२०८१ असोज ४, शुक्रवार , ०८:४८:४३ बजे

Sajhamanch
'

प्रदेश स्तरीय महिला गोल्डकपको उपाधि सप्तरीको नमोबुद्धलाई

आइतवार, वैशाख १७, २०८०

बिर्तामोड । झापाको बिर्तामोडमा सम्पन्न प्रदेश स्तरीय महिला गोल्डकप फुटबलको उपाधि नमोबुद्ध युवा क्लब सप्तरीले जितेको छ ।

बिर्तामोड–१० सैनिकबजार स्थित महेन्द्र ज्योति माविको मैदानमा शनिबार भएको फाइनल खेलमा आयोजक ‘अल इन वान’ क्लबलाई टाईब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै नमोबुद्ध सप्तरीले उपाधि कब्जा गरेको हो ।

निर्धारित ६० मिनेटमा एक–एक गोलको बराबरीमा खेल सकिएपछि नतिजाका लागि टाईब्रेकर भएको थियो । टाईब्रेकरमा सप्तरीका खेलाडीले गरेको ५ वटा प्रहारमा ४ वटा गोल हुँदा आयोजक ‘अल इन वान’का खेलाडीले गरेको ४ वटा प्रहारमा २ प्रहार मात्रै गोल भएको थियो ।

टाईब्रेकरमा आयोजककी एलक्स चौधरी र छतरीका चौधरीको प्रहार गोल हुँदा लक्ष्मी श्रेष्ठको प्रहरलाई सप्तरीकी गोल रक्षक पूजा रानाले विफल पारेकी थिइन् । त्यस्तै राष्ट्रिय टिमकी सदस्यसमेत रहेकी सबिता राना मगरको प्रहार भने गोल पोष्टमा ठोकिएर फर्किएको थियो ।

सप्तरीका लागि रोशनी क्षेत्रीले गरेको प्रहार आयोजककी गोल रक्षक एलिसा चौधरीले बचाउ गरे पनि टिम कप्तान सुमित्रा तामाङ, कविता श्रेष्ठ, सलिना राना मगर र रस्मि घिसिङको प्रहार भने गोलमा परिणत भएको थियो ।

त्यसअघि आयोजकका लागि मेनुका आलेले ३९औं मिनेटमा खेलको पहिलो गोल गरेकी थिइन् । नमोबुद्ध युवा क्लब सप्तरीकी रजनी थोकरले खेलको ४६औं मिनेटमा गोल फर्काउँदै बराबरीमा ल्याएपछि नतिजाका लागि खेल टाईब्रेकरमा धकेलिएको थियो ।

बिर्तामोडको ‘अल इन वान’ क्लबको आयोजनामा सम्पन्न भएको प्रतियोगिताको विजेता सप्तरीले नगद २ लाख २ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । उपविजेता बनेको आयोजक ‘अल इन वान’ ले १ लाख १ हजार रुपैंयाँ, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।


प्रतियोगितामा राष्ट्रिय महिला फुटबल टोलिकी सदस्यसमेत रहेकी आयोजककी खेलाडी सबिता राना मगरले ‘प्लेयर्स अफ दि टुर्नामेन्ट’ को उपाधि जितिन् । उनले नगद ७ हजार र ट्रफी पुरस्कार पाइन् ।

त्यस्तै प्रतियोगितामा सर्वधिक गोलकर्ता सप्तरीकी रजनी थोकरले ‘हाई स्कोरर’को उपाधि जितिन् । उनले नगद ६ हजार र ट्रफी पुरस्कार पाइन् ।

यस्तै उत्कृष्ट गोल रक्षक सप्तरीकी पूजा थापा, बेस्ट मिडफिल्डर सप्तरीकी रस्मि घिसिङ, बेस्ट डिफेन्स आयोजककी खुस्मा राई र बेस्ट स्टाइकर आयोजककी लक्ष्मी श्रेष्ठ घोषित भइन् । उनीहरुले जनही नगद ५ हजार र ट्रफी पुरस्कार पाए । यस्तै सप्तरीका अरुण राई प्रतियोगिताको बेस्ट कोच घोषित भए । उनले नगद ५ हजार र ट्रफी पुरस्कार पाए ।

प्रतियोगिताका विजेता र उपविजेता लगायतका खेलाडीलाई आयोजक ‘अल इन वान’ क्लबका अध्यक्ष कृष्णबाबु योञ्जन, कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका कार्यकारी वोर्ड सदस्य नन्दा बस्याल, अखिल नेपाल फुटबल एसोसिएसन (एन्फा)का सदस्य सरला श्रेष्ठ, बिर्तामोड १० का वडाध्यक्ष दूर्योधन गुरुङ लगायतले पुरस्कार बितरण गरेका थिए ।

झापा जिल्ला फुटबल संघको प्राविधिक सहयोग संचालन भएको प्रतियोगितामा झापा, इलाम, ताप्लेजुङ, सुनसरी, मोरङ, धनकुटा, उदयपुर र सप्तरीका ८ वटा टिमले सहभागिता जनाएका थिए ।

सम्बन्धित खबर