२०८१ माघ २, बुधवार , ०८:२५:३४ बजे

Sajhamanch
'

२०७९ को एसईई परीक्षामा झापाका १५ हजार ८५८ परीक्षार्थी सहभागी

शनिवार, चैत १८, २०७९

झापा । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ का लागि झापाका १५ हजार ८५८ परीक्षार्थी सहभागी भएका छन् ।

शिक्षा समन्वय इकाई झापाको विवरण अनुसार झापामा १२६ सामुदायिक र २३९ संस्थागत विद्यालयका विद्यार्थी एसईईमा सहभागी भएका हुन् । एसईई परीक्षाका लागि झापामा ५६ वटा परीक्षाकेन्द्र रहेका छन् ।

सामुदायिक विद्यालयतर्फ १२७ वटा र सस्थागततर्फ २३९ गरी जम्मा ३६६ वटा विद्यालयका विद्यार्थी परीक्षामा समावेश छन् । परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन ५६ वटा परीक्षा केन्द्र तोकिएको छ ।

जसमा केन्द्राध्यक्ष ५६ जना, सहायक केन्द्राध्यक्ष १०४ जना, निरीक्षक ७९७ जना, परीक्षा सहायक १५८ जना र कार्यालय सहयोगी ३१७ जना खटाइएकोे जिल्ला शिक्षा समन्वय इकाई प्रमुख राजकुमार विश्वकर्माले बताएका छन् ।

झापामा नियमिततर्फ ७ हजार ६७२ छात्रा ७ हजार ५४ छात्र गरी १४ हजार ७२६ परीक्षार्थी एसईईमा सहभागी भएका छन् । परीक्षार्थीलाई तीनवटा धारमा विभाजन गरेर परीक्षामा सामेल गराइएको शिक्षा समन्वय इकाई प्रमुख विश्वकर्माको भनाई छ । उनका अनुसार नियमित, प्राविधिक र ग्रेडबृद्धि गरी परीक्षार्थीलाई तीन धारमा विभाजन गरिएको छ ।

चैत २९ गतेसम्म चल्ने यस वर्षको एसईई परीक्षामा देशभर करिब ५ लाख परीक्षार्थी सहभागी छन् । परीक्षा नियन्त्रण कार्यालयको विवरण अनुसार करिब २ लाख ६० हजार छात्र र करिब २ लाख ५५ हजार छात्राले एसईई परीक्षा दिँदैछन् ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार यसवर्ष जापानबाट पनि १४ परीक्षार्थीहरु एसईईमा सहभागी भएका छन् । वैदेशिक रोजगारीमा रहेका नेपालीका छोराछोरीहरुले जापानबाटै परीक्षा दिने व्यवस्था मिलाइएको हो । जापान सरकारको अनुमति लिएर नेपाली पाठ्यक्रम पढाइरहेका विद्यालयका विद्यार्थीहरु एसईईमा सहभागी भएका जनाइएको छ ।

एसईई परीक्षाका लागि ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा बढी परीक्षा केन्द्र बागमती प्रदेशमा छन् । बागमती प्रदेशका १ लाख ६ हजार ९५९ परीक्षार्थीका लागि ४३४ परीक्षा केन्द्र तोकिएको छ ।

सबैभन्दा कम परीक्षार्थी र परीक्षा केन्द्र कर्णाली प्रदेशमा छन् । कर्णालीमा ४१ हजार ३२९ परीक्षार्थी र १७९ परीक्षा केन्द्र छन् ।

सम्बन्धित खबर