२०८१ मंसिर १०, सोमवार , ०३:५२:५४ बजे

Sajhamanch
'

विश्व वातावरण दिवसको अवसरमा बिर्ताबजारमा वृक्षारोपण

सोमवार, जेठ २२, २०८०

झापा । बिर्तामोड नगरपालिकालाई हरितनगरका रुपमा विकास गर्ने गरी रुख विरुवा रोप्न आग्रह गरिएको छ ।

यो वर्ष हरित वर्ष घोषणा गरेर हरित नगर निर्माणका लागि अघि बढ्ने नगरपालिकाको योजना रहेको जनाइएको हो । विश्व वातावरण दिवसका अवसरमा बिर्ताबजारमा आज आयोजित वृक्षरोपण कार्यक्रममा बोल्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईले बिर्तामोडलाई हरित नगर बनाउने अभियानमा लागेको बताएकी हुन् ।

वातावरण स्वच्छ र हराबरा बनाउनका लागि विरुवा रोप्न आवश्यक रहेको भन्दै उनले नगरबासी सबैले जतिसक्दो धेरै विरुवा रोप्न आग्रह गरेकी छिन् । सडकको दायाँ बायाँ, घर, विद्यालय वरिपरी रुख रोपेर स्वच्छ वातावरण एवम् हरितनगर निर्माणको लागि सबै एकजुट भएर लाग्नु पर्नेमा उनको जोड छ ।

विश्व वातावरण दिवसको अवसरमा आज सुरुवात मात्रै गरेको बताउँदै नगरप्रमुख प्रसाईले पानी परेर वातावरण सहज भएपछि वृक्षरोपण कार्यलाई अघि बढाउने नगरपालिकाको योजना रहेको सुनाइन् ।

दिवसको अवसरमा बिर्तामोड नगरपालिका र ३ नम्बर वडा कार्यालयको सहकार्यमा प्रथम बहुउद्देश्यीय सहकारी संस्थाले बिर्ताबजारस्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि वृक्षरोपण कार्यक्रमको आयोजना गरेको हो । नगर प्रमुख प्रसाईले विरुवा रोपेर कार्यक्रमको उद्घाटन भएको थियो ।

वृक्षरोपण कार्यक्रममा नगरप्रमुख प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने, नेकपा एमाले झापा जिल्ला कमिटी सदस्य तथा बिर्तामोड नगर कमिटी इञ्चार्ज देवराज कार्की, नेकपा एमाले बिर्तामोड नगर कमिटि अध्यक्ष सुवास भट्टराई, वडा नम्बर ३ का वडाअध्यक्ष मदन बुढाथोकी, वडानम्बर ४ का वडाअध्यक्ष राहुलकुमार शर्मा लगायत जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, सहकारी अभियन्ता, नेपाल प्रहरी, नगर प्रहरीसहित विभिन्न संघ संस्थाका प्रतिनिधिहरुकोसहभागिता थियो ।

‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं’ भन्ने राष्ट्रिय नाराका साथ आज नेपालमा विश्व वातावरण दिवस मनाइँदै छ ।

सम्बन्धित खबर