२०८१ माघ १४, सोमवार , ०८:०८:११ बजे

Sajhamanch
'

‘हात्तीलाई लखेट्ने होइन, संरक्षण गर्नुपर्छ’

बिहिवार, चैत ३०, २०७९

मेचीनगर । भारतका पर्यटन अभियन्ता सुप्रितम राजवशुले मानव जाति जतिसुकै विकसित छु भने पनि चेतनामा कमी आउँदै गएको जिकिर गरेका छन् ।

बुधबार ग्रिन जेनेरेशन झापाले मेचीनगर–४ स्थित हात्ती रिसोर्टमा आयोजना गरेको मानव र हात्तीबीचको सहअस्तित्व सम्बन्धी तीन दिने तालिम उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि राजवशुले यस्तो बताएका हुन् ।

‘दुनियाँ मानवका लागि मात्र हो’ अभियन्ता राजवशुले प्रश्न गर्दै भने– ‘प्रकृति र जीव जन्तुको चाहिँ यहाँ केही अस्तित्व छैन ? लोभी पापीका कारण मानवले प्रकृति र जीवजन्तुलाई क्षति पुर्याइरहेको छ । प्राचिनकालदेखि हात्तीलाई मानवले गरेको सम्मान हराउँदै गएको छ ।’

कार्यक्रममा उज्यालो नेपालका अध्यक्ष एवम् वर्दिया निकुन्जका पूर्व वाडेन रमेश थापा, दि काठमाडौँ पोष्टका पूर्व सम्पादक अखिलेश उपाध्याय, मानवअधिकार पत्रकार मञ्चका अध्यक्ष घनश्याम खड्का, नेकपा एमाले मेचीनगर–४ का अध्यक्ष तीर्थराज नेपाल, माओवादी केन्द्रका जिल्ला सदस्य मेघराज खड्का, समाजसेवी सागर शिवाकोटी, सशस्त्र प्रहरी काँकरभिट्टा वीओपीका प्रमुख डीएसपी निर्मल थापा लगायतले मानव र हात्तीबीचको द्वन्द, समस्या र समाधानका विषयमा चर्चा गरेका थिए ।

शुक्रबारसम्म चल्ने तालिमको सहजिकरण उज्यालो नेपालका अध्यक्ष थापा लगायतले गरिरहकेका छन् । तालिमको सहआयोजकका रुपमा विश्व वन्यजन्तु कोष नेपाल (डब्लुडब्लुएफ) रहेको छ ।

ग्रिन जेनेरेशन झापाका अध्यक्ष समिर राईको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको स्वागत मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले र सञ्चालन सचिव मञ्जील देवानले गरेका थिए ।

‘पहिला बुढापाकाको पालामा हात्तीलाई जाउ गणेश जाउ भनेर पुजा गर्थे’, वडाध्यक्ष कार्कीले भने– ‘अब हामीले आउ गाणेश आउ भन्छौँ ।’ सीमा क्षेत्रमा दुवै देशको सहकार्यमा मेचीखोलाको बाँधमा ग्रिनवेल्ट, हात्तीलाई चाहिने आहारको व्यवस्था छ, हात्ती देखाउन पर्यटक भित्राउने र बाँझो रहेको २०० विगाह जग्गामा किसानहरुले माछा पालन गर्ने योजना रहेको वडाध्यक्ष कार्कीले बताए ।

सम्बन्धित खबर