२०८१ पौष ७, आइतवार , ०८:५२:५५ बजे

Sajhamanch
'

पहिचानवादीद्वारा पालिका र वडाहरुमा तालावन्दी

शनिवार, चैत १८, २०७९

झापा । कोशी प्रदेश नामकरणको विरोध जनाउँदै आन्दोलनमा उत्रिएका पहिचानवादीहरुले शुक्रबार झापाको कमल गाउँपालिका, मेचीनगर नगरपालिका, बिर्तामोड नगरपालिका कार्यालय तथा केही वडाहरुमा तालाबन्दी गरेका छन् ।

प्रदेश १ को पुनः नामाङ्कन संयुक्त संघर्ष समितिको आव्हानमा उनीहरुले घोषित आन्दोलनको कार्यक्रम अनुसार पालिकाको कार्यालयमा तालावन्दी गर्नुका साथै कोशी लेखिएका कार्यालयका कागजातहरु जलाएका छन् ।

विभिन्न ठाउँबाट सहभागी भएका आन्दोलनकारीहरुको समूहले चर्का नाराजुलुस गरी कार्यालयको गेट गेटमा कालोझण्डा गाड्नुका साथै तालावन्दी गरेका हुन् । तालाबन्दी गर्न पहिचानवादी नेता प्रेमदिप थाम्सुहाङ, जसपा झापाका अध्यक्ष दिपेनवाला राई लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति थियो । आन्दोलनकारीले पालिकाका सबै कर्मचारीलाई बाहिर निकालेर तालाबन्दी गरेको बताइएको छ ।

कमल गाउँपालिकामा तालावन्दीका क्रममा केहीबेर प्रहरी र आन्दोलनकारीबीच ठेलमठेल भएको थियो । तालाबन्दी पछि पालिकासहित वडा कार्यालयका दैनिक कामकाज प्रभावित हुने आशंका गरिएको छ ।

गत फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम कोशी राखेसँगै राजनीतिक दलसँगै पहिचानवादीहरु आन्दोलित छन् । चैत ५ गते प्रदेशस्तरीय विरोधभामा विराटनगरमा सहभागी एक आन्दोलनकारी घाइते भएको र उनको चैत १० गते उपचारकै क्रममा निधन भएको घटना पछि पहिचानवादीहरु झन् आक्रोशित बनेका छन् ।

पहिचानवादीहरुले बिर्तामोड नगरपालिका कार्यालय र ३ नं. वडा कार्यालयमा पनि तालाबन्दी गरेका छन् ।

शुक्रबार पहिचानवादी संघर्ष समितिले मेचीनगर कार्यपालिकाको कार्यालयमा पनि तालाबन्दी गरेका छन् । उनीहरुले प्रदेशको नामको बिरोध गर्दै ताला लगाएका हुन् ।


प्रदेशको नाम कोशी राख्दा पहिचान नसमेटिएको भन्दै उनीहरुले मेचीनगर नगरपालिका कार्यालयको मुख्य ढोकामा ताला लगाएर विरोध जनाएका हुन् ।

नगरपालिकाका कर्मचारीलाई बाहिर राखेर ताला लगाएको पहिचानवादी संघर्ष समिति मेचीनगर संयोजक ओमप्रकाश खापुङलले बताएका छन् । तालाबन्दी पछि सम्बोधन गर्दै उनीहरुले पहिचानलाई समेटिने गरी प्रदेशको नाम राख्नु पर्ने बताएका छन् ।

प्रदेशको नाम कोशी हटाएर पहिचान सहितको नाम नराखेसम्म आन्दोलन जारी राख्ने उनीहरूले बताएका छन् ।

सम्बन्धित खबर