शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ शिवगन्जस्थित प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गरी नगर अस्पताल बनाउने कार्यका लागि थालिएको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
बहुवर्षे योजना अन्तर्गत निर्माण थालिएको अस्पतालको भौतिक पूर्वाधारको ७५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको जनाइएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट करसहित १० करोड ६६ लाख ९३ हजार ६६५ रुपैयाँ बजेट लागतमा अस्पताल निर्माणकार्य अघि बढेको नगरपालिकाले जनाएको छ ।
अस्पताल निर्माणका लागि जनआदर्श माविले २ विगाहा जमिन उपलब्ध गराएको हो । एक पालिका एक अस्पताल अवधारणा अन्तर्गत शिवगन्ज प्राथमिक उपचार केन्द्रलाई स्तरन्न्नोति गर्दै १५ सैय्याको अस्पताल निर्माण कार्य अघि सारिएको नगरप्रमुख मेगाहाङ थोप्रा बताउँछन् ।
अस्पताल निर्माणका लागि २०७८ असारमा सम्झौता गरी २०८० असार १५ गतेसम्ममा काम सम्पन्न गर्नु पर्ने योजना बोर्डमा उल्लेख छ ।
अस्पताल सञ्चालनमा आउने कुराले शिवसताक्षीका तल्लो भेगका नगरबासीहरु खुशी छन् । उनीहरुलाई सामान्य उपचारका लागि महँगो रकम खर्चेर शहरका अस्पताल धाउनुपर्ने बाध्यताबाट मुक्त गर्ने वडा नम्बर ६ का वडाध्यक्ष मनोज कार्किले बताए ।
अस्पतालको भौतिक संरचना निर्माण सम्पन्न लगतै यसैवर्ष अस्पताल संचालनमा ल्याउन आवस्यक जनशक्ति तथा उपकरणहरुका लागि पहल गरिरहेको उनको भनाई छ ।
अस्पताल निर्माणले हामी सहरभन्दा टाढा बस्ने स्थानीयहरुलाई सहज हुने र २४सै घण्टा सेवा लिन पाउने भएपछि अझ खुसी लागेको स्थानीय शम्भु राजवंशीले बताए । उनले भने पहिला सामान्य चोट लाग्दा एक्स् रे गर्न महँगो अस्पताल धाउनु पर्थ्यो, अब आफ्नै नगरमा अस्पताल संचालनमा आएपछि सुविधा पाउनेमा विस्वस्त छु।
अस्पताल संचालन पश्चात् तल्लो भेगका नगरबासीमात्र होइन छिमेकी पालिकाका बिरामीहरुलाई समेत सहज हुने जनाइएको छ । अस्पतालमा ३ जना एमबिबिएस डाक्टरसँगै ३० जना कर्मचारीहरु रहने गरी दरबन्दी कायम रहने नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
– प्रशिक्षार्थी दिलनारायण राजवंशी