२०८१ असोज ४, शुक्रवार , ०६:३९:५८ बजे

Sajhamanch
'

कोशी प्रदेश सरकारबाट जसपा बाहिरियो, माओवादीलाई पनि दबाब

बुधवार, जेठ १७, २०८०

विराटनगर । जनता समाजवादी पार्टी (जसपा)ले कोशी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला लिम्बुलाई फिर्ता बोलाएको छ ।

सरकारलाई दिएको समर्थन पनि फिर्ता लिंदै मन्त्रीलाई फिर्ता बोलाइएको जसपा नेता रकम चेमजोङले जानकारी दिए । ‘यो सरकारले निकास दिएन, समस्यामात्र बल्झाउने काम गर्यो । नामकरणमा पनि समस्या ल्यायो,’ उनले भने, ‘त्यसैले यो सरकारमा बसिरहन आवश्यक छैन भन्ने निष्कर्ष निकालिएको हो ।’

जसपा प्रदेश अध्यक्ष दीपक याख्खाले पत्रकार सम्मेलन गरी निर्णय सार्वजनिक गर्ने बताए । ‘हामी सरकारबाट बाहिरिँदैछौं,’ उनले भने, ‘बाँकी विषय पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्छौं ।’

एक मात्र सांसद भएको जसपाबाट लिम्बु गत पुस २५ गते मन्त्री नियुक्त भएकी थिइन् । राष्ट्रपतिको निर्वाचनसँग केन्द्रमा नयाँ सत्तासमीकरण बनेसँगै ६ वटा प्रदेशमा नयाँ सत्तासमीकरण बनेको छ । तर कोशी प्रदेशमा एमाले नेतृत्वको सरकारमा जसपा र माओवादी केन्द्र सहभागी छन् ।

जसपाले सरकारबाट बाहिरिने निर्णय गरेपछि माओवादी केन्द्र नैतिक दबाबमा परेको छ । यसअघि नेपाली कांग्रेस संसदीय दलले लिखित रुपमा नै माओवादी केन्द्रलाई सरकारलाई दिएको समर्थन फिर्ता लिने आग्रह गरेको थियो ।

९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाको १ सांसद छन् । एमाले र राप्रपा एक ठाउँमा छन् भने कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा एउटा गठबन्धनमा छन् ।

प्रदेशमा बहुमतका लागि ४७ मत आवश्यक पर्छ तर सभामुख बाहेक दुवै पक्षमा समान ४६ मत पुग्छ ।

सम्बन्धित खबर