२०८१ मंसिर ८, शनिवार , ११:४३:३७ बजे

Sajhamanch
'

रातभरि मोवाइल खेल्ने, दिनभरि स्कूलमा सुत्ने, शिक्षकलाई तनाव

शुक्रवार, चैत २४, २०७९

झापाका १५० वटा विद्यालयका बालकक्षामा अध्ययनरत बालबालिकाका अभिभावकहरुलाई केही समय अगाडि अभिभावक शिक्षा दिइएको थियो । कचनकबल गाउँपालिकाको एउटा विद्यालयमा केही समय अघि म यसैको अनुगमनमा पुगेकी थिएँ । सो विद्यालयका अभिभावक शिक्षा के कस्तो हुँदैछ भनेर अनुगमन गर्नु मेरो जिम्मेवारी थियो ।

त्यतिखेर अर्को विद्यालय जानुपर्ने थियो तर बाटोमा पर्ने सुशिला म्यामले पढाउने विद्यालय परेकोले एकछिन बस्न चाहेँ । फेरि व्यक्तिगत रुपमा पनि राम्रो चिनजान भएर होला विद्यालयमा नै एकछिन बस्नोेस् भन्ने म्यामको आग्रहलाई मैले पनि नकार्न सकिन ।

विद्यालय सम्बन्धी नै गफ गर्दै हामी विद्यालयतर्फ लाग्यौ । किन विद्यालयमा निकै चहलपल छ त ? मैले सोधें ।

‘मैले आज अभिभावकहरु बोलाएकी छु’– म्यामको जवाफ ।

‘आज त अभिभावक शिक्षा होइन त ! किन बोलाउनु भएको म्याम ?
‘के भन्नु र म्याम म त छक्क परिरहेकी छु । मेरो कक्षाको एउटा बच्चा चार पाँच दिन भयो । कक्षामा ल्याएदेखि सुतेको सुतै गर्छ, बिहानदेखि बेलुकासम्म नै’ उहाँको अत्यासलाग्दो प्रतिउत्तर ।

‘त्यस्तो पनि हुन्छ र ? एकछिन त उठ्छ होला नि !’ फेरि मेरो जिज्ञासु प्रश्नमा उहाँले भन्नुभयो ‘एकछिन त उठ्छ तर सुतिहाल्छ ।’

‘खान उठाउँदा उठ्दैन, अरु बच्चासरह खेल्दैन पनि । कतिपटक उठाउँछु फेरि सुतिहाल्ने । आज मात्रै होला कि भन्यो, भोलि मात्रै होला भन्दाभन्दै तीन चार दिन बित्यो, कस्तो डर लागिरहेको छ । सन्चो भएन कि भनेर बोलाएको नि उसको परिवारबाट’ म्यामको लामो उत्तर ।

को आउनु भएको छ त ? बाबा कि आमा मैले सोधे ।

सञ्जु सिवाकोटी

म्यामले भन्नुभयो– होइन, हजुरबुवा चाहिँ आउनु भएको छ । आमा बाबाले भन्दा हजुरबुवा हजुरआमाले नानीको नै ख्याल गर्नु हुन्छ । बिहान ल्याउने र बेल्का लैजाने पनि उहाँले गर्नुहुन्छ । अनि अभिभावक शिक्षा कार्यक्रममा पनि उहाँ नै हो आउने ।

‘अनि के भन्नु भयो त हजुरबुवाले हस्पिटल लगेको हो कि होइन ?’ एकै सासमा मैले म्यामलाई सोधें ।

उहाँले बेलिविस्तार लगाउनु भयो, ‘के को हस्पिटल नि ! म्याम बुवाआमा दिनभर काम गर्न जाने र अनि बेलुका आउँदा रहेछन्, दुवैजना फुर्सदमा मोवाइल हेरेर बिताउँदा रहेछन् । मोवाइल हेर्न थालेपछि एक्कैछिन भन्दाभन्दै समय बितेको पत्तो हुँदैन रहेछ । नानी पनि रातभर मोवाइल हेरेको हेरै बिहान उज्यालो नै पार्दोरहेछ । नानी हेर्न हजुरबुवा हजुरआमा छँदैछन् भन्दै बावुआमाले नानीको वस्ता गरेनछन् । उता हजुरबुवा आमा पनि बुबाआमाले सम्हाल्छन् भन्ने पर्दोरहेछ । सुते नसुतेको कसैले ख्याल नगर्दा यस्तो भएको रहेछ ।’

घरमा रातभरि मोवाइल हेर्ने अनि विद्यालयमा आएर सुत्ने गर्दाेरहेछ नानी । म चाहिँ के भयो, बिरामी भयो कि भनेर पिर गर्ने उसलाई चाहिँ मोवाइलले पो बिरामी पारेको रहेछ । रातभर मोवाइल हेरेपछि दिउँसोभरि सुत्ने त भइगयो नि । हामी त हेर्न थालेपछि समय गएको पत्तो पाउँदैनौं, बच्चाको त कुरा छाडौं न ।

मैले पनि उक्त बाबुलाई नजिकै गएर हेरेँ । बच्चा त एकोहोरिए जस्तो भएको । अरु नानी बाबुहरु जस्तो बेल्दै नबोल्ने । कसैले नाम सोधे भने आफूले नभनेर साथीले भनिदिनु पर्ने अवस्था भएको रहेछ । अलि अल्छि, बोधो खालको भएको रहेछ ।

मोवाइलप्रतिको क्रेज केटाकेटीमा मात्र होइन ठूलामा पनि उत्तिकै छ भन्ने त थाहा भएकै कुरा हो । तर बच्चा कक्षामा गएर दिनभरि सुतेकै चाहिँ सुनेको थिइए । त्यो सानो बच्चा भर्खर इसिडिमा आउँदैछ । उसको उमेर खेल्ने हो, उफ्रने हो, दौडने होे, लड्ने हो, नाँच्ने गाउँने हो । खेल, गीत, कथा, कविता, अभिनय र भाषाका माध्यमबाट सिक्ने अति नै संवेदनशील उमेर हो । जुन उमेरमा उ अर्को संसार अर्थात मोवाइलको संसारमा रमाइरहेको छ । अहिलेको बच्चाहरु खेलमा रमाउन छाडिसके । किताब हेर्ने छाडिसके । किताबप्रतिको लगाव पनि त दिनदिनै घट्दैछ ।
विद्यालयबाट पनि कतिखेर घर पुगेर मोवाइल हेर्ने त्यही नै उसको ध्यान हुन्छ ।

अनि सम्झेँ, छरछिमेकमा भएका साना नानीहरु जसलाई खाना खुवाउनको लागि मोवाइल नै चाहिन्छ । छेउमै गएर बोलाउँदा पनि सुन्दैनन्, हातले नै घच्घचायाउनु पर्छ । बिस मिनेटमा खाइसक्ने खाना मोवाइल हेर्दै खाँदा एक घण्टाभन्दा बढी लगाइदिन्छ । रुन्छ फकाउनको लागि मोवाइल नै चाहिन्छ । मोवाइल दिएपछि रुन पनि छाड्छ । यो आजका बालबालिकाको बानी नै बनेको छ ।

मेरो एकजना दिदीले क्या मख्ख पर्दै भन्नुभयो, ‘हेर न बहिनी, मलाई त मोवाइलमा के कता छ ? कता के के हो केही आउँदैन । तर मेरो छोराले त सबै जान्दछ । यत्रोे यत्रो सानो छ । के भन्नु र ! अहिलेका केटाकटी कति बाठा हुन्, छोरी उस्तै छे । टिकटक त मैलेभन्दा पनि राम्रो बनाउँछे ।’

बाल्यवस्थाको यो महत्वपूण उमेर जुन उमेर कहिले फर्केर आउनेवाला छैन । यो सुन्दर पल र मिठो छाप मोवाइले लुटिरहेको र खोसिरहेको छ भन्ने कुरालाई ती दिदीजस्तै हजारौं बुवाआमा र लाखौं अभिभावकले भुलिरहेका छौं । अनि छोराछोरीले सानैदेखि टिकटक बनाउन जान्यो भनेर मख्ख पनि परिरहेका छौं ।

भर्खरैको कुरा, मेरो छिमेकमा एकजना दिदीको बच्चा त्यस्तै जतिखेर पनि मोवाइलमा झुम्मिने गथ्र्यो । परीक्षा नजिक आइसकेको थियो तर पनि उसले पढ्न मनै नगरेपछि इन्टरनेट डिस्कनेक्ट गर्नुपरेको सुनाउनु हुन्छ । अहिले भन्नुहुन्छ, ‘बहिनी अहिले अलि ढुक्क छ, स्कूलबाट आएर लुगा फेरिसकेपछि खाजा खाएर मामु म एकछिन खेल्न जान्छु ल भन्छ र साथीहरुसँग निस्कन्छ । खुसी पो लाग्दो रहेछ मोवाइलमा झुम्मिनुभन्दा बाहिरफेर खेल्न जान्छु भन्दा त ! अहिले आँखा दुख्यो पनि भन्दैन । उहाँले हालसालै आफ्नो अनुभव मसँग सेयर गर्नुभयो ।

साँच्चै, अब हामी अभिभावकले पनि अलि सजक पो हुने हो कि ! मोवाइल वा भनौं न सामाजिक सञ्जालमा कति समय बस्ने ? आफैंले समय निर्धारण गर्ने पो हो कि ! सानैबाट नानीहरुको अगाडि मोवाइल नहेरी उनीहरुसँगै अरु क्रियाकलापमा रमाउने, खेल्ने पो हो कि ! किताबप्रतिको लगाब बढाउन बच्चा उमेरबाट नै मोवाइलको सट्टा किताब, पत्रपत्रिका, फुटबल, भलिबल, गितार, गुडिया वा अन्य खेल सामग्री दिएर पो लतबाट छुट्कारा दिलाउने हो कि ! अभिभावकले चाह्यो भने गर्न नसकिने कुरा छैन । तपाईंको काममा अवरोध हुने सोचेर वा गनगन गरेर आफ्ना बाबु नानीहरुलाई मोवाइलमा रमाउन दिएर तपाईं अभिभावकहरु आफ्नो काममा लाग्नुभयो भने त्योभन्दा ठूलो कमजोरी केही हुनेवाला छैन । होसियार हुनुस् है, बाबु नानीहरुलाई धेरै मोवाइलमा छाडिदिनु भयो भने पछि अटिजमको सिकार पनि हुनसक्लान् नि !

सम्बन्धित खबर