२०८१ मंसिर १०, सोमवार , ०६:१४:३७ बजे

Sajhamanch
'

भद्रपुर नगरलाई सन्थाल आवासका लागि दुई करोड

मङ्गलवार, जेठ ३०, २०८०

भद्रपुर । संघीय सरकार मार्फत भद्रपुर नगरपालिकामा ‘सन्थाल आवास’ निर्माणका लागि आगामी आर्थिक वर्षका लागि दुई करोड बजेट विनियोजन भएको छ ।

सिमान्तकृत विपन्न आदिवासी उत्थान कार्यक्रम अन्तर्गत सरकारले सन्थाल समुदायको घर निर्माणका लागि आर्थिक वर्ष २०८०/८१ का लागि सङ्घीय सरकारबाट विशेष अनुदानस्वरुप सो रकम विनियोजन भएको जनाइएको छ ।

प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीका अनुसार विनियोजित रकमबाट करिब १०० घर निर्माण गर्न सकिनेछ । प्रशासकीय अधिकृत रेग्मीले संघीय सरकारबाट प्राप्त बजेटसँगै लाभग्राहीबाट केही लागत सहभागिता जुटाउन सकिए घर निर्माण संख्या बढ्न सक्ने अनुमानसमेत गरेका छन् ।

भद्रपुर नगरपालिका भित्र ६३४ घर परिवार रहेको सन्थाल समुदायको जनसंख्या दुई हजार ५२२ रहेको छ ।

नगर प्रमुख गणेश पोखरेलका अनुसार घर निर्माण गर्दा एकल महिला, विपन्न आर्थिक अवस्था लगायतका आधारमा मापदण्ड बनाएर प्राथमिकताको सूचि निर्माण गर्दै सन्थाल आवास निर्माण गरिनेछ ।

उनले नगरपालिकाले चालू आवमा नगरमा रहेका सबै आदिवासी सन्थाल समुदायको निःशुल्क स्वास्थ्य बीमासमेत गरिदिएको जानकारी दिँदै विपन्न र आर्थिक अवस्था कमजोर भएका समुदायको जीवनस्तर उकास्न नगरपालिका सक्दो प्रयास गरिरहेको बताए ।

सम्बन्धित खबर