२०८१ कार्तिक २, शुक्रवार , ११:४५:२६ बजे

Sajhamanch
'

केन्द्रीय सदस्य रानामाथि इलाममा ढुंगामुढा भएकोप्रति एमालेको आपत्ति

बुधवार, जेठ ३, २०८०

झापा । नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा कोशी प्रदेशका पूर्वमन्त्री राम रानाको गाडीमा इलाममा ढुंगामुढा भएको घटनाप्रति एमालेले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पार्टी केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टद्वारा जारी विज्ञप्तिमा रानाको गाडीमा इलामको माङ्सेबुङ गाउँपालिका वडा नम्बर ३ घर्तीदोभान नजिकै ढुंगामुढा भएको उल्लेख छ ।

सो गाउँपालिकामा आयोजित जिल्लास्तरीय विस्तारित बैठकमा सहभागी हुन गएका कोशी प्रदेश संसदीय दलका उपनेतासमेत रहेका केन्द्रीय सदस्य रानामाथि आक्रमण भएको हो । पहिचानवादीका नाममा उच्छृङ्खल समूहले हिंसात्मक गतिविधि गरिरहेको र नेकपा एमालेका नेताहरूलाई निशाना बनाइरहेको घटनाले पार्टीलाई गम्भीर बनाएको विज्ञप्तिमा उल्लेख छ ।

संवैधानिक व्यवस्था, ऐन र कानूनी प्रक्रियाबाट प्रदेशसभाले कोशी प्रदेश नामाकरण गरेकामा असहमत समूहले नामाकरणको विरोधमा हिंसात्मक गतिविधि गरिरहँदा सरकारले त्यस्ता गतिविधि नियन्त्रणमा ध्यान नदिएकोमा पनि एमालेले आपत्ति जनाएको छ ।

घटनामा संलग्नहरूलाई तत्काल पक्राउ गरी कारबाही गर्न र शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन एमालेले माग गरेको छ ।