झापा । अखिल नेपाल किसान महासंघको सातौं राष्ट्रिय महासम्मेलनबाट अध्यक्षमा पुनः डा. प्रेम दंगाल निर्वाचित भएका छन् । महासम्मेलनको दमकस्थित दाहाल प्रतिष्ठानमा सम्पन्न बन्दशत्रले संघको राष्ट्रिय समिति अध्यक्षमा पुनः डा. दंगाललाई अध्यक्षमा सर्वसम्मच चयन गरेको हो ।
महासंघको उपाध्यक्षमा झापाका बेनुप्रसाद शिवाकोटी दोश्रो कार्यकालका लागि पुनः निर्वाचित भएका छन् । यस्तै अन्य उपाध्यक्षहरुमा राजकुमार उप्रेती, सूर्यबहादुर शाही, खड्गबहादुर खड्का र रामशरण आले सर्वसम्मत निर्वाचित भएका जनाइएको छ । महासंघको महासचिवमा बाबुराम थापा निर्वाचित भएका छन् भने सचिवमा झापाकै विश्व बराल निर्वाचित भएका छन् ।
चैत ३० गते कमल गाउँपालिका ५ स्थित आदिवासी रंगशालामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महासम्मेलनको उद्घाटन गरेका थिए । दमकमा सम्पन्न बन्दशत्रले अध्यक्षको प्रतिवेदनसहित संगठनको विधान पारित गरेको छ ।
महासंघको नयाँ कार्यसमितिको पहिलो बैठक वैशाख १६ गते काठमाडौमा बस्ने निर्णय भएको नवनिर्वाचित उपाध्यक्ष शिवाकोटीले जानकारी दिएका छन् ।