बिर्तामोड । हालै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचननमा नेपाली काङ्ग्रेसको भातृ संगठन नेवि संघबाट झापाका क्याम्पसहरुमा विजयी बनेका विद्यार्थीहरुलाई पार्टी जिल्ला समितिले बधाई ज्ञापनसहित शुभकामना ब्यक्त गरेको छ ।
जिल्ला पार्टी कार्यालयमा सोमबार आयोजित कार्यक्रममा स्ववियुमा नेवि सङ्घबाट निर्वाचित अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष एवं सदस्यहरुलाई कार्यसफलताको शुभकामना तथा बधाई ज्ञापन गरिएको हो ।
नेपाली काङ्ग्रेस झापाका सभापति देउकुमार थेबेको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य गोमा भट्टराई, युवा नेता शिव कडेल, नेवि सङ्घ झापा सभापति सन्जय निरौला लगायतले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए ।
पार्टीले आफूहरुलाई बधाई ज्ञापन गर्न एकठाउँमा भेला गरेकोमा आभार प्रकट गर्दै दमक क्याम्पसका स्ववियु अध्यक्ष स्वर्णिम न्यौपानेले प्रतिवद्धता मन्तब्य राख्दै शैक्षिक क्षेत्रको बिकृति अन्त्यका लागि काम गर्ने बताएका थिए ।
नेपाली काङ्ग्रेस झापाका उपसभापति शेरबहादुर भट्टराईले शाब्दिक मन्तब्यबाट स्वागत गरेको कार्यक्रमको सन्चालन सचिव कृष्ण हुमागाईले गरेका थिए ।
झापाका सरकारी र आङ्गिक गरी १३ वटा क्याम्पसमध्ये ११ वटामा स्ववियु निर्वाचन सम्पन्न भएको छ । तीमध्ये ६ वटामा नेपाल विद्यार्थी संघले नेतृत्व जित्न सफल भएको छ ।