बिर्तामोड । बिर्तामोड नगरपालिकाले कुष्ठरोगीको पहिचानको लागि शंकास्पदहरुको जाँच कार्यलाई निरन्तर अघि बढाइरहेको जनाइएको छ । सो रोगको उच्च जोखिममा रहेको वडा नम्बर १० मा अभियान नै सञ्चालन गरेर कुष्ठरोगीको खोजपड्ताल भइरहेको हो ।
बिर्तामोड वडा नं. १० मा १०१ जना शकास्पद विरामी जाँच गर्दा ५ जना नयाँ कुष्ठरोगी थपिएको नगरपालिकाका सिनियर अहेव अधिकृत तथा फोकल पर्सन दिपक सापकोटाले जानकारी दिएका छन् ।
जेठ ६ गतेदेखि सञ्चालन भएको अभियान अन्तर्गतको कुष्ठरोग शंकास्पद परीक्षण कार्यक्रममा १९ जनाको छाला जाँच गरिएको र उनीहरुको आइतबारसम्ममा रिपोर्ट आउने जनाइएको छ । वडा नम्बर १० मा तालिम प्राप्त स्वास्थ्यकर्मी परिचालन गरी कुष्ठरोग निदानको लागि अभियान सञ्चालन गरिएको थियो ।
बिर्तामोडमा कुष्ठरोगीको संख्या २९ जनाबाट बढेर ३४ पुगेको छ । यस अघि ९ जनामात्रै रहेको वडा नम्बर १० मा ५ जना कुष्ठरोगी थपिएपछि १४ पुगेको फोकल पर्सन दिपक सापकोटाले जानकारी दिए ।