२०८१ मंसिर ११, मङ्गलवार , ०६:५६:५५ बजे

Sajhamanch
'

भारतीय लोकतन्त्रको मुद्दा बिर्सेर मोदीसँग वार्ता गर्दै बाइडेन

बिहिवार, असार ७, २०८०

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले भारतीय लोकतन्त्रको बिग्रँदो छविलाई वास्ता नगरी प्रधानमन्त्री नरेन्द्र मोदीलाई न्यानो आतिथ्य दिएका छन् ।

बाइडेनले लोकतन्त्र र अधिनायवादबीचको द्वन्द्व वर्तमान विश्वको वास्तविक संघर्ष रहेको बताउने गरेका थिए । हाल अमेरिका भ्रमणमा रहेका मोदीसँगको वार्तासम्म आइपुग्दा बाइडेन लोकतन्त्रको आधारभूत मान्यतामा अपूर्ण भएपनि महत्वपूर्ण मित्रलाई गुमाउन नहुने निष्कर्षमा पुगेको देखिन्छ ।

ह्वाइटहाउसले मोदीलाई रातो कार्पेट बिच्छाउँदै विशेष आतिथ्य महशुस गराउनका लागि कुनै कसर बाँकी राखेको छैन । अमेरिकाको राजकीय भ्रमणमा रहेका मोदीको सम्मानमा ह्वाइटहाउसले रात्रीभोज आयोजना गर्‍यो । अमेरिकाले मोदीको आतिथ्यता गरेको दृश्य हेर्दा यस्तो लाग्छ लोकतन्त्रको आधारभूत सिद्धान्तलाई चुनौती दिइरहेका मोदीप्रति अमेरिकाको अत्यधिक मोह छ । मोदी सरकारले प्रतिपक्षी आवाजलाई दबाएको छ । भारतमा सन् १९७० को दशकपछिकै तानाशाही स्थिति आउनसक्ने सन्त्रास छ ।

यसका अलावा बाइडेनले विगतका अमेरिकी राष्ट्रपतिलेझैँ आदर्श लोकतन्त्र नभएपनि वा अधिनायकवाद मौलाए पनि वा मानवअधिकारको अवस्था खस्कँदो भएपनि भारतसँगको सम्बन्धको आवश्यकता महशुस गरेका छन् । रुससँगको द्वन्द्व र चीनसँग चिसो सम्बन्धका कारण बाइडेनले तमाम कमजोरीका बीच भारतसँग सम्बन्ध बलियो बनाउन चाहेका छन् ।

ह्वाइटहाउस सम्हालेदेखिनै बाइडेनले अधिनायकवाद विरुद्ध लोकतन्त्रलाई आफ्नो भूराजनीतिक नीति बनाएका थिए । तर आफ्नै नीति विपरीत बाइडेन अघि बढेको भन्दै आलोचना पनि हुनेगरेको छ । उनकै प्रमुख सल्लाहकारहरूले पनि केही ग्रेएरिया राखेर अभिव्यक्ति दिन वा नीति बनाउन सुझाव दिएका थिए ।

बाइडेन आफ्ना सार्वजनिक अभिव्यक्तिमा भने लोकतन्त्रमा सम्झौता नगर्ने बताउँथे । ‘राष्ट्रपतिले मुलकको विदेश नीतिलाई आफ्नो मूल्य र मान्यताको भाषामा ढाल्न खोजेपछि भूराजनीतिक वास्तविकताले उसलाई ढोंगीझैँ बनाउँछ,’ जोन हप्किन्स विश्वविद्यालयमा भूराजनीतिक विषयका प्राध्यापक हल ब्रान्ड भन्छन् ।

बाइडेनले पनि लोकतन्त्रको आधारभूत सिद्धान्तका विपरीत अघि बढिरहेको मुलुकका प्रमुखसँग त्यस विषयलाई थाती राख्दै मित्रताको हात अघि बढाएको प्राध्यापक हल बताउँछन् । ‘लोकतन्त्र र मानवअधिकारप्रति निकै कटिबद्ध रहेका राष्ट्रपतिले पनि रणनीतिक रूपमा महत्वपूर्ण राष्ट्रसँग सम्बन्ध विस्तारका लागि लोकतान्त्रिक मूल्य र मान्यताका कारण अड्किन चाहेनन्’ उनले भने ।

अमेरिकी राष्ट्रपतिका यस्ता व्यवहारले उच्च तहका प्रशासकहरू भने आजित छन् । राष्ट्रपतिका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलेभान सम्बन्ध विस्तार मात्र नभई सही तरिकाबाट सम्बन्ध विस्तार महत्वपूर्ण हुने बताउँछन् । ‘लामो समयदेखि चल्दै आएको चलनलाई पनि सही दिशा दिन सकिन्छ । विभिन्न मुलुकसँग सम्बन्ध विस्तारका लागि परिष्कृत दृष्टिकोण लिन पनि जरुरी छ’, उनले भनेका छन् ।

ह्वाइटहाउसले मोदीको भ्रमणलाई भारतसँगको सम्बन्धलाई बलियो बनाउने महत्वपूर्ण क्षणको रूपमा हेरेको छ । ‘यो भ्रमण निकै ऐतिहासिक हुनेछ । सैन्य मामिला, प्रविधि, आपूर्ति श्रृङ्खला र सेमिकन्डकटर उत्पादनबारे हुने सहमतिले यसलाई थप विशेष बनाउनेछ’, सुलेभानले भनेका छन् ।

यो भ्रमणमा बाइडेनले लोकतान्त्रिक मूल्य मान्यतामा धोकाधडी नगरेको र नगर्ने सुलेभानको भनाइ छ । बाइडेनले भारतीय लोकतन्त्र र मानवअधिकारबारे अमेरिकी चासोलाई कुटनीतिक ढंगबाट उठाउने उनले बताए । ‘राष्ट्रपति बाइडेनले केही संकेत अवश्य गर्नुहुनेछ । तर गौरवपूर्ण स्वाभिमान रहेको एक राष्ट्रलाई लोकतन्त्रबारे अधारभूत पाठ पढाउने पक्षमा राष्ट्रपति हुनुहुन्न’, उनले भने ।

ह्वाइट हाउसले मोदीलाई पनि पत्रकार सम्मेलनमा उपस्थित हुन सहमत गराएको छ । पत्रकारको प्रश्न पन्छाउँदै आएका मोदीले यसपटक उत्तर देलान् वा मौन रहलान् प्रतिक्षा नै छ । आफ्नो कार्यकालको यो अवधिमा फ्रान्स र दक्षिण कोरियाका प्रमुखलाई रात्री भोज दिएका बाइडेनले मोदीलाई पनि रात्री भोज दिएका छन् ।

भारतले अमेरिकासँग प्रतिवर्ष १९० अर्ब डलर बराबरको व्यापार साझेदारी गरिरहेको छ । केही वर्षभित्रै भारतले ५०० अर्ब बराबरको व्यापार गर्ने स्थिति रहेको आँकलन भइरहेको छ । हाल अमेरिकासँग यो संख्यामा क्यानडा, मेक्सिको चीन र युरोपियन युनियनले मात्रै व्यापार गरिरहेका छन् ।

यो वर्ष ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको भारत राम्रै खरिदकर्ता र बिक्रीकर्ता हुने अपेक्षा अमेरिकाको छ । ‘भारतलाई जति अमेरिकी बजार चाहिन्छ अमेरिकालाई पनि उत्तिकै रूपमा भारतीय बजार चाहिन्छ’, जवहरलाल नेहरू विश्वविद्यालयमा विदेश नीति अध्यापन गराउने हेपीमोन ज्याकोब भन्छन् ।

अमेरिकाका लागि भारत अपरिहार्य शक्ति बनेको उनको विश्लेषण छ । तर मोदीको नेतृत्वमा भारतीय लोकतन्त्र कमजोर भइरहेको र तत्काल पुनरूत्थान हुने संकेत नरहेको तथ्य भने एकातिर जीवितै छ । भारतमा चुनावी निरंकुशता मौलाएको कतिपय पर्यवेक्षकहरूको तर्क छ । इन्टरनेट बन्द गर्ने मुलुकको पहिलो सुचीमै भारत छ ।

प्रतिपक्षी दलका नेताहरूलाई सत्ताले विभिन्न कष्ट दिएको छर्लङ्गै छ । प्रमुख प्रतिपक्षी दलका नेता राहुल गान्धीलाई मोदी थरको अपमान गरेको मुद्दामा दोषी करार गर्दै संसदबाट निलम्बन गरेको तथ्य जगजाहेर छ । कतिपय विज्ञहरूले अल्पसंख्यक समुदायमाथिको दमन र हिन्दुवादी नीतिले भारतीय लोकतन्त्र अब नाम मात्रैको रहेको बताएका छन् ।

आलोचना र विरोधका बाबजुद हिन्दुत्वको नीतिमा मोदीले शासन गरिरहेका छन् । संवैधानिक रूपमा धर्मनिरपेक्ष राष्ट्र रहेको मुलुकमा उनले हिन्दुत्वको प्रवर्द्धन गरिहेका छन् । यस्ता विषयमा अमेरिकाले जाहेर गरेको चिन्ताबारे मोदीले बाइडेनसँग वार्ता गर्न चाहेका छैनन् ।

यो विषय नितान्त आन्तरिक मामिला रहेकाले बाह्य मुलुकमा बहस नगर्ने उनको स्पस्ट अडान छ । ‘भारतलाई उपदेश वा भारतसँग वार्ता गर्नेमध्ये एक रोज्न मोदीले बाइडेनलाई सन्देश दिएका छन् । यस्तो अवस्थामा भूराजनीतिक संवेदनशीलताको दीर्घकालीन आवश्यकतालाई मध्यजनर गर्दै अमेरिकाले भारतलाई बदनाम गराउनेछैन । उसले आफ्नो भूराजनीतिक स्वार्थका लागि उपयोग गर्न खोजेको छ’, ज्याकोबले भने ।

सम्बन्धित खबर