जन्म पछि मृत्यु निश्चित छ । त्यही बीचको समयमा हामी संघर्ष गरेर आफ्नो जीवनयापन गरिरहेका हुन्छौँ । बाल्यवस्था, यौवनवस्था, वृद्धवस्था मुख्यतया हामीले यी तीन अवस्थालाई पार गरे पश्चात हाम्रो मानव जीवनले विराम लिन्छ । बाल्यवस्था हाम्रो रमाइलो अनि आन्नदसँग बित्छ । साथीहरुसँग खेलेर, हाँसेर, सबैले माया गर्ने, कुनै कुराको तनाव नहुने, खाने, खेल्ने, सामान्य पढाई गर्दै यो अवस्थालाई पार गर्छौ । तर, जब हामी यौैवनवस्थामा प्रवेश गर्छौ तब हामीलाई अलि जिम्मेवारी थपिएजस्तो अनुभव हुन्छ । विभिन्न कुराहरुको महसुस हुन थाल्छ । साथै हाम्रो शारीरिक बनावटमा पनि परिर्वतन आउँछ ।
यौवनवस्था एउटा यस्तो अवस्था हो, जसमा हामीले ठिक बेठिक छुट्याउन सक्दैनौ । जसले जे भने पनि ठिकै हो जस्तो लाग्ने । आफ्नो निर्णय लिन नसक्ने, अरुको लहैलहैमा लाग्ने, परिवारका सदस्यहरुले भनेको नसुन्ने, धेरै रिस उठ्ने उमेर हो । यो अवस्थामा लिएको कतिपय निर्णयले हाम्रो जीवनमा सकारात्मक परिवर्तन ल्याइदिन्छ भने कतिपयले नकारात्मक परिणाम ।
हरेक कुराको निर्णय लिँदा आफूभन्दा ठूलासँग छलफल गरेर, सोचेर, बुझेर मात्र लिनुपर्ने हुन्छ । विपरीत लिङ्गीप्रति आकर्षित हुने, गलत कुरालाई पनि सही हो जस्तो लाग्ने, एकान्तमा बस्न रुचाउने, अरुको अगाडि राम्रो देखिन मन लाग्ने, आदि यो अवस्थाका सामान्य लक्षणहरु हुन । यौवनवस्थामा हामीले आफूलाई नियन्त्रण गर्न नसकेमा भविष्यमा पछुताउनु पर्नेहुन्छ । हरेक अभिभावकले आफ्ना यौवनवस्थामा प्रवेश गर्दै गरेका नानीबाबुहरुको व्यवहारमा ध्यान दिन अत्यन्तै आवश्यक छ ।
आफ्नो माध्यमिक तहको पढाई सकिएसँगै यो अवस्थाको बालबालिकाहरुमा अब के गर्ने, कुन विषय पढ्ने, नेपालमा बसेर जागिर खाने कि, विदेश जाने हो ? साथीहरु पनि विदेश जाने भन्दैछन्, त्यतै जानुपर्ला । देश पनि हेरिने मुख पनि फेरिने भन्नेजस्ता कुराहरु मनमा खेल्छन् । कसैले यो पढ भन्ने, कसैले होइन विदेश जाउ, अनि कसैले लोकसेवाको तयारी गर्, यस प्रकारको सल्लाह सुझाव दिने धेरै हुन्छन् ।
उनीहरुलाई के गर्ने भन्ने कुराको निर्णय लिन भने गाह्रो पर्छ । साथै उनीहरुमा विभिन्न किसिमका लक्ष्य तथा चाहनाहरु हुन्छन् । जुन भनेको समयमा पूरा नभए रिसाउने, धम्क्याउने, ढोका थुनेर बस्ने, कसैसँग नबोल्ने आदि जस्ता व्यवहारहरु देखाउने गर्दछन् । तसर्थ, अभिभावक आफैं चनाखो भएर उनीहरुको व्यवहार र मनोभावनालाई बुझेर के गर्दा ठिक हुन्छ त्यही अनुरुपको सल्लाह दिनुपर्छ ।
उमेरसँगै आफ्नो लक्ष्य तथा उद्देश्यहरु पनि परिर्वतन हुँदै जान्छन् । बाल्यअवस्थाका हाम्रा चाहानाहरु युवा अवस्थासम्म आइपुग्दा कति पूरा हुन्छन् त कति बिलाएर जान्छन् । बढ्दो उमेर अनि अनगिन्ति सपनाहरु, केही गर्नुपर्छ भन्ने विचार । तर के गर्ने भन्ने टुङ्गो नलागेको अवस्था, अस्थिर मन, चन्चलेपन, तनाव, रिस, मायाप्रेम यो अवस्थाका विशेषताहरु हुन् । सही सल्लाह सुझाव नपाएमा आफ्नो भविष्य नै बिग्रन्छ भन्ने डर सबैलाई हुन्छ । अनावश्यक कसैको पनि कुराहरु नसुनी आफ्नो मनको भावना परिवारमा बताएर आफ्नो लक्ष्य तथा उद्देश्यमा मात्र केन्द्रित भई लाग्ने हो भने हामीले वर्तमानमा बुनेका मिठा सपनाहरु पूरा हुनलाई समय लाग्दैन र वृद्धअवस्थामा पछुताएर बस्न पर्दैन ।
नेपालीमा एउटा भनाई नै छ, वृद्धअवस्था हुँदै गएपछि केटाकेटीको जस्तो स्वभाव हुन्छ । सानो सानो कुरामा पनि रिस उठ्ने, झन्झट लाग्ने, कुरा नबुझ्ने, एक्लोपनको महसुस हुने । यही विभिन्न कारणहरुले गर्दा कतिपय परिवारमा कलहको स्थितिसमेत आउँछ । तसर्थ परिवारका अन्य सदस्यहरुले वृद्धअवस्था भएका आमाबुवाको भावनालाई बुझ्दै परिवारमा शान्त वातावरणको सिर्जना गर्नुपर्छ ।
जसका लागि आफ्नो अलिकति समय निकालेर उहाँहरुसँगै बस्ने, कुरा सुन्ने, सन्चो बिसन्चो सोध्ने आदि गर्नुपर्छ । कतिपय कुराहरु यस्तो हुन्छन् कि हामीसँग त्यस्को जवाफ नै हुँदैन अनि त्यहीँबाट झगडाको माहोल बनिदिन्छ । त्यस्तो अवस्थामा स–साना कुराहरुको वास्ता नगर्ने, ठिकै हो जस्तो गरिदिने, केही समयपछि उहाँहरु आफैैं ठिक हुनुहुनेछ भन्ने सोचेर आफ्नो कामतर्फ लाग्ने । हरेक समस्याहरुको समाधान पनि हुन्छन् । हामीले कुनैपनि काम गर्दा होसियारीका साथ सोचेर, बुझेर गरियो भने सफलता पक्कै पनि हात पार्छौं ।