२०८१ असोज ४, शुक्रवार , ०७:५९:३८ बजे

Sajhamanch
'

गाईघाट फुटबल क्लब उदयपुर सेमिफाइनलमा प्रवेश

मङ्गलवार, वैशाख १२, २०८०

झापा । कोशी प्रदेश स्तरीय महिला गोल्डकप फुटबल प्रतियोगिता अन्तरगत आज भएको खेलबाट गाईघाट फुटबल क्लब उदयपुर सेमिफाइनलमा प्रवेश गरेको छ ।

झापाको बिर्तामोड–१० सैनिकबजारस्थित महेन्द्र ज्योति माविको मैदानमा भइरहेको प्रतियोगिताको आज सम्पन्न अन्तिम सेमिफाइनल खेलमा धनकुटा फुटबल संघलाई १–० गोल अन्तरले पराजित गदै उदयपुर प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलमा एक मात्रै गोल उदयपुरकी मनिता तामाङले गरिन् । खेलको ४५औं मिनेटमा उनले गरेको गोल नै निर्णायक बन्यो । प्रतिष्पर्धात्मक भएको खेलको पहिलो हाफ गोलविहीन सकिएको थियो । पहिलो हाफमा धनकुटाले उदयपुर विरुद्ध दवाब सिर्जना गरे पनि गोल स्कोर भने गर्न सकेन । दोस्रो हाफको सुरुवाती चरणमा भने उदयपुरले धनकुटा माथि दवाब सिर्जना गरेको थियो ।

१–० गोल अन्तरले पछि परेको धनकुटाले दोस्रो हाफको अन्त्यतिर गोल गर्ने थुप्रै अवसर सिर्जना गरे पनि स्कोर भने गर्न सकेन । आजको खेलमा उदयपुरकी मनिता तामाङ ‘प्लेयर्स अफ दि म्याच’ घोषित भइन् । उनले नगद ३ हजार पुरस्कार पाइन् । यो खेलसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।

उदयपुरले अब दोस्रो सेमिफाइनलमा बिहीबार नमोबुद्ध युवा क्लब सप्तरीसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा भोलि बुधबारबाट सेमिफाइनलका खेलहरु सुरु हुनेछ । पहिलो सेमिफाइनलमा आयोजक अल इन वान र मिक्लाजुङ गाउँपालिका मोरङले फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको फाइनल खेल वैशाख १६ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद २ लाख २ हजार र उपविजेताले १ लाख १ हजार रुपैंयाँ पुरस्कार पाउने प्रतियोगिताका संयोजक कृष्णबाबु योञ्जनले जानकारी दिनुभयो । बिर्तामोड– १० को ‘अल इन वान’ क्लबलको आयोजनामा जारी प्रतियोगितामा झापा जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहेको छ ।

सम्बन्धित खबर