केही दिन अघि नारी संचार गृहको नयाँ कार्यसमितिलाई आदर्श स्कूल अफ होटल म्याानेजमेन्टबाट खाजाको लागि अफर आएको थियो । अध्यक्ष रेजिना गौतमले सो बारेमा हामीलाई जानकारी गराउँदै सबैजना २ बजे त्यहाँ पुग्ने निधो भयो । सो स्कूलमा मार्केटिङ डिपार्टमेन्टको जिम्मेवारी लिनुभएका पत्रकारहरुका नजिकका साथी दिपक दासको निम्तोलाई अस्वीकार गर्ने कुरा पनि थिएन । पुरानो यातायात कार्यालयदेखि ५०० मिटर दक्षिणमा रहेको उक्त स्कूल प्रायः सबैको पहिलोपटक भएकोले हामी सोध्दै पुग्यौं । एकछिनको गफगाफ पछि सुन्दर, शान्त, आकर्षक र परम्परागत ढंङ्गले सजिएको कोठा अतिथि कक्षतिर हामीलाई लगियो ।
हामी सबै अतिथिकक्षको डाइनिङमा बस्यौं । त्यसपछि आदर्श स्कूल अफ होटल म्याानेजमेन्टका एटेन्डिङ इन्स्ट्रक्टर प्रवेश खनालले भोजन शिष्टचारका बारे केही जानकारी गराउनु भयो । वास्तवमा हामी निम्तो मानेर त्यहाँ पुगेका थियौं तर नयाँ कुरा भोजन शिष्टचारका बारे प्रसंगमात्र चलेन खनाल सरले हामीलाई प्रयोगात्मक तरिकाले सहजीकरण पनि गर्नुभयो ।
डाइनिङ एटिक्युएट अर्थात भोजन शिष्टचार के हो त भन्ने बारेमा म पूरै अनविज्ञ थिएँ । त्यहाँ उपस्थित केही दिदीहरु भोजन शिष्टचारका बारे जानकार हुनुहुँदो रहेछ । तर मेरो लागि चाहिँ यो पहिलो सिकाई थियो । भोजन भन्ने बित्तिकै खाना । अनि खाना खानलाई पनि सिकिरहनु पर्छ र ? यो त सामान्य कुरा हो नि ! बच्चा बाहेक जसलाई पनि आउँछ । हामी प्रायःलाई यही नै सही कुरा होजस्तो लाग्छ । हामी नेपालीहरु कृषिप्रधान देश, मध्यम आयस्तर भएका व्यक्तिहरु बसोबास गर्ने देश । अझै पनि यस्तो समाज छ जहाँ हात धोएर खाना खानुपर्छ भन्ने ज्ञान समेत छैन । यस्तोमा सबैलाई भोजन शिष्टाचार बारे ज्ञान नहुनु कुनै अनौठो कुरा पनि त होइन ।
घरमा वा अफिस पसलमा हुँदा दैनिकजसो गइरहने होटलहरुमा भोजन शिष्टचारको नियम कार्यान्वयन पनि भएको नहुन सक्छ । तर कामको, जागिरको वा कुनै शिलशिलामा कहिले काहीँ हामी स्तरीय होटलमा पुग्छौं, जहाँ डाइनिङ एटिक्युएट पालना गनुपर्ने हुन्छ । यस्तो स्थानमा एटिक्युएट पालना गरिएन भने पक्कै अप्ठ्यारोमा पर्न सकिने हुन्छ । जसले आफ्नो व्यक्तित्वमा पनि असर पर्नेछ । तसर्थ सकेसम्म भोजन शिष्टचारका नियमलाई पालना गर्न सिकेकै राम्रो हुन्छ भन्ने लाग्यो । अनि त मैले पनि भोजन शिष्टाचार सम्बन्धी पहिलो अनुभव तपाई समक्ष सुनाइरहेकी छु ।
डाइनिङ एटिक्युएट फो कोर्ष मेन्यु अन्तरगत राखिँदोरहेछ । फो कोर्षमा चार किसिमका खानेकुराहरु हुँदारहेछन् । पहिलो स्टाटर, दोस्रो सुप, तेस्रोमा मेन कोर्ष र अन्तिममा डिजर्ज सर्भ गरिँदोरहेछ । फो कोर्ष शुरु गर्दा टेबलमा लेआउट राखिएको हुन्छ । टेबलमा सेट गरेर राखिएको काँटा, चम्चा, चक्कुलाई कटलेरी भनिँदो रहेछ र त्यसलाई मिलाएर राख्नुलाई लेआउट भनिँदोरहेछ ।
कटलेरी के कता राखिएको छ, भोजन ग्रहण गर्नेले ध्यान दिएमा भोजन शिष्टाचार पालना गर्न जानेको हुँदोरहेछ । देब्रे साइडमा काँटा, चम्चा सेट गरिएको हुन्छ । चम्चा, चक्कु दायाँ साइडमा सेट हुनेरहेछ । लेआउटमा न्यापकिन यान कि रुमाल पनि राखिँदो रहेछ । रुमाल हात, मुख पुस्न अवश्य चाहिन्छ । कोही कसैले खानेकुरा खानेक्रममा थोरै पोखिन पनि सक्छ । त्यस्तो बेला लुगामा खानेकुरा नझरोस् भनेर न्यापकिन राखेर खान पनि मिल्ने बनाइँदो रहेछ । अनि दुईवटा ग्लास एउटामा पानी र अर्कोमा वाइनको लागि राखिने रहेछ । तर वाइन लिनैपर्छ भन्ने चाहिँ अनिवार्यता रहेनछ ।
खाना खानेक्रममा हात हल्लाएर बोल्दै खाने कसै कसैको बानी हुन्छ । त्यस्तो अवस्थामा कटलेरिजले अरुलाई लाग्न सक्छ । खाँदैगर्दा अरुहरुसँग बोल्न वा फोन चलाउनु राम्रो मानिँदैन रहेछ, यो कुरा पनि जान्न पाइयो । यतिमात्र होइन, खानेकुरा खानेक्रममा दाँतमा केही कुरा अड्कियो भने अरुकै अगाडि तुथपिक प्रयोग गर्नु राम्रो मानिँदैन । यस्तो परिस्थिति बनेमा रुमालले मुखलाई छोपेर मात्र तुथपिक प्रयोग गनुपर्ने नियम पनि शुरुमै बताइएको थियो ।
यसरी सिकाए पछि हामीलाई पनि खानेकुरा सर्भ भयो । प्रयोगात्मक अभ्यासजस्तै लाग्यो । भर्खरै प्रवेश खनाल सरले सिकाएका नियमहरु सकेसम्म पालना गर्दै फो कोर्ष स्टाटरबाट शुरु गरेर अन्तिममा डिजर्ज सर्भ गरियो, हामीले पनि त्यहाँको परिकारको आनन्द लियौं । मिठो खाना पश्चात होटल तालिम दिने स्कूलको किचनमा प्रवेश गर्यौं । उज्यालो, ठूलो र सफा किचन देख्दा हामी दङ्ग परयौं । केही तस्विरहरु खिचेर हामी त्यहाँबाट विदा भयौं ।
यो भोजन शिष्टाचारको कक्षा र प्रयोगात्मक अभ्यासले मलाई निक्कै फाइदा पुगेको अनुभूति गराएको छ । खानेकुराहरु मिठो त छँदैथियो, अझ त्यसलाई विभिन्न रुपमा आकर्षक ढङ्गले सजाएर सर्भ गर्ने सेफको कलालाई सलाम भन्नुपर्छ । दिपक दाइ र अन्य स्टाफको स्वागत वास्तव मै सम्झनलायक रह्यो । मेरो लागि त यो पहिलो अनुभव हो भोजन शिष्टाचारको । हामीले विशेष अवसरमा यसलाई पक्कै अंगिकार गर्नुपर्छ । त्यसैले यसलाई ब्यवसायिक सिपकोरुपमा नभई अप्ठ्यारो नपरोस् भन्ने उद्देश्यले नै सही समय समयमा सामाजिक जिम्मेवारीमा रहेकाहरुलाई सिकाउन आवश्यक सम्झेकी छु । यसतर्फ पत्रकार आवद्ध संघ–संगठनहरु, सामाजिक संस्थाहरु, राजनीतिक संघ–संगठनहरुले ध्यान दिएर तालिम नै दिलाउन उपयुक्त सम्झेकी छु ।
अन्त्यमा, म अघाएँ भन्ने कुरा मेरो मुखले होइन, कटलेरीबाट झल्किन्छ रे ! आफूले खाना खाएको प्लेटमा सिधा पारेर काँटा चम्चा राखियो भने वेटरलाई थाहा हुन्छ कि उहाँ अघाउनु भयो । खाना पछि चम्चाहरु दाहिनेतर्फ फर्काएर राखियो भने कष्टमर सन्तुष्ट रहेको बुझिन्छ रे । अनि खानेकुरा मन परेन भने काँटा र चम्चालाई क्रम गरेर राखिदिने गरिँदोरहेछ । आदर्श स्कूल अफ होटल म्याानेजमेन्टको यो बसाइमा केही कुरा सिकियो पनि । पहिलो पटक थियो, केही अनुभव पनि गरियो । र, काँटा चम्चाहरु दाहिनेतर्फ फर्काएर राखिदिएर टेवलबाट बाहिरिएँ पनि ।