२०८१ माघ ११, शुक्रवार , ०५:१३:४३ बजे

Sajhamanch
'

प्रमिलाकुमारीले उपराष्ट्रपतिमा रामसहायलाई समर्थन गर्ने

सोमवार, फागुन २९, २०७९

काठमाडौँ । उपराष्ट्रपति निर्वाचनमा उम्मेदवार रहेकी जसपाकी प्रमिलाकुमारी यादवले पार्टीकै नेता रामसहाय यादवलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ताको स्वघोषणा गरेकी छन् । तर उम्मेदवारको अन्तिम नामावली सूचीमा उनको नाम प्रकाशित भइसकेको छ ।

उपराष्ट्रपतिका लागि विभिन्न आन्दोलन र संघर्षमा सक्रिय रुपमा लागेका रामसहाय यादव उपराष्ट्रपति पदका लागि सक्षम र योग्य उम्मेदवार रहेको उनले बताएकी छन् । उनले सोमबार विज्ञप्ति जारी गर्दै अब उप्रान्त आफू उपराष्ट्रपति पदको उम्मेदवार नरहेको उल्लेख गरेकी हुन् ।

प्राविधिक रुपमा उक्त पदका लागि आफ्नो नाम रहेपनि प्रतिवद्धताका साथ रामसहाय यादवलाई समर्थन गर्ने प्रमिलाकुमारीले बताएकी छन् । प्रमिलाकुमारीले फागुन २७ गते उक्त पदका लागि आफूले मनोनयन दर्ता गराएकी थिइन् ।

चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका निर्वाचन अधिकृतको कार्यालयले आइतबार अन्तिम नामावली प्रकाशन गर्दै चार जनाको उम्मेदवारी कायम रहेको जनाएको छ । जनता समाजवादी पार्टीबाट उम्मेदवारी दिएका दुईजनाकै उम्मेदवारी कायम छ ।

उपराष्ट्रपति पदका लागि एमालेबाट अष्टलक्ष्मी शाक्य (बोहरा), जसपाबाट रामसहाय प्रसाद यादव, प्रमिला कुमारी र जनमत पार्टीकी ममता झाले उम्मेदवारी दिएकी छन् । जसपा र जनमत पार्टी सत्ता समर्थित ९ दलीय गठबन्धनमा आबद्ध छन् ।

सम्बन्धित खबर