२०८१ माघ ३, बिहिवार , १२:४७:३८ बजे

Sajhamanch
'

माइधारमा लक्ष्मीनारायणको दिव्यदेश निर्माण गरिँदै, चैत ८ बाट नवाह ज्ञान महायज्ञ

सोमवार, चैत ६, २०७९

शिवसताक्षी । झापाको कनकाईमाई पश्चिम माईधारस्थित लक्ष्मीनारायण मन्दिर परिसरमा अनुमानित १३ करोड रुपैयाँको लागतमा भगवान लक्ष्मी नारायणको भव्य दिव्यदेश निर्माण भइरहेको छ ।

जगदगुरु योगीराज श्री कमलनायनाचार्यको तपोभूमिस्थल लक्ष्मी नारायण मन्दिर तथा धाम परिसरमा दक्षिण भारतमा अवस्थित बालाजी मन्दिरको स्वरुप र कलाकृतिमा दिव्यधाम निर्माण भइरहेको हो ।

झण्डै ९ बिगाहा क्षेत्रफलमा फैलिएको आश्रम परिसरलाई धार्मिक पर्यटनका रुपमा विकास गर्ने एवम् दिव्यधामका रुपमा विस्तार गर्ने उद्देश्यले धामको महिमासमेत उजागर गर्ने किसिमले दिव्यधाम निर्माण भइरहेको हो ।

दिव्यधाम निर्माण समितिका सचिव हरिप्रसाद तिम्सिनाका अनुसार गत वैशाखमा शिलान्यास गरिएको मन्दिरको भूइँतलाको निर्माण सम्पन्न भइसकेको छ भने हाल मन्दिरका आकर्षण गजुरहरु बालाजी मन्दिरको कलात्मक शैलीमा निर्माण भइरहेको छ ।

मन्दिरको कलाकृतिका लागि भारतको बालाजी मन्दिर निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको सिम्ह शिल्प कन्स्ट्रक्सनका सञ्चालक आर लक्ष्मी नरसिंह अयगार आएका छन् । उनले भारतबाटै शिल्पीहरु ल्याएका छन् मन्दिरलाई कलात्मक बनाउन ।

यसैक्रममा, मन्दिरलाई पूर्णता दिने एवम् मन्दिरको ५२औं वार्षिकोत्सको अवसर पारेर नवदिवसीय तुलसीकृत रामकथा ज्ञान महायज्ञ आयाजनाको तयारी गरिएको छ ।

महायज्ञ सम्पादन समितिले मन्दिर परिसरमा पत्रकार सम्मेलन गरी चैत ८ देखि १६ गतेसम्म महायज्ञ आयोजनाको तयारी गरिएको समितिका अध्यक्ष एवम् मन्दिरका व्यासाचार्य स्वामी भागवताचार्यले जानकारी दिए ।

गोदुग्धहारी जगद्गुरु योगीराज कमलनयनचार्य स्वामीजी महाराजको तपोभूमिको रुपमा रहेको आश्रम परिसरमा भगवान् श्रीलक्ष्मीनारायणको दिव्य मन्दिरका अतिरिक्त नेपाल सरकारबाट अनुमति प्राप्त आधारभूत तहको कक्षा १ देखि ८ सम्म श्री अनन्तादर्श संस्कृत वेद विद्यालय, कमलनयनाचार्य पुस्तकालय, छात्रावास, श्री लक्ष्मीनारायण वैष्णवालय, गौशाला, धर्मशालाजस्ता संरचनाहरू निर्माण भइसकेका छन् ।

विश्वका वैदिक सनातनीहरुको लागि महत्वपूर्ण गन्तव्यका रुपमा विकसित हुँदै गएको उक्त स्थानमा श्री सम्प्रदायका अनुयायीहरुका लागि एक गौरवपूर्ण इतिहासको नविनतम संरचनाका रुपमा समेत स्थापित हुने भागवताचार्यको भनाई छ ।

त्योसँगै मन्दिर परिसरको पूर्वतर्फको करिब ४ बिगाहा जग्गामा पवित्र कनकाई नदीको पवित्र जल प्रवाह गरी जलाशय निर्माण गर्ने र सो जलाशयभित्र सनातन धर्मवलम्बीहरुको पवित्र चारधाम मुक्तिनाथ, बदरीनाथ, द्वारका र जगन्न्नाथ भगवानको दिव्य मन्दिर निर्माण गरी सो मन्दिरमा दर्शन गर्न जलमार्गको प्रयोग गरी जाने व्यवस्था गरिने जनाइएको छ ।

मन्दिर परिसरमा आकर्षक पुष्पबाटिका निर्माण गरी बुटिक परिसर बनाएर उक्त क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउने परिकल्पना रहेको भागवताचार्य बताउँछन् ।

चैत ७ गते दिव्यकलश एवम् बाजागाजा, झाँकीसहित शोभायात्रा गरिने महायज्ञको उद्घाटन कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले गर्ने बताइएको छ । ८ देखि १६ गतेसम्म अन्तर्राष्ट्रिय ख्यातिप्राप्त युवा विद्वान् श्रीअच्युत प्रपन्नाचार्य (अर्जुन रिमाल)–बाट नवाहव्यापी तुलसीकृत रामायण कथा संगीतमय प्रवचनका साथै विशिष्ट विद्वानहरुबाट प्रवचनरुपी ज्ञान प्रवाहसहित महायज्ञ सम्पन्न गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

महायज्ञमा सुप्रभातम्, स्वस्तिवाचनम्, मण्डप पूजन, संगीतमय तुलसीकृत रामायण पाठ पारायण, संगीतमय रामकथा प्रवचन, गरुडध्वजारोहण, मृदाहरण, दिव्य प्रवन्ध विविध ग्रन्थ पाठपरायण, भगवानको सवारी साथ नगर परिक्रमा, घडाद्वारा महाभिषेक, सामुहिक ब्रतबन्ध लगायतका कार्यक्रम हुने बताइएको छ ।

सम्बन्धित खबर