२०८१ माघ ३, बिहिवार , ०३:३२:२६ बजे

Sajhamanch
'

बालबालिकामा पोषण बृद्धि सम्बन्धी नगरपालिकामा छलफल

आइतवार, चैत १९, २०७९

बिर्तामोड । नगरस्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक तथा अभिमुखिकरण कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

आधारभूत पोषण तथा बहुक्षेत्रीय पोषण योजनाका प्रदेश संयोजक संजीव लामा घिसिङले नेपालमा ५ वर्ष मुनिका बालबालिकाहरुमा कुपोषण धेरै भएको बताए । उनले २५ प्रतिशत पुड्कोपन, ८ प्रतिशत ख्याउटेपन र १९ प्रतिशत बलबालिका कम तौलका रहेको सो कार्यक्रममा सहभागीहरुलाई जानकारी दिए । तथ्याङ्क अनुसार कोशी प्रदेशमा ५ वर्ष मुनिका २० प्रतिशत बालबालिकामा पुड्कोपन, १३ प्रतिशत कम तौलका र ४ प्रतिशत ख्याउटेपनबाट ग्रसित भएको जनाइएको छ।

प्रदेश संयोजक घिसिङले सो तथ्याङ्कले बालबालिकाहरु धेरै कुपोषित भएको र यसलाई निराकरण गर्नको लागि पोषणको एकीकृत कार्यक्रम कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । उनले विगतका वर्षहरुमा स्वास्थ्य क्षेत्रले मात्र पोषणका कार्यक्रम कार्यान्वयन गरेको र अरु विषयगत शाखाहरुबाट खासै कार्यान्वयन नभएकोले अब सबै क्षेत्रहरुलाई एकैठाउँमा ल्याएर एकीकृत कार्यक्रमको कार्ययोजना बनाइ प्रभावकारी ढंगले कार्यक्रमहरु गर्ने भन्ने रणनीति लिएको बताए ।

कृषि, पशुपंछी, शिक्षा, खानेपानी, महिला तथा बालबालिका आदिसंग सम्बन्धित क्रियाकलापहरु सँगसँगै पोषणको एकीकृत कार्यक्रम कार्यान्वयन गर्ने उद्देश्यका साथ योजना आएको उनको भनाई छ । यस कार्यक्रमले बालबालिका लगायत किशोरी तथा महिलाहरुको पोषणको अवस्थामा समेत सुधार ल्याउने उनले बताए ।

कार्यक्रममा बोल्दै नगरप्रमुख प्रसाईले पोषण सामान्य लागेपनि महत्वपूर्ण विषय भएको बताइन् । उनले कुपोषित भएको बच्चाको शारीरिक तथा मानसिक विकास हुन नसक्ने भएकोले पोषकतत्वमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याइन् । राम्रो समाज निर्माणका लागि राम्रो जनशक्ति आवश्यक हुने भन्दै नगरप्रमुख प्रसाईंले बच्चाहरुलाई आमाको गर्भमा हुँदा देखिनै कुपोषित हुनबाट बचाउनु पर्ने धारणा राखेकी थिइन् ।

नगर स्वास्थ्य शाखाले आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा पोषण तथा बहुक्षेत्रीय पोषण योजनाका प्रदेश संयोजक संजीव लामा घिसिङ र नगरपालिकाका वरिष्ठ योजना अधिकृत जय तिम्सिनाले सहजीकरण गरेका थिए ।

सम्बन्धित खबर