२०८१ माघ ११, शुक्रवार , ०१:०१:३५ बजे

Sajhamanch
'

गोलधापमा कर्णाली साकोसको स्वास्थ्य शिविर

शुक्रवार, वैशाख १५, २०८०

हल्दिबारी । कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोडको आयोजनामा आज हल्दिबारी गाउँपालिकाको गोलधाप स्वास्थ्य चौकीमा स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सर जाँच सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

विराट मेडिकल कलेज बिराटनगरको प्राविधिक सहयोगमा क्यान्सर रोग सम्बन्धी वरिष्ठ विशेषज्ञ अस्मिता रायमाझीले स्वास्थ्य परीक्षणका लागि शिविरमा आएका महिलाहरुको चेकजाँच तथा परामर्श दिएकी थिइन् ।

सो स्वास्थ्य शिविरमा हाल्दिबारी गाउँपालिका भित्रका १५० भन्दा बढी महिलाहरुले प्रत्यक्ष लाभ लिएका थिए । स्वास्थ्य शिविर सञ्चालनमा गोलधाप स्वास्थ्य चौकीका कर्मचारीहरु पनि सक्रियरुपमा खटेको जनाइएको छ । निःशुल्क स्वास्थ्य शिविर दिउँसो ११ बजे सुरु भई साँझ ६ बजेसम्म सञ्चालन भएको थियो ।

निःशुल्क स्वास्थ्य शिविरको संक्षिप्त उद्घाटन कार्यक्रम संस्थाका सचिव तथा शिक्षा उपसमितिका संयोजक भुपाल बस्नेतको अध्यक्षतामा गरिएको थियो । संस्थाका सञ्चालक समिति अध्यक्ष टसबहादुर श्रेष्ठले ब्यानर वाचन गरी शिविरको उद्घाटन गरेका थिए ।

कार्यक्रममा उपस्थित सम्पूर्णमा संस्थाका कोषाध्यक्ष एकराज विष्टले शाब्दिक स्वागत गरेका थिए । ग्रामीण भेगमा बसोबास गर्ने महिलाको संवेदनशील अंगहरुको निःशुल्क परीक्षण गर्ने स्वास्थ्य शिविरको बेग्लै महत्व रहेको उनको भनाई थियो ।

कार्यक्रमका अध्यक्ष बस्नेतले निःशुल्क स्वास्थ्य शिविरको आवश्यकता एवम् औचित्य माथि प्रकाश पारेका थिए । सो स्वास्थ्य शिविरमा गोलधाप स्वस्थ्य चौकीका प्रमुख यामप्रसाद न्यौपाने, संस्थाका सञ्चालक समिति सदस्य गणेशप्रसाद पराजुली, शिक्षा उपसमिति सदस्य दिलकेशर थापालगायत संस्थाका विभागीय प्रमुख तथा कर्मचारीहरुको सहभागिता थियो ।

सम्बन्धित खबर