झापा । नेपालको पूर्वी प्रवेशद्वार झापाको काँकडभिट्टाबाट कोभिड–१९ का सङ्क्रमित भित्रिन नदिन उच्च सतर्कता अपनाउन थालिएको छ । भारत लगायत तेस्रो मुलुकबाट नेपाल प्रवेश गर्ने विदेशी नागरिकलाई स्वास्थ्य परीक्षण अनिवार्य गरिएको छ ।
भारतीय भूमिमा एक साताभन्दा बढी समय बसेर नेपाल फर्किने खोप कार्ड नभएका नेपाली नागरिकको समेत स्वाब परीक्षण अनिवार्य गरिएको हेल्थ डेस्कका ल्याब असिस्टेन्ट रक्षा देउजाले बताउँछिन् ।
उनका अनुसार हेल्थ डेस्कले विगतदेखि नियमित निगरानी गर्दै आएको भए पनि भारत र नेपालमा कोभिड–१९ को नयाँ भेरियन्टका सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्न थालेपछि नाकामा सतर्कता उच्च बनाइएको हो ।
नेपाल प्रवेश गर्ने विदेशी नागरिकको स्वाब परीक्षण र सबै आगन्तुकको सोधपुछ अनिवार्य गरिएको उनले जानकारी दिएकी छन् । चैत महिनामा यो नाकामा गरिएको स्वाब परीक्षणबाट कसैलाई पनि कोभिड–१९ को सङ्क्रमण भने देखिएको छैन ।
दुई वर्षअघि स्थापना गरिएको हेल्थ डेस्कमा सात जना कर्मचारी कार्यरत छन् । दैनिक १०० भन्दा बढीको स्वाब परीक्षण भइरहेको उनले जानकारी दिए ।
दुई महिनाभन्दा बढी भारतमा काम गरेर फर्किएका नेपाली, नेपालका उद्योगमा काम गर्न आउने भारतीय नागरिक र तेस्रो मुलुकबाट नेपाल प्रवेश गर्ने पर्यटकलाई प्राथमिकतामा राखेर दैनिक स्वाब जाँच गरिरहेको ल्याब असिस्टेन्ट देउजा बताउँछिन् ।
भारतमा कोभिड सङ्क्रमण बढेसँगै यहाँ पनि जाँचलाई तीव्र बनाइएको छ । नाकामा कोभिड परीक्षणको चाप बढ्दै गएकाले कर्मचारी अभाव हुने देखिएको छ ।
सीमामा स्वास्थ्य जाँचका लागि कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयबाट एक जना, मेचीनगर नगरपालिकाबाट चार र स्वास्थ्य कार्यालयबाट दुई जना गरी हाल सात कर्मचारीले सेवा दिइरहेका छन् ।