२०८१ मंसिर १३, बिहिवार , ११:५३:४० बजे

Sajhamanch
'

नगर अस्पतालका लागि भवन थपिँदै, सुलभ सेवा प्रवाह गर्ने जनप्रतिनिधिहरुको भनाई

बिहिवार, जेठ २५, २०८०

बिर्तामोड । झापाको बिर्तामोडमा हालैदेखि सञ्चालनमा आएको नगर अस्पतालको प्रयोजनका लागि थप अर्को नयाँ भवन निर्माण सुरु गरिएको छ । नगरप्रमख पवित्रा महतारा प्रसाईले बिहीबार बिहान वैदिक विधिपूर्वक भवनको शिलान्यास गरेकी छन् ।

सञ्चालनमा रहेको नगर अस्पतालकै पूर्वपट्टी छेउमा निर्माण हुने ३ तले भवन सुविधा सम्पन्न हुने जनाइएको छ । विभाष इन्टरनेश्नल कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि काठमाडौले सो भवन निर्माण ठेक्का पाएको छ ।

विभाषले १५ करोड ३४ हजार ३३६ रुपैयाँमा निर्माण ठेक्का पारेको हो । गत बैशाख ८ गते नै सम्झौता गरेर प्रक्रिया अघि बढाएको ठेकेदार कम्पनीले २०८१ फागुन २६ गते काम सम्पन्न गर्नु पर्नेछ । भवन निर्माण सम्पन्न भएपछि बिर्तामोड नगर अस्पताल १५ शैयाबाट २५ शैयाको हुने बताइएको छ ।

भवनमा निर्माणसँगै नगर अस्पतालको कम्पाउण्ड भित्र वेस्ट म्यानेजमेण्ट विल्डिङ, पोष्टमार्टमा व्लक, क्यान्टिन ब्लक, एटीएम हाउस, गार्ड हाउस र फार्मेसी ब्लक हुनेछन् भने वरिपरी घेराबारा र भुइँमा पेवर्स लगाउने कार्ययोजना रहेको नगरप्रमुख प्रसाईंले जनाएकी छन् ।

नयाँ भवनमा आकस्मिक कक्ष, उपचार कक्ष, प्रतिक्षालय, सोधपुछ कक्ष, मेडिकल उपकरण भण्डारण कक्ष, घरेलु यौन तथा हिंसाबाट पीडितहरु राखेर उपचार गरिने ओसीएमसी वार्ड, आर्थिक तथा प्रशासनिक कक्ष, क्याविन, डेलिभरी कक्ष, ब्लड बैंक, मल्टिपर्पोज हल लगायतका सुविधा रहने नगरपालिकाका इन्जिनियर नरेन्द्र श्रेष्ठले जानकारी दिए ।

भवन शिलान्यस कार्यक्रममा बोल्दै नगरप्रमुख प्रसाईले नगर अस्पतालबाट दिने सेवालाई स्तरोन्नति गर्नका लागि भवन थप गरिएको बताइन् । भवन समयमै सम्पन्न गरेर सरल, सहज र गुणस्तीय सेवा प्रदान गरिने उनको भनाई छ । पर्याप्त बजेटको अभावमा सोचेजति काम गर्न नसके पनि आगामी दिनमा यसलाई अझै व्यवस्थित गर्दै लैजाने प्रतिवद्वता पनि नगरप्रमुख प्रसाईंले व्यक्त गरेकी छन् ।

नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले सार्वजनिक चासाको रुपमा रहेको यस हस्पिटललाई व्यवस्थापन समितिले अत्यन्त रेखदेख गर्नुपर्ने सुझाउँदै हस्पिटलको एउटै उद्देश्य सर्वसुलभ ढंगले जनतालाई सेवा दिनु रहेकोले कर्मचारीहरुले मुस्कानसहितको सेवा दिन निर्देशन गरे ।

प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले भवन निर्माणका लागि १८ करोड ८५ लाख रुपैयाँका इस्टमेट भए पनि १५ करोड ३४ हजार ३३६ रुपैयाँमा ठेक्का लागेको जानकारी दिए । उनले भवन निर्माण पश्चात जनताले पाउनु पर्ने आधारभूत स्वास्थ्य सेवा सजहरुपमा पाउने बताउँदै अहिले सञ्चालनमा रहेको नगर अस्पताल भवन सानो रहेकोले दुःखले कार्यक्रमहरु अघि बढाइरहेको अवगत गराए ।

बिर्तामोड नगरपालिका वडा नम्बर ३ का अध्यक्ष मदनकुमार बुढाथोकीको अध्यक्षतामा आयोजित भवन शिलान्यास कार्यक्रमको सञ्चालन नगरका वरिष्ठ योजना अधिकृत जय तिम्सिनाले गरेका थिए । यस अघि ५ करोड ५० लाख ७ हजार ७६० रुपैयाँको लागतमा निर्माण भएको १५ शैय्याको भवन सभामुख देवराज घिमिरेले फागुन २० गते उद्घाटन गरेपश्चात नगर अस्पताल सञ्चालनमा आएको छ ।

नगर अस्पतालमा अहिले एकजना एमडीजीपी, ३ जना एमबीबीएस डाक्टरसहितको सेवा उपलव्ध छ । सो अस्पतालले दैनिक २०० जनाभन्दा बढी बिरामीलाई सेवा दिइरहेको अस्पताल प्रसाशनले जनाएको छ ।

सम्बन्धित खबर