भद्रपुर । चन्द्रगढी खानेपानी तथा सरसफाई उपभोक्ता समिति भद्रपुर १० को २० औ वार्षिक साधारणसभा शनिबार सम्पन्न गरिएको छ ।
साविकको चन्द्रगढीमा रहेर भद्रपुर नगर क्षेत्रकै सर्वाधिक उपभोक्तालाई पिउने पानी वितरण गरिरहेको समितिले परिषद भेला मार्फत वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
भद्रपुर नगर उपप्रमुख राधा कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभामा समितिका अध्यक्ष पुरुषोत्तम अधिकारीले संस्थाको आगामी वर्षको नीति तथा कार्यक्रमसहित वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८÷०७९ को असार मसान्तसम्ममा २ करोड ५८ लाख ९८ हजार ३९४ रुपैयाँ आम्दानी तथा १ करोड ५९ लाख ५ हजार ३३९ रुपैयाँ खर्च उल्लेख छ ।
अध्यक्ष अधिकारीले निर्माणाधिन सडक विस्तारका क्रममा समितिको क्षेत्रभित्र पाइप लाइनमा क्षति हुनेक्रम नरोकिएका कारण उपभोक्तालाई शुद्ध पिउने पानी वितरणमा समस्या परिरहेको पनि उल्लेख गरेका छन् ।
सभामा भद्रपुर नगरपालिका वडा नम्वर २ का अध्यक्ष रामबहादुर कँडेल, ७ का वडाध्यक्ष अभिषेक ढुंगाना, १० का वडाध्यक्ष टेकबहादुर खड्का, नेपाली काँग्रेसका नेता देवेन्द्र ढुंगाना, नेकपा एमालेका नेता असारु राजवंशी, पूर्व अध्यक्ष अम्वरबहादुर कार्की लगायतले कार्यक्रममा मन्तव्य राख्दै शुद्घ खानेपानी वितरणमा समितिका प्रयासलाई निरन्तर सहयोगको प्रतिवद्धता जनाएका थिए ।