सशर्त अनुदान ६२ लाख २५ हजार, समपूरक अनुदान १ करोड २९ लाख ५१ हजार रुपैयाँ प्राप्त हुने नगर उपप्रमुख संग्रौलाले प्रस्तुत गरेको बजेटमा उल्लेख छ ।

सो सभामा लिखत प्रमाणीकरण सम्बन्धी विधेयेक २०८०, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको ऐन २०७८ लाई संशोधन गर्न बनेको विधेयक २०८०, न्यायिक समितिको कार्यविधि सम्बन्धी ऐन २०७४ लाई संशोधन गर्न बनेको विधेयक २०८० र वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० पेश गरिएको छ । विधेयक समिति संयोजक शर्मिला राजवंशीले उक्त विधेयेक सभामा पेश गरेकी हुन् ।

कमल गाउँपालिकाः

कमल गाउँपालिकामा आइतबार भएको गाउँसभाको १३औं अधिवेशनको पहिलो बैठकमा गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । अध्यक्षद्वारा गाउँसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम बैठकले पारित पनि गरेको छ ।

त्यसैगरी दोस्रो बैठकमा उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले आगामी आर्थिक बर्ष २०८०//०८१ लागि ७२ करोड २१ लाख ८० हजार रुपौको बजेट प्रस्तुत गरिन् । आगामी आर्थिक वर्षका लागि ७२ करोड २१ लाख रुपैयाँको बजेट गाउँसभाको १३औं अधिवेशनका पस्तुत गरेको छ ।उपाध्यक्ष न्यौपानेले पस्तुत गरेको बजेट गाउँसभाको आगामी बैठकले पारित गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले जानकारी दिएका छन् ।

कुन पालिकामा कति बजेट प्रस्तुत भयो

यसैबीच, जिल्लाका सबै स्थानीय तहले आर्थिक वर्ष २०८०/०८१ का लागि तोकिएको अवधिभित्रै वार्षिक बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । भद्रपुर नगरपालिकाले असार ७ गते नै नगरसभा बोलाएर उक्त कार्यको थालनी गरेको थियो ।

अन्य पालिकाले असार १० गते नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन् । झापाका ८ वटा नगरपाालिका र ७ वटा गाउँपालिका छन् । तिनीहरुले आथिएक वर्ष २०८०/०८१ का लागि १३ अर्ब ६६ करोड २४ लाख रुपैयाँ बरावरको बजेट प्रस्तुत गरेको तथ्याङ्क छ ।

बजेटको उक्त अंकमा स्थानीय सरकारको आन्तरिक आम्दानीसहित प्रदेश र संघीय सरकारले दिने विभिन्न शीर्षकका अनुदान पनि जोडिएको छ । झापाका १५ वटा पालिकामा सबैभन्दा धेरै दमक नगरपालिकाले र सबैभन्दा कम हल्दिबारी गाउँपालिकाले बजेट प्रस्तुत गरेको छ ।

जसअनुसार मेचीनगर नगरपालिकाले १ अर्ब ५१ करोड १२ लाख, बिर्तामोड नगरपालिकाले १ अर्ब ४० करोड ९५ लाख ५० हजार, दमक नगरपालिकाले १ अर्ब २२ करोड र शिवसताक्षी नगरपालिकाले १ अर्ब २२ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका छन् ।

यसैगरी, भद्रपुर नगरपालिकाले ८५ करोड ६७ लाख ३ हजार, गौरादह नगरपालिकाले ७९ करोड ९२ लाख ६७ हजार, अर्जुनधारा नगरपालिकाले ७६ करोड ११ लाख ८० हजार र कनकाई नगरपालिकाले ६७ करोड ८७ लाख २४ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको तथ्याङ्क छ ।

गाउँपालिकाहरुमा कमल गाउँपालिकाको ७२ करोड २१ लाख ८८ हजार, कचनकवल गाउँपालिकाको ६३ करोड १ लाख १० हजार, बुद्धशान्ति गाउँपालिकाको ६० करोड ७७ लाख ४७ हजार र गाौरीगञ्ज गाउँपालिकाको बजेट ५२ करोड ९२ लाख ४९ हजार रहेको छ ।

आधा करोडभन्दा कम बजेट प्रस्तुत गरेका गाउँपालिकाहरुमा झापा गाउँपालिका ४९ करोड ९० लाख १७ हजार, बह्रदशी गाउँपालिका ४९ करोड ८८ लाख ४० हजार र हल्दिवारी गाउँपालिका ४७ करोड ७४ लाख ३० हजार रहेका छन् । आगामी आर्थिक वर्षका लागि अधिकांश पालिकाहरुले विगतको बजेटमा घटाएर प्रस्तुत गरेको पाइएको छ ।

सम्बन्धित खबर