२०८१ माघ २, बुधवार , ०९:२७:२६ बजे

Sajhamanch
'

इलामको चुलाचुलीमा १७ जना कृषकलाई व्यवसायिक पशुपालन तालिम

मङ्गलवार, चैत १४, २०७९

चुलाचुली । इलाम जिल्लाको चुलाचुली गाउँपालिकामा दुई दिवसीय कृषि तथा पशुपालन तालिम सम्पन्न गरिएको छ । चुलाचुली गाउँपालिका वडा नं. २ स्थित फूलबारी बचत तथा ऋण सहकारी सस्थाको आयोजना र समृद्ध पहाड महिला जागरण संघ इलामाको आर्थिक सहयोगमा उक्त तालिम गराइएको थियो ।

तालिममा युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट ऋण प्राप्त व्यवसायी र सहकारीमा अवद्ध सदस्यलाई पशु स्वास्थ्य प्राविधिक उमनाथ भण्डारीले सहजीकरण गरेका थिए । सो तालिममा चुलाचुलीका वडा नम्वर १, २ र ३ मा व्यवसायिक पशुपालन गर्दै आएका १० जना महिलासहित १७ जना पशुपाल कृषक सहभागी थिए ।

एक औपचारिक कार्यक्रम गरी समापन गरिएको तालिमका सहभागीहरुलाई प्रमाण–पत्र पनि वितरण गरिएको थियो । समापन कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष लक्ष्मण श्रेष्ठले गाउँपालिकमा भएका बेरोजगार कृषकलाई यो तालिमले अगाडि बढ्न ठूलो सहयोग पुग्ने अपेक्षा राखेका थिए । उनले व्यवसायीहरुलाई ढाडस दिँदै वडाले सकेको सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

तालिम आयोजक सहकारी संस्थाका कार्यवाहक अध्यक्ष मनकुमार राईले आहिलेको हाम्रो पशुपालन व्यवसाय संख्यात्मक मात्र छ यसबाट आम्दिनी लिन सकिँदैन भन्दै अबका दिनमा यसलाई गुणात्मक बनाउन आवश्यक रहेको औंल्याए । तपाईंहरु व्यवसायिक बन्नु भयो भनेमात्र संस्था र सदस्यबीचको सम्बन्ध सुमधुर हुन्छ भन्दै उनले सहभागीहरुलाई तालिममा सिकेको ज्ञान र सिपलाई व्यवहारमा लागू गर्न आग्रह गरे ।

सहकारी संस्थाका व्यवस्थापक लीला सुब्बा लावतीले सञ्चालन गरेको तालिम समापन कार्यक्रममा सहभागीका तर्फबाट हस्तकुमार लावतीले तालिमको अनुभूति सुनाएका थिए ।

सम्बन्धित खबर