२०८१ असोज ३, बिहिवार , ०५:३२:४३ बजे

Sajhamanch
'

कोशी प्रदेश मन्त्रिपरिषद्को निर्णय, लाजेहाङको परिवारलाई ३ लाख राहत दिइने

मङ्गलवार, चैत १४, २०७९

विराटनगर । कोशी प्रदेश सरकारको २५औं मन्त्रिपरिषद बैठक सोमबार सम्पन्न भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको जनाइएको छ ।

बैठकले प्रदेश प्रशिक्षण प्रतिष्ठान कलबलगुडी झापामा रिक्त रहेको निर्देशक पदमा अर्को ब्यवस्था नहुन्जेल सम्मका लागि निर्देशकका रुपमा काम गर्न प्रदेश सचिव कृष्ण सापकोटालाई तोक्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद बैठकले पर्यटन, वन वातावरण मन्त्रालयद्वारा पेश गरिएका प्रदेश वातावरण संरक्षण ऐन २०७६ र प्रदेश वन ऐन २०७७ लाई संसोधन विधेयकलाई प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । त्यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा पेश गरिएको समपुरक अनुदान कार्यविधि संसोधन प्रस्ताव पारित गर्नेसमेत निर्णय गरेको छ ।

मन्त्रिपरिषद बैठकले प्रदेश नामाकरणमा भूमिका खेल्ने प्रदेश सभाका सभामुख, उपसभामुख, प्रदेश सभा सदस्यहरु, प्रदेश सभा सचिवालय, प्रदेश सभामा उपस्थित सम्पूर्ण राजनीतिक दलहरुलाई धन्यवाद ज्ञापन गर्दै कोशी प्रदेशबासीलाई हार्दिक बधाई ज्ञापन गर्ने निर्णय गरेको छ ।

सो बैठकले कोशी प्रदेश नामकरणको विरोध गर्दै २०७९ साल चैत्र ५ गते विराटनगरमा भएको कार्यक्रममा सहभागी भई चैत १० गते निधन भएका पदम लिम्बू (लाजेहाङ) प्रति गहिरो दुःख व्यक्त गरेको छ । मृतक लिम्बूप्रति बैठकले श्रद्धाञ्जली व्यक्त गर्नुका साथै परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

कोशी प्रदेश सरकारले मृतक लाजेहाङको परिवारलाई राहत स्वरुप तत्काल तीन लाख रुपैयाँ उपलब्ध गराउने र सो घटना सम्बन्धमा नेपाल सरकारद्वारा गठित छानविन समितिलाई सहजीकरण गर्ने निर्णय भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर